बाँकेमा पहिलो पटक र्‍याफ्टिङ सञ्चालनको तयारी

अध्ययनका लागि प्राविधिक टोली झिकाइदै


बाँकेमा पहिलो पटक र्‍याफ्टिङ सञ्चालनको तयारी

नेपालगन्ज ५ चैत : बाँकेमा जलयात्रा अर्थात र्‍याफ्टिङ सञ्चालन गर्ने तयारी भएको छ । सुन्दा अनौठो लाग्ला तर यो सत्य हो । बाँकेको राप्ती नदीको अगैयादेखि सिधनियाँ घाटसम्म पहिलो पटक व्यवसायिक रुपमा जलयात्रा (र्‍याफ्टिङ) सञ्चालन गर्ने तयारी भएको छ ।

राप्तीसोनारी गाउँपालिकाको अगैयादेखि डुडुवा गाउँपालिकाको कम्दिी स्थित सिधनियाँ घाटसम्म उक्त र्‍याफ्टिङ सञ्चालन गरिनेछ । यसका लागि नाट्टा बाँके र राप्तीसोनारी गाउँपालिकाबीच समन्वयात्मक छलफल अघि बढेकोछ ।

नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देल, र्‍याफ्टिङ एसोसिएसनका महासचिव शिशिर खनाल, पर्यटन प्रबद्र्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ र हान बाँकेका सदस्य अनिल झासहितको पर्यटन व्यवसायीको टोलीले बिहीबार राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुसंग भेटघाट समेत गरेकोछ ।

उक्त टोलीले गाउँपालिकासंग सो क्षेत्रमा ¥याफ्टिङको सम्भाव्यता अध्ययनका सहयोग मागेको थियो । सो अवसरमा गाउँपालिका अध्यक्ष लाहुराम थारुले र्‍याफ्टिङ सुरु गर्न सघाउने प्रतिबद्धता जनाएका थिए ।

अध्यक्ष थारुले राप्ती नदि र्‍याफ्टिङ गराउन सकिने भन्दै यसका लागि आफूले समेत योजना बनाएको बताएका थिए । उनले र्‍याफ्टिङको सम्भाव्यता र विकासका लागि भन्दै गाउँपालिकाबाट केही बजेट समेत विनियोजित गरेको उक्त टोलीका सदस्य एबम पर्यटन प्रबद्र्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले सेतोखरीलाई जानकारी दिए ।

उनका अनुसार राप्ती नदिमा र्‍याफ्टिङको सम्भाव्यता र विकासका लागि प्राविधक टोली २/३ दिनमा त्यहाँ जाने बताए ।

यता नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले जिल्लामा पर्यटन प्रर्बद्धनका लागि सम्भाव्यता बोकेका क्षेत्रको विकास र प्रर्बद्धन कार्य गरिरहँदा सोही अनुरुप यो प्रयास अघि सारेको सेतोखरीलाई बताए ।

उनले भने–‘केही समय अघि नेपालगन्जदेखि ठाकुरद्वारा पर्यटन बस, नेपालगन्जदेखि सोझो पोखरा उडान तथा बाँकेको नरैनापुर स्थित बर्फानी बाबा स्थलमा हेलिकप्टरबाट अवलोकन लगायतका गतिविधी गरिएको हो ।’

तर, उक्त बैठकमा छलफल हुदाँ अगैयाको बाँधदेखि उता (पूर्व) पानीको सतह, बहाबका कारण सो क्षेत्रमा र्‍याफ्टिङको सम्भाव्यता भएतापनि बाँधदेखि दक्षिण अर्थात सिधनिया घाटसम्मको क्षेत्रमा वर्षैभरी पानीको बहाब एकैनास नहुने हुदाँ र्‍याफ्टिङको सम्भाव्यता सम्बन्धिको प्राविधिक टोलीले फिल्ड भिजिट पछि दिने निश्कर्ष महत्वपूर्ण हुन्छ ।

यस्तै हाल र्‍याफ्टिङको सम्भाव्यताका विषयमा बहस भइरहेको क्षेत्र बाँके राष्ट्रिय निकुञ्जको क्षेत्रमा पनि पर्ने भएकाले ¥याफ्टिङका लागि निकुञ्जसँग अनुमति लिनुपर्ने हुन्छ । त्यसका लागि टोलीले समन्वय र सहकार्य गर्न जरुरी छ ।