काठमाण्डौं ६ चैत : महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजीनामा दिएका छन् । शुक्रबार दिउँसो पत्रकार सम्मेलन गर्दै महान्यायाधिवक्त खरेलले राजीनामाको घोषणा गरेका हुन् । खरेलले आजैदेखि लागू हुने गरी राजीनामा दिएका हुन् ।
उनले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको पत्रकार सम्मेलनमा जानकारी दिए ।
‘तपाईंहरुले अस्ति केहीकेही चिजहरु मिडियामा लेख्नुभयो, क–कसले लेख्नुभयो तपाईंहरु आफै जान्नुहोस्, मैले त्यो कुरा भनेको, गरेको थिइन् । आज मैले तपाईंहरुको ईच्छा पूरा गर्दैछु’, उनले भने, ‘आज मैले तपाईंहरुले लखे बमोजिमको काम गरेर आएको छु । सम्माननीय प्रधानमन्त्री ओलीलाई भेटेर आएको छु र मैले आफ्नो पदबाट राजीनामा दिएको छु ।’
उनले आफ्नो बारेमा लेख्दा एकपटक सोध्न आग्रह समेत आग्रह गरे । महान्यायाधिवक्ता खरेलले ३ वर्षे कार्यअनुभव र आफूले गरेका कार्यको बारेमा पनि चर्चा गरेका थिए ।
सरकारका मुख्य कानूनी सल्लाहकारका रूपमा रहेका खरेल प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहसका क्रममा कमजोर देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली उनीसँग असन्तुष्ट रहेका थिए ।
खरेलले संसद पुनःस्थापना भएलगत्तै राजीनामा दिने तयारी गरेका भए पनि नेकपा खारेजी र एमाले ब्युँतिएपछिको राजनीतिक अवस्थाले राजीनामा दिएका थिएनन् ।
खरेल २०७४ फागुन ८ गते महान्यायाधिवक्ताका रूपमा नियुक्त भएका थिए । उनी २०६४ र २०७० को संविधानसभा सदस्य रहेका थिए । प्रधानमन्त्री ओलीको पहिलो कार्यकालमा खरेल कानूनमन्त्री थिए ।
राजनीतिमा कमब्याक
महान्यायाधिवक्ता अग्नि खरेल नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किने भएका छन् । उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र संसदीय दलका उपनेता सुवास नेम्वाङसँग सल्लाह गरेर महान्यायाधिवक्ताको जिम्मेवारीबाट पार्टीको जिम्मेवारीमा फर्किने निर्णय गरेका हुन् ।
खरेलले यसअघि नै राजीनामा दिन खोजेका थिए । तर, प्रतिनिधिसभा विघटनको मुद्दा त्यहीबेला परेकाले राजीनामा दिएका थिएनन् । खरेल नेकपा एमालेको नवौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।
महान्यायाधिवक्ता नियुक्त भएपछि उनले राजीनामा दिएका थिए । खरेलले झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचन लड्ने तयारीका लागि राजीनामा दिन लागेको बताइएको छ ।