एक हजार बढिले गरे हस्ताक्षर
हिन्दुराष्ट्र पुर्नस्थापनाका लागि गरिएको हस्ताक्षर संकलन अभियानमा हस्ताक्षर गर्दै राप्रपाका महामन्त्री एवंम नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शम्सेर राणा । तस्विर: सेतोखरी
नेपालगन्ज: राप्रपा नेपालले देशलाई पुनः हिन्दुराष्ट्र कायम गराउन आजबाट देशव्यापी हिन्दुराष्ट्र–हस्ताक्षर संकलन अभियान चलाएकोछ ।
नेपाललाई पुनः हिन्दुराष्ट्र कायम गर्न दबाब दिन हिन्दुराष्ट्र–हस्ताक्षर संकलन अभियान चलाउने पूर्व योजना अन्र्तगत देशका सवै जिल्ला, गाँउपालिका, नगरपालिका, सहर, बजारमा बृहत हस्ताक्षर संकलन गरिदैछ ।

चैत्र १८ देखि २३ गते सम्म चल्ने सो हस्ताक्षर अभियानबाट संकलन भएको हस्ताक्षरलाई संसदमा पेश गरि नेपाललाई पुनः हिन्दु राष्ट्र स्थापनार्थ सरकारलाई दवाव दिइनेछ । सोही अभियान अन्र्तगत आज आईतबार नेपालगन्जको बागेश्वरी मन्दिर परिसरमा बृहत हस्ताक्षर संकलन गरिएकोछ ।

हिन्दुराष्ट्र पुर्नस्थापनाका लागी हस्ताक्षर अभियान भन्ने नारासहित आयोजना गरिएको हस्ताक्षर संकलन कार्यक्रममा राप्रपाका पार्टी उपाध्यक्ष प्रेम बहादुर भण्डारी र महामन्त्री एवं नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शम्शेरराणा लगायत केन्द्रीय सदस्यहरूले संयुक्तरुपमा हस्ताक्षर गर्दै कार्यक्रमको शुभारम्भ गरिएको राप्रपाका केन्द्रिय तथा युवा नेता ऋषिराज देवकोटले सेतोखरीलाई जानकारी दिए ।
उनका अनुसार विहान ७ बजेदेखि ११ बजे सम्म गरिएको हस्ताक्षर संकलनमा १२ सय बढिको हस्ताक्षर संकलन भएको बताए । सो हस्ताक्षर अभियान आगामी चैत्र २३ गते सम्म हुनेछ । बाँकेका सवै पालिका, चोक, चौरहा, बजार, गाँउ सवैठाउँमा अभियानलाई प्राथमिकता दिदै हस्ताक्षर संकलन गरिदैछ । युवा नेता देवकोटाले भने नेपाललाई पुनः हिन्दुराष्ट्र स्थापना गर्नुको विकल्प छैन ।

यो आम नेपाली जनताको माग हो । अहिले हामी शान्तिपूर्ण दवाव दिइरहेका छौं यसले पनि पुगेन भने राप्रपाले पूर्व तय गरेको योजनाअनुरुप कडा दवाव सिर्जनागर्नेछौं । नेपालगन्जमा भएको हस्ताक्षर कार्यक्रममा राप्रपाका जिल्ला अध्यक्ष नरेन्द्र कुमार पौडेल, केन्द्रिय सदस्य ओमप्रकाश आजाद, रमेश अर्याल, खेमराज गौतम, बाँकेका क्षेत्रीय अध्यक्ष दिपेन्द्रबहादुर सिंह, नेपालगन्ज नगर अध्यक्ष मनोज श्रेष्ठ लगायत राप्रपाका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

यसअघि राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले नेपाललाई हिन्दुराष्ट्र पुर्नस्थापनाका लागि कार्यक्रमहरु तय गरेको थियो । सोही कार्यतालिका अनुसार अभियानलाई तिव्रता दिइएकोछ । राप्रपा नेपालले हिन्दुराष्ट्रको अजेण्डा उठाउने अन्य व्यक्ति, समुह र संघसंस्थाप्रति सहयोग, समर्थन र ऐक्यवद्धता जनाउदै यो महाअभियानमा सवैजना एकबद्ध भइ लाग्न समेत आग्रह गरेकोछ ।
