दुवै हात गुमाएका कुमाललाई कला मन्दिरद्वारा आर्थिक सहयोग


दुवै हात गुमाएका कुमाललाई कला मन्दिरद्वारा आर्थिक सहयोग

नेपालगन्ज: करेन्ट लागेर दुवै हात गुमाभएका बाँकेका सुरेश कुमाललाई आर्थिक सहयोग जुट्ने क्रम बढिरहेकोछ । केही महिना सञ्चारमाध्यममा दुवै हात गुमाएका कुमालका विषयमा सहयोग जुटाउने अभियान समेत चलेको थियो । सोहि अभियान अन्तर्गत सिंहवाहिनी कला मन्दिर भुरीगाँउ बर्दियाले करेन्ट लागेर दुवै हात गुमाएका सुरेश कुमाललाई आर्थिक सहयोग उपलब्ध गरेको छ ।

बाँकेको राप्तीसोनारी गाँउपालिकास्थित कुसुममा रहेका कुमालको घरमा पुगी कला मन्दिरका अध्यक्ष तारा केसी र कोषाध्यक्ष सीमा चन्दले आर्थिक सहयोग प्रदान गरेका हुन । सहयोग स्वरुप कुमाल दम्पत्तीलाई नगद रु ५१ हजार १ सय उपलब्ध गराइएको कला मन्दिरका अध्यक्ष तारा केसीले बताए । कुमालको सहयोगार्थ जापानमा रहेका नेपालीद्वय अरुण क्षेत्री र भगवान भण्डारीले सहयोग स्वरुप जापानी रुपैयाँ एक लाख १ लाख उपलब्ध गराएको केसी ले बताए ।

‘हामीलाई जापानमा बस्ने साथीहरुले केही रकम उपलब्ध गराउनुभएको थियो, सोही रकममध्येबाट पहिलो चरणमा कुमाल दम्पत्तीलाई रु. ५१ हजार १ सय सहयोग प्रदान गरेका छौं’ केसीले भने । सिंहवाहिनी कला मन्दिरका कोषाध्यक्ष सीमा चन्दले दुबै हात गुमाएका सुरेश कुमाललाई सहयोग गर्न पाउँदा गौरव महसुस भएको बताईन ।

‘सामाजिक क्रियाकलापमा नेतृत्वदायी भुमिका खेल्दै आएको सिंहवाहिनी कला मन्दिरले पहिलो पटक शारीरिक रुपमा असक्त ब्यक्तिलाई सहयोग गर्ने अवसर पाएको छ, यो आफैमा गौरवको कुरा हो’ चन्दले भनिन्, ‘आगामी दिनमा समेत सहयोग अभियानलाई निरन्तता दिनेछौं ।’
सहयोग प्राप्त भएपछि आफुहरुमा थप हौसला बढेको सुरेश कुमालले प्रतिक्रिया जनाउदै भने सहयोगीहरुबाट प्राप्त रकमलाई आय आर्जनमा लगाउने छु, म उहाँहरुप्रति आभार प्रकट गर्न चाहान्छु ।

आर्थिक अवस्था कमजोर भएका कारण जिविकोपार्जनमा सहयोगीहरुले प्रदान गरेको सहयोगलाई सदुपयोग गर्ने कुमालकी श्रीमती यलिना कुमाले बताईन । ‘आफ्नो परिवारले हामीलाई राम्रो नजरले हेर्दैनन्, बस्ने–खाने ठाँउको कुनै टुङगो छैन’ कुमालले थपिन्, ‘तपाईहरुको सहयोगले केही गर्ने हिम्मत बढेर आएको छ ।’

यसरी काटिएको थियो हात

बाँकेको राप्तीसोनारी गाँउपालिका १ कुसुम निवासी सुरेश कुमाल २०६९ फागुन १२ गते विद्युतीय दुर्घटनामा परेका थिए । कामको शिलसिलामा लमजुङ पुगेका कुमालले स्काभेटरको सहचालकका रुपमा काम गर्न थाले । २०६९ फागुन १२ गते स्काभेटरको ग्रीस बदल्ने क्रममा विद्युतको नाङ्गो तारमा अल्झीएका कुमालले आफ्ना दुबै हात गुमाउनुपर्यो ।

दुर्घटनापछि अचेत अवस्थामा ३ महिनासम्म कुमालको किर्तिपुर अस्पताल काठमाण्डौंमा उपचार भयो । चार महिनापछि होस् खुल्दा उनका दुबै हात काटिएका थिए । आर्थिक अवस्था कमजोर भएका कुमालको थप उपचार सम्भव भएन । दुबै हात गुमाएर गृह जिल्ला फर्किका कुमाललाई घरपरिवारले बोझका रुपमा हेर्न थाले । खानेपिउने देखि शौचालयसम्मका दैनिक गतिविधिका लागि अरुकै भर पर्नुपर्ने कुमाल तब झनै एक्लो भए जब उनकी श्रीमतीले छाडेर गईन् । घरपरिवारबाट समेत अपहेलना खेप्दै आएका कुमालले गाँउकै अलिना कुमालसँग दोस्रो बिहे गरेपछि भने केही आशा पलाएको बताए ।

‘दुर्घटनामा मेरो दुबै हात काटिएपछि मेरी पहिलो श्रीमतीले छोडेर गईन, घरपरिवारले समेत बेवास्ता गर्न थाल्यो’ कुमालले भने ‘सबैको अपहेलना खेप्दै आएको मलाई अलिनाले साथ दिईन र म अहिलेको अवस्थामा आईपुगेको छ ।’ अलिना कुमालकी दोस्रो श्रीमती हुन् । फेसबुकबाटै मायाँ–प्रेममा बाँधिएका कुमाल दम्पतीले दुई वर्षअघि बिहे गरेका हुन् । बिहेपछि अलिनाले नै कुमालको सम्पूर्ण हेरचाह गर्दै आएकी छन ।

खुट्टाले लेखेर एसएलसी पास

आर्थिक जोहोका लागी लमजुङ पुगेका कुमालले दुबै हात काटिएपछि जीवनको आशा नै मारिसकेका थिए । खाना खान, लुगा लगाउन देखि शौचालय जानसम्म अरुकै भर पर्नुपर्ने कुमाल परनिर्भर हुन चाहेनन् । उनले खुट्टाले खाना खाने, ब्रस गर्ने, लेख्ने प्रयास गरीरहे । धेरै समयमको प्रयासपछि कुमाल सबै काम खुट्टाकै भरमा गर्न सक्ने भए । जसले गर्दा आफुमा आत्मबल बढेको कुमाल बताउँछन् ।

कुमालले खुट्टाले लेखेरै एसईइ समेत पास गरेका छन् । यतिबेला उच्च शिक्षा हासिल गर्ने मनसासयका साथ अगाडी बढिरहेका कुमाल आर्थिक अभावका कारण अगाडी बढ्न नसकेको बताउँछन् । घरबाट छुट्टिएर बसेका कुमालले राप्तीसोनारी गाँउपालिकाबाट मासिक २ हजार भत्ता पाउँदै आएका छन् । तर, आर्थिक उपार्जनको अन्य कुनै उपाय नरहेकाले दैनिकी चलाउन समेत हम्मे–हम्मे परेको कुमालको दुखेसो छ । राज्यले आर्थिक उपार्जनको केही व्यवस्था मिलाईदिनुपर्ने कुमालले माग छ ।

मृत्युको मुखबाट फर्किएका कुमाललाई दुबै हात नहुनुको पिडा त छदैछ, दैनिक गुजाराको समस्याले समेत उनलाई पिरोल्ने गरेको छ । श्रीमान् अपाङ्ग भएकै कारण घरपरिवारले आफुहरुलार्ई घरबाट निकालिदिएको अलिनाले बताईन् । आर्थिक अवस्था कमजोर भएकाले श्रीमानको थप उपचार गर्न नसकिएको गुनासो पोख्दै अलिनाले भनिन्, ‘कसैले उपचारमा सहयोग गरिदिए हामी धन्य हुने थियौं ।’

कुमाललाई सहयोग गर्न चाहने ब्यक्तिहरुले ९८६८०२३९०२, ९८४८२२०३७८, ९८६४८५५८०७ वा ९८५८०३६८९६ मा सम्पर्क गर्न सक्नुहुनेछ ।