सोमबार, चैत ३०, २०७७   ०६:४४:००

सडकमा गुड्ने दुध ढुवानीका साधनलाई एम्बुलेन्स सरह प्राथमिकता


सेतोखरी   2077-12-19

दुध ढुवानीका साधनहरुमा टाँसिने लोगो

नेपालगन्ज १९ चैत : विश्वमै पहिलोपटक नेपालमा दूध ढुवानी गर्ने साधनले सडकमा एम्बुलेन्स सरह प्राथमिकता पाउने भएकोछ ।

सरकारले प्रदान गर्ने विशेष प्रकारको लोगो टाँसिएका दुध ढुवानी गर्ने साधनलाई सडकमा कसैले पनि अवरोध गर्न नपाइने र एम्बुलेन्ससरह नै प्राथमिकता दिनुपर्ने व्यवस्था कार्यान्वयनमा आएको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ ।

देशभरका झण्डै पाँच सय दुग्ध ढुवानीका साधनले प्राप्त गर्ने लोगो र त्यसको प्रयोगसम्बन्धी कार्यविधि स्वीकृत भएसँगै अब लोगो वितरण शुरु भएको छ ।

दूग्ध ढुवानीमा यस्तो सुविधा दिने नेपाल विश्वकै पहिलो र एक मात्र मुलुक भएको दाबी बोर्डको छ ।

लोगोका आधारमा प्राथमिकता दिइनुपर्ने यस्ता गाडीमा एम्बुलेन्समा जस्तो साइरन भने हुने छैन ।

बोर्डका कार्यकारी निर्देशक डाक्टर राजेन्द्रप्रसाद यादवका अनुसार दुग्ध पदार्थको वितरण प्रणाली बलियो बनाउन नयाँ प्रयोग गरिएको हो । ‘लोगो वितरणको प्रक्रिया शुुरु भएको छ । यो विश्वको लागि नयाँ र पहिलो काम हो,’ कार्यकारी निर्देशक यादवले भने ।

औपचारिक प्रणालीबाट देशभर वितरण हुने झण्डै १७ लाख मेट्रिकटन दुधको बजारीकरण र बिक्रीमा यसले सहयोग गर्ने बोर्डले जनाएको छ ।

निश्चित समयमा निश्चित तापक्रममा दुध ढुवानी गर्नु पर्ने मान्यता रहे पनि विभिन्न समयमा हुने अवरोधले दुध बिग्रिने गरेको र त्यसको असर किसानको भुक्तानीमा समेत परेपछि यस्तो व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

दुग्ध व्यवसायीको पनि समर्थन रहेको यो अभियानको लागि तयार गरिएको लोगो बोर्डको एक सय ११ औं बैठकबाट पास भएको र एक सय १२ औं बैठकबाट कार्यविधि पनि बनेको बोर्डले जनाएको छ । दुध ढुवानीको सबै सवारी साधनलाई अनिवार्य गरिएको यो नियमबारे सुरक्षाकर्मीलाई पनि जानकारी गराउने बोर्डको तयारी छ ।

डेरीको अंग्रेजी शब्दको पहिलो अक्षर ‘डी’, दुधको थोप्लो, गाईलाई जनाउने प्रतिकात्मक संकेत र अत्यावश्यक जनाउने रङ्ग निलो प्रयोग गरेर लोगो बनाइएको छ । प्रतिकात्मक उक्त लोगो दुग्ध ढुवानीका हरेक गाडीमा टाँस गरिने छ ।