आजबाट देशभर हात्तीपाइले विरुद्धको औषधि खुवाइँदै

सरकारद्वारा १८ करोड बढि विनियोजन


आजबाट देशभर हात्तीपाइले विरुद्धको औषधि खुवाइँदै

नेपालगन्ज २० चैत : हात्तीपाइले रोग निवारण अभियानअन्तर्गत आजदेखि देशका १२ जिल्लामा औषधि सेवन कार्यक्रम सञ्चालन गरिँदैछ ।

हात्तीपाइलेका बिरामीहरु देखिएका बाँके, कैलाली, बर्दिया, दाङ, झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत, बाग्लुङ र कपिलवस्तुमा आजदेखि औषधि वितरण गर्न लागिएको हो । पालिकाहरूमा आफूलाई पायक पर्ने स्वास्थ्य संस्था बुथबाट औषधि निःशुल्क लिन सकिन्छ ।

तर, दुई वर्षमुनिका बालबालिका, गर्भवती, सात दिनसम्मका सुत्केरी तथा सिकिस्त बिरामीहरूले भने यो औषधि सेवन नगर्न चिकित्सकहरूको सुझाव छ । यस्तै, यो औषधि खाली पेटमा नखान, खाइसकेपछि हुने सामान्य ज्वरो, रिंगटा लाग्ने, वाकवाकी लाग्ने, हल्का पेट दुख्नेजस्ता लक्षणलाई सामान्य रूपमा लिन पनि चिकित्सकहरूले आग्रह गरेका छन् ।

हात्तीपाइले रोगबाट बच्न ६ बर्षसम्म नियमित औषधि सेवन गर्नुपर्ने हुन्छ । नेपालका ५३ जिल्ला नियमित औषधि सेवन कार्यक्रममार्फत् हात्तीपाइलेमुक्त भइसकेका छन् । नेपालमा सन् २०३० सम्ममा हात्तीपाइले रोग निवारण गर्ने सरकारको लक्ष्य रहेको छ ।

Kids Festival 2022
kanti aarogya hospital

सरकारद्वारा १८ करोड बढि विनियोजन

सरकारले आजबाट देशका १२ जिल्लाका एक सय २९ स्थानीय तहका २ वर्ष भन्दा माथिका ७० लाख ४५ हजार नागरिकलाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइदैछ ।
त्यसका लागी ५ हजार ४ सय स्वास्थ्यकर्मी र ९ हजार महिला स्वास्थ्य स्वयसेविका परिचालन गरिएकोछ ।

सरकारले यस वर्ष हात्तीपाईले रोग विरुद्धको अभियानमा १८ करोड ६१ लाख ५० हजार रुपैया विनियोजित गरेको छ । जस मध्ये १२ करोड ९० लाख रुपैया स्थानीय तहमा पठाइएको छ भने प्रदेश र जिल्लामा २ करोड ३९ लाख र केन्द्रमा २ करोड ६५ लाख रुपैया छुटयाइएको छ ।

बाँकेका ८ पालिकामा एकदिन अघि शुरु

बाँकेमा हात्ती पाइले रोग विरुद्ध औषधी सेवन पूर्व कार्ययोजना भन्दा एक दिन अघि नै शुरु गरिएको छ ।

औषधी सेवन योजनाभन्दा एक दिन पहिले बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्ग र जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय श्रीवास्तवले संयुक्त रुपमा औषधी सेवन गर्दै आभियानको शुरुवात गरे ।

स्वास्थ्य कार्यालय बाँकेमा बिहीबार औषधी सेवन गर्दै उनीहरुले औषधी सेवन गर्न आम नागरिकलाई आग्रह समेत गरेकाछन् ।

औपचारिक रुपमा शुक्रबारबाट अभियानको शुरुवात भएपनि जिल्लाको प्रमुखले औषधी खाएर सबैले सेवन गर्नुपर्छ भन्ने शन्देश दिनकै लागि औषधी सेवन शुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले बताए ।

बाँकेका आठ वटा स्थानीय तहमा औषधी सेवन सतप्रतिशत गराउने योजना छ । सोही योजना अन्र्तगत सतप्रतिशत औषधी सेवन गराउने पालिकालाई जिल्ला समन्वय समितिको कोषबाट २५ लाख पुरस्कार प्रदान गर्ने समितिको योजना रहेकोछ ।

उपमहानगरपालिकामा मात्रै यस वर्ष एक लाख ६६ हजार ८ सय ८६ जना लक्ष्य लिइएको छ भने बाँके जिल्लामा ५ लाख ७६ हजार ७६ जनालाई हात्तीपाईले रोग विरुद्धको औषधी खुवाउने लक्ष्य रहेको छ । अभियानमा बाँकेका ४ सय ९० जना स्वास्थ्यकर्मी र ७ सय ८९ जना महिला स्वास्थ्य स्वंयसेवक खटिएकाछन् ।

बाँकेमा २०६७ सालदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन शुरु गरिएपनि समुदायपिच्छे आमनागरिकमा औषधीप्रति गैरजिम्मेवार बन्दा हात्ती पाइले विरुद्धको औषधी सेवन अभियान सफल हुन सकेको छैन ।

बर्दियाका नागरिकलाई पनि औषधी खुवाइदै

जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गीरीका अनुसार बर्दियाका ४ लाख ६२ हजार जनसंख्यालाई औषधि खुवाउन शुरु गरिएकोछ ।
पहिलो चरण अन्तर्गत चैत्र २० गते हात्तिपाइले रोग विरुद्धको औषधि खुवाइने छ । छुटेकालाई घर दैलो अभियान चलाइ समेट्ने योजना रहेकोछ ।

कसरी लाग्छ हात्तीपाइले रोग ?

हात्तीपाइले रोग मानिसलाई नराम्रो गरी शारिरिक रुपमा असक्त, असमर्थ तथा अपागङता बनाउने एक सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजिविले गराउदछ र यो रोग संक्रमिति पोथि लामुखुटटेको टोकाइबाट सर्ने गर्दछ । मानिसको शरिरमा यो परजिवि प्रबेश गरेको केहि वर्ष पछि मात्र यस रोगका लक्षणहरु देखिने गर्दछ ।

हात्तीपाइले रोगबाट बच्न तथा प्रारम्भिक अवस्थामा नै पुर्ण रुपमा निको हुनका लागी यो रोगको जोखिम भएको सम्पुर्ण जिल्लाका नागरिकलाई औषधि सेवन कार्यक्रम संचालनमा ल्याइएको हो ।