नेपालगन्ज: बाँकेको नेपालगन्जमा रहेको विमानस्थलमै टिकटमा व्यापक दलाली हुँदै आएको छ । टिकटमै दलाली बढेपछि कर्णाली प्रदेशका विभिन्न दुर्गम जिल्ला जाने दर्जनौं यात्रुहरूले सास्ती पाउने गरेका छन् । नेपालगन्ज विमानस्थलमा हवाई टिकटको दलाली गर्ने गिरोह सक्रिय रहेको यात्रुहरूले खुलासा गरेका छन् । दलाली बढेकै कारण नागरिकलाई जहाजको टिकट पाउनै मुस्किल छ ।
हवाई टिकटमा एयरलाइन्स र कार्गो कम्पनीबीच भागवण्डा हुँदा आम नागरिकले समयमै टिकट नपाएको यात्रु सिमकोट गाउँपालिका–८ का छक्कबहादुर शाही बताउँछन् । उनकाअनुसार टिकट नपाएर दर्जनौं यात्रुहरू महिनौदेखि होटलमा बस्न बाध्य छन् । टिकटमा समेत दलाली भइरहेपनि नेपालगन्ज विमानस्थल कार्यालय उदासिन छ । विमानस्थल भित्रको दलाली रोक्न विमानस्थल प्रशासनले चासो नदेखाएको विमानस्थलकै कतिपय कर्मचारी बताउँछन् ।
नेपाल एयरलाइन्सका कर्मचारीको मनपरीका कारण यात्रुहरुले बढी सास्ती खेप्नुपरेको शाही बताउँछन् । एयरलाइन्सको कार्यालयले दुई हप्ताअघि हवाई टिकट वितरण गरेको थियो । तर, विभिन्न कारण देखाउँदै उडान नगरेपछि यात्रुहरु अलपत्र परेको गमगढीका हर्क शाही बताउँछन् ।
एयरलाइन्सले यात्रुहरुलाई विमानस्थलमा बोलाउने र फर्काउने गरेको सिमकोट शाहीले बताए । नेपाली सेनामा कार्यरत रहेका छक्कबहादुर २० दिनको लागि घर विदामा जान लागेको बताउँछन् । पाल्पाबाट नेपालगन्ज आइपुगेका उनले दुई हप्ता वित्दापनि घर पुग्न नसक्दा राझाकै एक होटलमा बस्नुको विकल्प नभएको बताए । उनले भने ‘दुई हप्ता बितिसक्यो, अब घर कसरी जानु ? बिदा नै सकिन थाल्यो । जहाज उड्दैन ।’
उनी जस्तै दर्जनौ नागरिकहरू टिकट पाउने र जहाज उड्ने दिनगन्तीमै बसेका छन् । यातायातले नछोएको हुम्ला जिल्लामा सरकारी स्वामित्वको जहाजले समेत उडान नगर्दा समस्या भएको शाहीले गुनासो छ ।
एयरलाइन्सले नियमित उडान गर्ने प्रतिबद्धता जनाएपनि उक्त प्रतिबद्धता कार्यान्वयनमा ल्याउन सकेको छैन् । उक्त एयरलाइन्सले कहिले प्राविधिक समस्या त कहिले कर्मचारी समस्या देखाउँदै उडान स्थगित गर्दै आएको यात्रु बताउँछन् । उडान नहुँदा यात्रु अलपत्र परिरहेको र एयरलाइन्सले आर्थिक भार खेप्दै आएको विमानस्थलमा कार्यरत एयरलाइन्सका एक कर्मचारीले बताए । उनले भने, ‘कर्णालीका चार जिल्ला र बाजुराको कोल्टीको उडान तालिका समेत प्रभावित भएको छ ।’ कार्यालय पनि उदासिन छ । हामी बोलेर के गर्नु जागिर नै धरापमा हुन्छ । उनले भने ‘त्यसैले तै चुप मै चुपको अवस्था छ ।’
कर्णालीका केही जिल्लामा उडान भर्दै आएको सीता एयरलाइन्सले यात्रु बोक्न छोडेको छ । समिट, तारा, सीता एयरलाइन्स लगायतका निजी कम्पनीका कर्णालीका हुम्ला, जुम्ला, मुगु, डोल्पा, बाजुरा लगायतका जिल्लामा सरकारसँग यात्रु बोक्न सम्झौता गरेका छन् । तर, सीताले उक्त सम्झौता पालना नगरेको विमानस्थलका कर्मचारी बताउँछन् । सरकारी टिकट काउन्टरमा त्यस्तो दलाली नहुने नेपाल एयरलाइन्सकर्मचारी प्रशान्त विक बताउँछन् । उनकाअनुसार सरकारी एयरलाइन्सका विमान नै थोरै छन तर, एक-दुई दिन विराएर भएपनि उडान गरिरहेका छन् ।
यता विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुर काअनुसार पहिलेको तुलनामा अहिले जहाज पनि कम छन् । र, सेडुलमा हेरफेर भएको छ । उनले भने ‘विमानस्थलमा मागअनुसारका जहाज नभएरै उडान कम भएको हो । दुई-तीनवटा मात्रै जहाजको भरमा अहिले नेपालगन्ज विमानस्थल रहेको छ । यसले कर्णाली र सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लामा नियमित उडान सम्भव नै छैन् ।’ उनले थपे‘ भएका कतिपय जहाज मनाङ, मुस्ताङ पठाइएको छ।’
उनकाअनुसार अहिले यी दुई प्रदेशमा दुई-तीन फ्लाइटभन्दा बढी उडान हुन सक्ने अवस्था छैन् । यात्रुहरू मर्कामा परेका छन् उनले भने ‘यात्रु पठाउनलाई विकलप पनि छैन् । एकदमै गाह्रो भइरहेको छ ।’ विमानस्थलका टिकट काउन्टरमा टिकटमै दलाली हुने गरेको आफूले सुनेको बताउँदै उनले भने ‘यस बिषयमा एअरलाइन्सहरू सचेत हुनुपर्छ ।’ टिकटमा दलाली गर्न हुँदैन उनी भन्छन‘ यात्रुले दलालको नामै किटेर उजुरी दिएको अवस्थामा हामी कानूनी प्रक्रिया अघि बढाउँछौ । नामै किटेर कसैले उजुरी दिदैन् मौखिक भनेका भरमा कसलाई कारवाही गर्नु ?’ उनले भने ‘साह्रै अप्ठारो छ ।’