नेपालगन्ज ६ वैशाख : लुम्बिनी प्रदेश सरकारका मुख्य मन्त्री शंकर पोखरेलले मन्त्रीमण्डल विस्तार तथा जिम्मेबारी हेरफेर गरेकाछन् । सोमबार प्रदेश प्रमुख धर्मनाथ यादवले नयाँ थपिएका ४ जना मन्त्रीहरुलाई सपथ ग्रहरण गराए ।
जस अनुसार लुम्बिनी प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा विजय बहादुर यादव नियुक्ती भएका छन् । भने यस अघि उक्त मन्त्रालयको जिम्मेबारी सम्हाल्दै आएकी बाँकेकी मन्त्री आरती पौडेललाई प्रदेशको उद्योग, वन तथा वातावारण मन्त्रालयको जिम्मेबारी प्रदान गरिएको छ । दुवै मन्त्रि बाँके जिल्लाका हुन् ।
मुख्यमन्त्री शंकर पोखरेलले जिम्मेबारी हेरफेर गर्दै बैजनाथ चौधरीलाई आर्थिक मामिला तथा योजना र ग्रामीण तथा सहकारी विकास मन्त्रालयको जिम्मेवारी प्रदान गरेकाछन् । यसअघि मन्त्री चौधरी प्रदेश सरकारको प्रवक्ताका साथै भौतिक योजना तथा पुर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।
यसैगरि आन्तरिक मामिला तथा कानून मन्त्रालय र स्वाथ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेबारी लिला गिरीलाई प्रदान गरिएको छ । यस अघी मन्त्री गिरी उद्योग पर्यटन वन तथा वातावारण मन्त्रालयमा रहेका थिए ।
यस्तै नव नियुक्त मन्त्री सन्तोष पाण्डेलाई भौतिक पुर्वाधार विकास मन्त्रालय र कल्पना पाण्डेलाई शिक्षा तथा सामाजिक विकास मन्त्रालयको जिम्मेबारी प्रदान गरिएको छ । भने नव नियुक्त राज्यमन्त्री सुमन शर्मा रायमाझीलाई भौतिक पुर्वाधार विकास मन्त्रालयको राज्यमन्त्रीको जिम्मेबारी प्रदान गरिएको छ ।
यसपटक लुम्बिनी प्रदेशले एक मन्त्रालय थप गरेकोछ । थप गरेको मन्त्रालयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रहेकोछ ।