नेपालगन्ज ६ वैशाख : जनता समाजवादी पार्टी लुम्बिनी प्रदेशले आजै मात्र पार्टीको निर्णय विपरित मन्त्री पदको शपथ लिएका चार नेतालाई सरकारबाट राजीनामा दिन २४ घण्टे अल्टिमेटम दिएको छ ।
जसपाको लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै २४ घण्टाभित्र राजीनामा गरी स्पष्टीकरण बुझाउन भनेका छन् ।
सोमबार नै काँग्रेस, जसपा र माओवादीसहितका ४१ जनाले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेकै दिन जसपाका विजयबहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले मन्त्रीको शपथ लिएका छन् ।
अयक्ष यादवले राजीनामा नदिएमा पद नरहने गरी कारबाहीका लागि कानूनी प्रक्रिया अवलम्बन गर्ने पनि उल्लेख गरेका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको विरूद्धमा अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जसपाका तीन जना सांसदले आजै मन्त्रीको सपथ लिएका छन् ।