नेपाल–भारत सीमा नाका तीन दिन बन्द हुने


नेपाल–भारत सीमा नाका तीन दिन बन्द हुने

नेपालगन्ज : आगामी चैत्र २६ गतेदेखि २८ गतेसम्मका लागि नेपाल–भारत नाका बन्द हुनेभएको छ । भारतमा हुनेलोकसभा निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएका बैतडीसहित सुदूरपश्चिमका सबै नाका तीन दिनका लागि बन्द गरिन लागेको हो ।

यही चैत २८ गते भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमानाका बन्द हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए । निर्वाचन अवरिधभर भारतको उत्तराखण्ड प्रदेशसँग जोडिएको सुदूरपश्चिमका सबै नाकाहरु चैत २६ गतेदेखि २८ गतेसम्मका लागि बन्द हुनेछन् । भारतको पिथौरागढमा सम्पन्न नेपाल–भारत सीमा सुरक्षा बैठकले उक्त निर्णय गरेको होे ।

सीमाक्षेत्रमा हुने चुनावलाई शान्तिपूर्वक सम्पन्न गर्न, मानव बेचबिखन नियन्त्रण, वन्यजन्तु तथा वनस्पती पदार्थ चोरीशिकारी नियन्त्रण, अवैध मुद्रा कारोबार नियन्त्रण, लागुपदार्थ ओसारपसार रोकथाम, सीमा सुरक्षाका विषयमा सूचना आदानप्रदान गर्ने, सीमामा संयुक्त सुरक्षा गस्ती समेत गरिने सन्दर्भमा सो बैठकमा छलफल भएको थियो ।

यसका साथै भन्सारमा जाँच र नेपालीले भारतमा पाउँदै आएको पेन्सनलाई सहजरूपमा प्राप्त गर्ने वातावरण सिर्जना गर्ने विषयमा पनि छलफल भएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।