आईसीयू र भेन्टिलेटरसहितको आइसोलेशन तयार


आईसीयू र भेन्टिलेटरसहितको आइसोलेशन तयार

File Photo

लहान १५ वैशाख : बढ्दो कोरोना सङ्क्रमणलाई दृष्टिगत गरी सिरहामा २६ शय्याको आइसोलेशन तयार पारिएको छ ।

जिल्ला अस्पताल सिरहाको मातहतमा रहने गरी सदरमुकाम सिरहामा तत्कालका लागि २६ शय्याको आइसोलेशन शय्या तयार पारिएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए ।

बढ्दो कोरोना सङ्क्रमणको ग्राफलाई मध्यनजर गरी बजेट अभावका बाबजुद सिरहामा अक्सिजन प्लान्टसहित पाँच आईसीयू शय्या र दुई भेन्टिलेटरसमेत गरी २६ आइसोलेशन शय्या तयारी अवस्थामा राखिएको प्रजिअ कँडेलले बताए ।

यस्तै भारतीय सीमावर्ती क्षेत्र सिरहाको माडरमा होल्डिङ सेन्टर स्थापनाका लागि स्थानीय तहबाट एक÷एक लाख आर्थिक सहयोगको आश्वासन आएकाले होल्डिङ सेन्टर स्थापनाको तयारी गरिएको उनको भनाइ छ । कोरोना सङ्क्रमण तीव्रगतिमा फैलिन थाले पनि प्रदेश सरकारले बजेट उपलब्ध नगराउँदा थप आइसोलेशन शय्या थप्नेलगायत अपेक्षाकृतरूपमा पूर्वतयारीको काम गर्न नसकिरहेको प्रजिअ कँडेलले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले विभिन्न शीर्षकमा प्रदेश सरकारसँग रु ४७ लाख माग गर्ने निर्णय गरी पठाए पनि हालसम्म बजेट प्राप्त नहुँदा समस्या भएको प्रजिअ कँडेलले जानकारी दिए । डीसीसीएमसीले जोखिम न्यूनीकरणका लागि रु २० लाख, सीआईसीटी मोबिलाइजेशन शीर्षकमा रु १० लाख, अत्यावश्यक औषधि खरिद गर्न रु २० लाख र एम्बुलेन्स तथा शववाहन परिचालन गर्न रु सात लाख प्रदेश सरकारसँग माग गरेको जनाएको छ ।

स्थानीय तहलाई आवश्यक पर्ने औषधि, जनशक्ति, सामग्री र स्वास्थ्य उपकरणको पर्याप्त बन्दोबस्त मिलाउनसमेत निर्देशन दिएको उनको भनाइ छ । सिरहामा हाल १२ नयाँ कोरोना सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ । तीमध्ये छ जनाको जिल्ला अस्पताल सिरहास्थित आइसोलेसनमा उपचार भइरहेको छ । -रासस