पत्रकार र सरकारी अनियमितता

उपमहानगर र पत्रकार महासँघ रकम अनियमितता (भाग–१०)


पत्रकार र सरकारी अनियमितता

बिष्णु पोखरेल

नेपालगन्ज: नेपालगन्ज उपमहानगरको संस्थागत भ्रष्टाचार निमिट्यान्न पार्ने र आफूले कुनै पनि पारीश्रमिक नलिने अठोठको बाचा गरेर चुनाव लडेका डाक्टर धवल सम्शेर राणाले जनताको मन जितेर मेयर बने । मेयर बनेपछि पनि उनले आफ्नो पूर्व भनाई बमोजिम संस्थागत भ्रष्टाचार कुनै हालतमा रोक्ने प्रतिबद्धता दोहोराय, तेहराय । अझ भनौ थेगो नै बनाए ।

जता गएर दुई शब्द बोल्दा पनि यही कुरा सम्झाए । जनतालाई ढुंगा खोज्दा देउता मिल्यो । मुलुककै भ्रष्ट भनेर आलोचित जिल्ला भ्रष्टाचार मुक्त हुने भएपछि खुशी नहुने कुरै भएन । महिना गए, वर्ष गए, वडा नगरसभा वा परिषद्मा समेत निकै राम्रो काम भएको चर्चा भयो । चर्चा गर्नमा अग्र पंक्तिमा पत्रकार नै थिए । पत्रकारले भनेपछि शतप्रतिशत ढुक्क हुने नागरिक मेयर सावको संस्थागत भ्रष्टाचार विरोधी कुरामा पनि विश्वस्त नहुने कुरै भएन ।

दिन जाँदै गर्दा नगरका कार्यक्रम पनि थपिदैं गए, योजना थपिए, ऋण थपियो, जनप्रतिनीधिका लागि पारिश्रमिकका कुरा आए । मेयर वडाध्यक्षलाई तलब भत्ता भएपछि सदस्यहरु पनि टुलुटुलु हेरेर बस्ने कुरा पनि भएन । दिनभरी जनताको काम गरेपछि जहान, छोराछोरीहरुलाई दुई छाक पनि जोहो गर्नु पर्ने, सबैले पारीश्रमिकको कुरा उठाए । कुनै पारीश्रमिक नलिने वाचा गर्ने मेयरका सभासद्हरु तलब खान हडताल सम्म गर्न थाले, पत्रकारहरुलाई मसला मिल्यो, यही विषयमा न्यूज बने, सामाजिक सञ्जालमा फोटो रंगिए, कतै घाम कतै छाँया सरोवर भयो ।

अन्ततः सबैलाई गच्छे अनुसार पारीश्रमिक माथिबाटै तय भयो, जनताको करको उद्घाटन जनप्रतिनीधिको सुविधाबाट भयो । प्रतिनीधिले पारीश्रमिक पाएपछि मख्ख परे, अब समाजसेवी, जनता, पत्रकार कार्यकर्ता, खेलाडी लगायतको लागि काम गर्नु पर्ने दवाव आउन शुरु भयो । आ–आफ्ना पेशागत संगठनले आ–आफ्ना पेशागत हितको लागि स्थानीय सरकारसंग डील गर्नु स्वभाविकै हो । यसरी डील गर्नेमा पत्रकार अग्रपंक्तिमा परे । पत्रकारिता विकास अति जरुरी रहेकाले यसै मर्मलाई टपक्क समाएर नगरपालिकामा सहयोग माग्नेक्रम शुरु भयो । सञ्चार पत्रकारिता विकास कार्यक्रम सञ्चालन गर्ने खाका बन्यो, प्रस्ताव लेखन, छलफल भेटघाट भयो, दशलाख माग भयो करीब साढे नौ लाख सदर भयो, नगर प्रेस सल्लहकार र पत्रकार महासंघ अध्यक्षको तजबिजमा खर्च हुने गरी सारा बील भरपाई नगरपालिकामा पेश भई भुक्तानी गर्ने गरी बजेट निकासा भयो । अरुलाई आँखा देखाउने पत्रकारहरुको नेतृत्व महमा डुबुल्की मार्ने लाग्यो ।

नगरपालिकाले विनियोजन गरेको साढे ९ लाखबाट खर्च गर्न आर्थिक नियम अनुसार बील भरपाई र सही छाप जरुरत थियो । एकै दिनमा ५ पटक खाना खाएको होस्, जादंै नगएको रेष्टुरेण्ट होटलको बील होस् हस्ताक्षर गरे पास हुने मापदण्ड बन्यो । भटाभट कार्यक्रम बने, जनप्रतिनिधीका कामलाई कागजका घोडा भनी लेख्ने पत्रकार नेतृत्वले आफै कागजी घोडा बनाउन थाले । हुँदा–हुँदा आउदै नआएका बरिष्ठ पत्रकारदेखि मेयरसम्मका किर्ते हस्ताक्षर गरेर भएनि रकम मिलाउने क्रम चल्यो ।

एउटै मान्छेले धेरै जनाको किर्ते सहीछाप गरे, नखाएको खाना, बास नबसेको होटल, उडदै नउडेका जहाजका बील बने, पेश भए सिफारिस भए पास भए, जाँच पास परीक्षण, फर्छोट जे–जे गर्नु पर्ने हो हुँदै गए । जस जसले मानेन् नाम थपे, भत्ता बढाए, खर्च बढाए आखिर पत्रकारले पनि नेताकै शैलीमा कार्यक्रम गरे सफल पारे ।

ढाँटेको कुरा काटे मिल्दैन होस् वा पाप धुरीबाट कराउँछ भन्ने उखान होस एक दिन पोल खुल्यो, खबर छरियो, पत्रकारबाटै छरपस्ट भयो । मेयर उपमेयर कर्मचारीदेखि अनियमितता मुछिएका पत्रकारहरुको होस् डुब्यो । हस्ताक्षरमा नाम भएकाले मेरो हैन किर्ते हो भने, होटलवालाले सादा बील लगे के–को खर्च लेखे थाहै भएन भने, नउडेको जहाजको टिकट पनि फर्जी देखियो, नगरेको बैठकको पोल खुल्यो, बाँकी बचेको ईज्जत त गयो नै पत्रकारिता पुरै अल्पत्र पारुन्जेल न त पत्रकार महासंघको आपात्ति देखियो, नत मेयर सा’वको संस्थागत भ्रष्टाचारको चर्चा आयो । आखिरमा नायक फिलिमको हिरोलाई झै हाम्रा पत्रकारलाई पनि राजनीति सिकाई छाडे नगरपालिका विज्ञहरुले । संस्थागत भ्रष्टाचार त ओइलाएन कतै मेयर सा’बलाई नै सिकाउछन् कि डर लाग्यो । जे भएनी सजग होआंै । भ्रष्टाचार राकौं ।