नेपालगन्ज : पटक/पटक सभागृह निर्माणका निहुँमा आयोजित बृहत मेला/महोत्त्सवबाट संकलित रकम पारदर्शी रूपमा सार्वजनिक नगर्दा विवादीत बनेका नेपालगन्ज उद्योग बाणिजय संघका अध्यक्ष नन्दलाल बैश्य नेतृत्वको टोली पुरातात्विक र एतिहासिक संरचना तोडफोडमा सक्रिय देखिएको छ ।

उक्त टोलीले विगत ४० वर्ष पुरानो त्रिभुवनको शालिक रहेको त्रिभुवन चोक स्थित संरचना भत्काएर दादागिरी मच्चाएको छ । अध्यक्ष बैश्यको उक्त अनैतिक कार्यप्रति सर्वसाधारणले विरोध जनाएका छन् । सोमबार राति उनकै नेतृत्व र मिलेमतोमा त्रिभुवन चोकको संरचना भत्काउँदै गर्दा भेला भएका सर्वसाधारणले संघका अध्यक्ष वैश्य विरुद्ध चर्को नाराबाजी गरेका थिए ।

वाणिज्य संघले त्रिभुवनको शालिक रहेको संरचना भत्काएर नयाँ स्तम्भ बनाउने र सौन्दर्यकरण गर्ने प्रस्ताव नेपालगन्ज उपमहानगरपालिका समक्ष राखेपनि उक्त प्रस्ताव नगर बोर्डबाट पारित वा स्वीकृत भने हुन सकेको छैन् । उपमहानगरका मेयर डाक्टर धवलशम्सेर राणाले एक वर्ष अघि नै संघलाई सौन्दर्यकरणका लागि अनुमति दिएको भन्दै अध्यक्ष बैश्यले कपोकल्पित रुपमा डोजर लगाएर उक्त चोकको महिमा मेटाउने प्रयास गरेका छन् ।
तर, नेपालगन्ज उपमहानगरको बोर्डले भने यस विषयमा कुनै निर्णय नगरेको उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले बताउँछन् । उनले भने ‘संघलाई त्रिभुवन चोकमा सौन्दर्यकरण गर्न अनुमति दिइएको बारे जानकारी छैन् ।’ रिजालकाअनुसार ६-७ महिना अगाडि संघले त्रिभुवन चोक सौन्दर्यकरणका लागि प्रस्ताव गरेको थियो । तर, नगर बोर्डले कुनै निर्णय गरेको थिएन । त्रिभुवन चोकको संरचना भत्काउने काममा संघका अध्यक्ष बैश्यको निर्देशनमा वडा नम्बर ११ का अध्यक्ष उज्जवलसिंह राठौर र मेयर राणाको मिलेमतो रहेको स्थानीयले आरोप लगाएका छन् ।

सोमबार राती भएको उक्त चोक भत्काउने प्रयास स्थानीयले असफल पारेपछि वडाध्यक्ष राठौरले सर्वसाधारणलाई अस्लिल गाली समेत गर्दै जे पनि गर्न सक्ने धम्की दिएको स्थानीय बताउँछन् । वडा अध्यक्षले गरेको अश्लिल गालीगलोचको भिडोयो सेतोखरीसंग सुरक्षित छ । राप्रपाकै मेयर राणाले नेपालगन्जको इतिहास मेटाउन खोजेको भन्दै राप्रपाकै नेताहरू समेत आक्रोशित बनेका छन् । यकातिर नेपालगन्जमा हुनेलागेको आठौं राष्ट्रिय खेलकुदको पूर्वसन्ध्यामा नेपालगन्ज उद्योग वाणिज्य संघले गरेको अनैतिक कार्यले नेपालगन्जको वातावरण जटिल बन्न सक्ने स्थानीय बताउछन् ।
यस विषयमा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले नेपालगन्जको कारकादो चोकमा घण्टाघर निर्माण र त्रिभुवना चोकलाई नयाँ रुप दिने आफ्नो ईच्छा अनुसार नगरपालिकामा प्रस्ताव पेश गरेको बताए । उनले भने यसमा मेरो कुनै स्वार्थ छैन, चोकको सुधारका लागि मैले उपमहानगरपालिकाका मेयर डाक्टर धवल शम्सेर राणाकै सहयोग सल्लाह र निर्देशका आधारमा चोक भत्काउन लगाएको हो । तर, मैले एउटा कमजोरी गरे उनले भने त्यो के भने चोक भत्काउन अघि आम नागरिकलाई अब बन्ने संरचनाका बारे सूचना दिनुपर्दथ्यो त्यो गर्न सकेन ।
यता वडा नम्बर ११ का वडा अध्यक्ष राठौरले विवाद सृजना भएका बेला सवैलाई सम्झाई बुझाई गरेको हुँ, उनले भने मैले कसैलाई पनि अपशब्द प्रयोग गरेको छैन । समस्या समाधानका लागि आफू हिजो पनि लागे आज पनि लागिपरेको छु ।