उपमहानगर र पत्रकार महासँघ रकम अनियमितता (भाग–११)
नेपालगन्ज : नेपाल पत्रकार महासंघका पदाधिकारीले गरेको किर्ते हस्ताक्षर प्रकरणको छानबिनका लागि नेपालगन्ज उपमहानगरपालिकाले छानबिन समिति गठन गरेको १५ दिन पुगी सक्यो । तोकिएको समयमा उक्त समितिले उपमहानगरपालिका समक्ष प्रतिवेदन बुझाउन सकेको छैन ।
सात दिनको समयावधी दिएर गठन गरिएको उक्त समितिले तोकिएको समयभित्र काम गर्न नसकेपछि म्याद थपिएको थियो । म्याद थपिएपनि अहिलेसम्म नेपाल पत्रकार महासंघका अध्यक्ष ठाकुरसिंह थारू, उपमहानगरपालिकाका प्रेस सल्लाहकार शुक्रऋषि चौलागाई र महासंघका कोषाध्यक्ष केशव रानाको मौखिक बयान लिने भन्दा अरू कुनै प्रगती गरेको देखिदैन् । उक्त समितिको काम कछुवाको गतीमा छ ।
किर्ते हस्ताक्षर प्रकरणमा संलग्न रहेको भनिएका नेपाल पत्रकार महासंघका उपाध्यक्ष प्रदीप वाग्लेको भने उक्त समितिले अहिलेसम्म बयान लिन चासो देखाएको छैन् ।
पत्रकार महासंघले किर्ते तयार पारेको कागजातमा धेरैजसो किर्ते हस्ताक्षर उपाध्यक्ष वाग्लेले नै कोठामा बसेर गरेको महासंघका कार्यसमितिका सदस्यले नै जनाएका छन् । आफूनो पक्षमा अनुसन्धान केन्द्रीत गर्दै सोही अनुसार प्रतिवेदन तयार गर्न ओमकारनाथ मिश्रको संयोजकत्वमा गठित उक्त छानबिन समितिमाथि उपमहानगरपालिकाका उपमेयर उमा थापामगर र नेपाल पत्रकार महासंघका अध्यक्ष थारु लगायतको तीब्र दबाब आएपछि उक्त समितिले छानबिन र अनुसन्धानको प्रक्रिया अघि बढाउन उदासिन देखिएको छानबिन समितिकै एक सदस्यले सेतोखरीसंग भनेका छन् ।
नेपाल पत्रकार महासंघ बाँके शाखाका पदाधिकारीले किर्ते हस्ताक्षर गरी सरकारी रकम दुरूपयोग तथा हिनामिना गरेको विषयमा अख्तियारमा समेत उजुरी परेपछि सेतोखरीले समाचार बाहिर ल्याएको थियो । नेपालगन्ज उपमहानगरपालिका र नेपाल पत्रकार महासंघ बाँके शाखाद्वारा संयुक्त रुपमा गरिएका विविध कार्यक्रमा महासंघका पदाधिकारीले अनियमितता गरेका छन् । छानबिन समितिका सदस्य मिश्रकाअनुसार अहिलेसम्म तीन जनाको बयान लिने भन्दा थप काम प्रभावकारी रूपमा हुन सकेको छैन् ।
प्रतिवेदन बुझाउनुपर्ने म्याद सकिएपनि आर्थिक हरहिसाबको अनुसन्धान भएकोले तोकिएको समयमा प्रतिवेदन नआएको बताउँदै मिश्रले छानबिनमा झारा टार्ने प्रयत्न गरेको खुलेको छ । स्रोतका अनुसार उपमहानगरकै छानबिन समितिमा दबाबदेखि आर्थिक प्रलोभन समेतका कुरा उठिसकेको स्रोत बताउँछ । उपमहानगर स्रोतले भन्यो ‘केही व्यक्तिले छानबिन समितिलाई नै आर्थिक लोभ देखाएर प्रभावमा पारिरहेका छन् । त्यसैले पनि तोकिएको समयमा वास्तविक प्रतिवेदन आउने सम्भावना कम देखिएको छ ।’
मिश्रले भने ‘हामी अध्ययन र अनुसन्धानमै छौं । थप अध्ययनका लागि अझैं केही दिन लाग्ने देखिएको छ ।’ उनले यसअघि पनि दुई-तीन दिनमा काम सकिने बताएका थिए । उपमहानगरपालिकाले सञ्चार पत्रकारिता विकास कार्यक्रमका लागि १० लाख रकम विनियोजन गरेको थियो । उपमहानगरपालिकाका प्रेस सल्लाहकार चौलागाई र पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुर मिलेर उक्त रकम हिनामिना गरेका हुन् ।
प्रेस सल्लाहकार चौलागाई र संघका अध्यक्ष ठाकुरको मिलेमतोमा सञ्चार पत्रकारिता विकास कार्यक्रम अन्र्तगत संचालन गरेका विविध कार्यक्रममा उपस्थिति नै नभएका ब्यक्तिहरुको नक्कली हस्ताक्षर तथा खर्चको विभिन्न बील भर्पाइ तयार पारी रकम हिनामिना गरिएको छ ।
२०७५ जेठ ३० गते नेपालगन्जस्थित स्वस्तीक कटेज एण्ड रेष्ट्ररेण्टमा भएको मिडिया दिगो विकास र यसका चूनौती बिषयक छलफल कार्यक्रममा एक दर्जन भन्दा बढी पत्रकारले रकम बुझेको नक्कली हस्ताक्षर गरिएको छ ।
प्रेस सल्लाहकार चौलागाई र संघका अध्यक्ष ठाकुर मिलेर नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झा, नेपालपत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष विपुल पोखरेल जस्ता गरिमामय पद धारण गरेका व्यक्तिहरूको समेत रकम बुझेको भनेर नक्कली हस्ताक्षर गरिएको छ ।
पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरले तयार पारेर उपमहानगरमा बुझाएको हरहिसाबको प्रतिवेदनमा सहजकर्ताको रूपमा महासंघका पूर्व केन्द्रिय अध्यक्ष झा र वाहालवाला केन्द्रिय बरिष्ठ उपाध्यक्ष पाखरेल कार्यक्रममा सहभागि भएको, यातायात वापत झा र पोखरेललाई हवाइभाडा आउने जाने १४ हजार दिएको, सहजकर्ताको भत्ता वापत झा र पोखरेलले करकट्टी गरी ४ हजार २ सय ५० का दरले बुझेको हस्ताक्षर छ ।