प्रतिक्षालयविहीन चारलेन सडक


प्रतिक्षालयविहीन चारलेन सडक

नेपालगन्ज विरेन्द्र चोक नजिकको मुख्य चार लेन सडक । सौजन्य तस्विरः विशाल रानामगर

नेपालगन्ज : यात्रु चोकचोकमा उभिएर नगर बस चढ्छन् । हिँड्दा थकाई लागेमा बस्ने ठाउँ छैन । हिँड्दा–हिँड्दै दुई जना साथी भेट भइहालेमा एकछिन प्रतिक्षालयमा बसेर गफ गरौं न भन्ने त झन् टाढाको कुरा भइहाल्यो ।

यात्रुको चाप पनि बढ्दो छ तर यात्रु प्रतिक्षालय भने छैनन् ।नेपालगन्जको सुर्खेतरोड र सदरलाइनमा यतिबेला यात्रु प्रतिक्षालय अति आवश्यक भइसकेको छ । सुर्खेतरोडमा नगर बस कुर्नेदेखि अस्पतालको अगाडि केहीबेर सवारी साधन खोज्ने बिरामीलाई बस्न पनि प्रतिक्षालय चाहिएको छ । नेपालगन्ज उपमहानगरपालिकाले व्यवस्थित पार्किङदेखि आकाशे पुलको योजना अघि सारेको छ ।

त्योसँगै ठाउँठाउँमा यात्रु प्रतिक्षालय राख्न जरुरी छ । नगर बस जहाँ पायो त्यही रोक्ने र यात्रु चढाउने गर्छन् । त्यसले दुर्घटनाको खतरा बढाएको छ । ठाउँ–ठाउँमा यात्रु प्रतिक्षालय बनाएर त्यहि ठाउँमा बस बिसौनीको व्यवस्था गर्दा दुर्घटनाको जोखिम कम हुनसक्छ ।कहाँकहाँ प्रतिक्षालय राख्दा उचित हुन्छ भनेर हेरिरहेको बताउँदै नेपालगन्ज उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेल भन्छन्, ‘सुर्खेतरोड र सदरलाइनको ठाउँठाउँमा ट्राफिक बुथ राख्ने कार्य अन्तिम चरणमा पुगेको छ ।

बुथमा बत्ती जडानको काम मात्रै बाँकी छ ।’ ११ वटा ट्राफिक बुथ राख्ने कार्य अन्तिम चरणमा पुगेको बताउँदै सूचना अधिकारी पौडेलले २० वटा यात्रु प्रतिक्षालय राख्ने तयारी भइरहेको बताए । राँझा चोकदेखि ट्राफिक चोक र सदरलाइनको चारबाहिनीदेखि त्रिभुवन चोकसम्म सम्भावित ठाउँ हेर्ने काम भएको भइरहेको उनको भनाइ छ ।

नगरपालिकाले ‘पीपीपी मोडल’मा यी कामहरु गर्दैछ । यो मोडेलमा जाँदा निजी क्षेत्रले समेत अपनत्व लिन सक्छन् । नेपालगन्जमा अव्यवस्थित बसोबाससँगै जनसंख्या वृद्धि उच्च भएसँगै व्यवस्थित बजारका लागि पार्किङदेखि प्रतिक्षालयको समेत आवश्यकता महशुस भएको छ । आवश्यकता अनुसार नयाँ नयाँ संरचना बनाउने काम भइरहेको सूचना अधिकारी पौडेलले बताए ।