नेपालगन्ज ३१ वैशाख : नेपाली काँग्रेसले आफ्नो क्रियाशिल सदस्यको नामावली सार्वजनिक गरेकोछ ।
भदौ ७ देखि हुने १४ औं महाधिवेशनको कार्यतालिका बनाएको काँग्रेसले लगभग सबै जिल्लाबाट क्रियाशील सदस्यको विवरण केन्द्रमा आइसकेको बताएको छ ।
योसंगै क्रियाशील सदस्यको नाम अब काँग्रेसको वेवसाइटमै हेर्न मिल्ने केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले जानकारी दिए ।
क्रियाशील सदस्यको विवरण www.nepalicongress.org मा गएर हेर्न मिल्नेछ । काँग्रेस केन्द्रीय कार्यसमितिको गत वैशाख ६ को निर्णयअनुसार क्रियाशीलको विवरण वेवसाइटबाट सार्वजनिक गरिएको हो ।
सार्वजनिक गरिएका क्रियाशील सदस्यको नामावलीउपर कुनै उजुरी वा गुनासा भए [email protected] मा इमेल गर्न सकिनेछ ।
छानविन समितिका सचिव केशव रिजालका अनुसार जेठ ७ गतेभित्र क्रियाशील सदस्यबारे कुनै उजुरी वा गुनासो भए पठाउन सक्ने बताए ।
साथै प्रदीप पराजुलीलाई ९८५१०४४०६५, केशव रिजाललाई ९८५११२९०७८ र रामचन्द्र घिमिरेलाई ९८५११२४१९८ मा फोन गर्न सकिने पनि उल्लेख गर्दै रिजालले विज्ञप्ति निकालेका छन् ।