तस्विरः गुगल
नेपालगन्ज : बाँकेमा पछिल्ला केही वर्षयता भारतीय गाडीको प्रयोग बढ्दै गएको छ । नेपालगन्ज भारतको बहराइचसँग सीमा जोडिएका कारण सहजै ओहोरदोहोर गर्न सकिने भएकाले यसको प्रयोग बढ्दो हो ।
यसरी गुड्ने अधिकांश गाडीले भन्सारमा राजस्व दाखिला नगरिकनै निर्वाध रूपमा गाडी गुडाउँदै आएका छन् । भारतीय नम्बर प्लेटका सवारी साधनमा अंकुश लगाउनेतर्फ कसैको ध्यान जान सकेको छैन । विनाभन्सार जिल्लामा निर्वाध रूपमा भारतीय गाडीको प्रयोग बढेको छ ।
सीमामै रहेको बाँके प्रहरी मुकदर्शक बनेर बसेको आरोप स्थानीयले प्रहरीमाथि लगाएका छन् । पछिल्लो समय सदरमुकाम नेपालगन्ज, कोहलपुर, खजुरा र आसपासका क्षेत्रमा भारतीय गाडीको प्रयोग व्यापक रूपमा भइरहेको छ ।
जसका कारण जिल्लामा आपराधिक घट्ना, दुर्घटनामा वृद्धि भएको र बेथिति बढ्दै गएकोे भन्दै प्रहरीमाथि प्रश्न उठ्न थालेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अरूण पौडेल भारतीय गाडीको विषयमा छलफल भइरहेको बताउँछन् । विना भन्सारमा भारतीय गाडीमाथि कडाई गर्ने हो भने आपराधिक घट्नामा कमी आउने, दुर्घटना कम हुने र राजस्वसमेत उठ्ने भएकाले आपूm चाँडै नै यसको अनुगमन तथा नियन्त्रणमा लाग्ने उनी बताउँछन् ।
आर्थिक अध्यादेशमा भारतीय गाडी नेपाल प्रवेश गर्दा अस्थायी पैठारी अन्तर्गत शुल्क बुझाएर वर्षमा ३० दिन मात्र चलाउन पाउने प्रावधान छ ।
तर, नियम विपरित यस्ता गाडी पाँच÷६ वर्षदेखि निर्वाध रूपमा जिल्लामा चल्दै आएका छन् । यसअघि जिल्ला प्रहरी कार्यालयले सीमा क्षेत्रमा बढ्न सक्ने अपराधका घटनालाई मध्य नजर राख्दै जिल्लाभित्र भन्सार राजस्व तिरेर प्रवेश गरेका गाडीको फोटोसहित अभिलेख राखी कडाइ गर्ने भनेको थियो ।
तर, सरकारी उदासिनताले यो कार्यान्वयनमा आउन अझै सकेको छैन् । भन्सारमा भारतीय गाडी अहिले चेकजाँचसमेत हुन छाडेकोप्रति स्थानीय चिन्तित बन्न पुगेका छन् । जथाभावी विनाभन्सार प्रवेश गर्ने र नियमविपरित चलाइने भारतीय गाडीलाई कारबाही हुनुपर्ने स्थानीय खुमानन्द अर्यालको माग छ । प्रदेश सरकारका मन्त्री, दलका नेता, स्थानीय सरकारका प्रमुखहरूले समेत निर्वाध रूपमा भारतीय गाडीको प्रयोग गर्ने गरेकाले समेत प्रहरीलाई यसको प्रयोगमा अंकुश लगाउन अफ्ठ्यारो परेको प्रहरी स्रोत बताउँछ ।
आपूmहरूले भारतीय गाडी फेला पारेको बखतमा नियमानुसार कारबाही गर्दै आएको जमुनास्थित प्रहरी चौकीका इन्चार्ज बसन्त बस्नेत बताउँछन् । भारतीय कार, जिप, बस, टयाक्टर, ट्रक प्रयोग गर्दा दैनिक ४ सय ५२ रुपैयाँ भन्सार राजस्व तिर्नुपर्ने नियम छ । मोटरसाइकलको एक सय र तीनपांग्रे सवारीको तीन सय तिर्नुपर्छ । ट्रयाक्टरको दुई सय र टूेलरसमेत भए चार सय रुपैयाँ राजस्व तिर्नुपर्छ । कडाइ नभएका कारण अधिकाशंले विनाभन्सार भारतीय गाडी चढने गरेका छन् । कानूनतः राजस्व तिरेर नेपाल प्रवेश गर्ने भारतीय गाडी एक महिनाभन्दा बढी नेपाली भूमिमा बस्न नपाउने व्यवस्था छ । ३५ दिनसम्म भन्सार राजस्वविना बसेको पाइए गाडी जफत हुने प्रावधान छ ।