उपमहानगर र पत्रकार महासंघ रकम अनियमितता (भाग १२)
नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर सहितको पत्रकार महासंघ बाँकेको टोलीले नेपालगन्जका मिडियाहरुको अनुगमन नै नगरी ५० हजार रकम सक्काएका छन् । उनीहरुले नेपालगन्जका मिडियाहरु अनुगमन गरेको भनि खर्च विवरण देखाएका छन् ।
नेपालगन्ज उपमहानगरपालिकाले सञ्चार पत्रकारिता विकास कार्यक्रमको लागि विनियोजन गरेको ९ लाख ३४ हजार मध्यको रकमबाट नेपालगन्जका मिडिया अनुगमनका लागि ५० हजार रकम छुट्याएको थियो । सो रकम नेपाल पत्रकार महासंघ बाँके शाखा मार्फत खर्च गरिएको थियो । तर, उक्त रकम अनुगमन नै नगरी फर्जी बील भर्पाई बनाई बाँडचुड गरिएको छ । अनुगमन टोलीमा उपमेयर थापा स्वयम् संलग्न छिन्।
नेपालगन्ज उपमहानगरपालिकामा पेश गरेका खर्चको बील भर्पाइ अनुसार, नेपालगन्जका मिडियाहरु पाँच दिन अनुगमन गरिएको देखाइएको छ । प्रतिवेदनमा २०७५ चैत्र १८, १९, २०, २१ र २२ गते गरी पाँच दिन नेपालगन्जका मिडिया अनुगमन गरेको उल्लेख गरिएको छ । तर, कुन–कुन मिडियामा अनुगमन गरियो भन्ने कहिँ पनि उल्लेख छैन । अनुगमनमा संलग्न एक सदस्यले पाँच दिन लगाएर नेपालगन्जका मिडिया अनुगमन नगरिएको बताए । उनले भने –‘पहिलो त नेपालगन्जका मिडिया अनुगमन गर्न पाँच दिन नै लाग्दैन । दोस्रो एक दुई वटा मिडियाको अनुगमन गरेर पाँच दिनसम्म भनेर प्रतिवेदनमा कुन मिडियाको नाम राख्ने मारिहाल्छन् नि ।’
रकम बुझेको बील भर्पाइमा पाँच दिनसम्म अनुगमनमा संलग्न देखिएका पत्रकार महासंघ बाँकेका उपाध्यक्ष प्रदीप वाग्लेलाई कुन–कुन मिडिया अनुगमन गरेको भन्ने नै थाहा छैन । उनले मिडिया अनुगमन गरेको प्रतिवेदन हेर्नु पर्ने बताए । तर, प्रतिवेदनमा केही छैन । उपाध्यक्ष वाग्लेले भने –‘कृष्णसार एफ एम, भिजन टेलिभिजन, दैनिक नेपालगन्जमा गएको याद छ, अरु त कागत पत्र हेरेर मात्र भन्न सक्छु । दैनिक नेपालगन्जमा अनुगमन गरिएको छैन ।’
दैनिक नेपालगन्जका प्रकाशक प्रधान सम्पादक झलक गैरेले आफु प्राय कार्यालय बाहिर रहने हुँदा अनुगमन बारे कुनै जानकारी नआएको बताए । गैरेले भने –‘म छानविन समितिमा छु, यसबारे केही बोल्न मिल्दैन । अफ् द रेकर्ड हो भने म कुरा गर्न सक्छु, अन् द रेकर्ड यति मात्र भन्न सक्छु । यसैगरी सद्भाव दैनिकका प्रवन्ध निर्देशक रवि कनोजियाले कोही पनि आफ्नो कार्यालयमा अनुगमनमा नआएको बताए ।
उपमेयर थापा पाँच दिन नै अनुगमनमा संलग्न भएको खर्चको बील भर्पाइले देखाएको छ । भर्पाइका अनुसार, अनुगमन गरेको भनि उपमेयर थापाले प्रतिदिन ८ सय ५० का दरले पाँच दिनको ४ हजार २ सय ५० रुपैंया बुझेकीछिन् ।
त्यसै गरी उपमहानगरका प्रेस सल्लाहकार शुक्रऋषी चौलागाईले पाँच दिन अनुगमन गरेको भनि ४ हजार २ सय ५०, उपमहानगरकै कर्मचारी कृष्णप्रसाद जोशीले तीन दिन अनुगमन गरेको भनि २ हजार ५ सय ५०, पत्रकार महासंघ बाँकेका उपाध्यक्ष प्रदीप वाग्लेले पाँच दिन अनुगमन गरेको भनि ४ हजार २ सय ५०, पत्रकार रुपा गहतराजले दुई दिन अनुगमन गरेको भनि १ हजार ७ सय, महासंघकै कार्यसमिति सदस्य आलम खानले दुई दिन अनुगमन गरेको भनि १ हजार ७ सय बुझेको भर्पाइमा हस्ताक्षर गरिएको छ । पत्रकार महासंघ बाँकेका सदस्य संगिन शर्माले अनुगमनको रिपोर्टिंग गरे वापत ४ हजार २ सय ५० बुझेका छन् ।
उपमेयर थापाले आफुले हस्ताक्षर गरेपनि रकम भने नलिएको बताईन् । उक्त अनुगमन टोलीले ५ हजारको त फोन मात्र गरेको खर्च देखाएको छ । नेपालगन्ज बसपार्क स्थित बैभव इलेक्टोक्सिबाट पत्रकार महासंघका नाममा ५ हजारको रिचार्ज कार्ड खरिद गरेको बील पेश गरिएको छ । टोलीले अनुगमन फाराम छपाई गरेको भनि २ हजार पाँच सय रुपैंया देखाएको छ । यहि ५० हजारको बजेटबाट नै एकै दिन एक जनाले ५ पटक खाना र ५ पटक नास्ता खाएको बील देखाएको हो ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारु र नेपालगन्ज उपमहानगरपालिकाका प्रेस सल्लाहकार शुक्रऋषी चौलागाइले गरेको रकम हिनामिनामा उपमेयर उमा थापामगर पनि संलग्न भएको पाइएको छ । नेपालगन्ज उपमहानगरपालिकाले सञ्चार पत्रकारिता विकास कार्यक्रमको लागि विनियोजन गरेको ९ लाख ३४ हजार मध्यको रकमबाट नेपालगन्ज उपमहानगरपालिकाका प्रेस सल्लाहकार चौलागाई र पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष थारु मिलेर हिनामिना गरेका छन् । नक्कली हस्ताक्षर र नक्कली बील बनाएर चौलागाइ र थारु र महासंघका अन्य सदस्य मिलेर रकम हिनामिना गरेका हुन् ।
पत्रकार महासंघ बाँकेका अध्यक्ष थारुले तयार पारेर नगरपालिकामा बुझाएको हरहिसाबको प्रतिवेदनमा सहजकर्ताको रुपमा महासंघका पूर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झा र वाहालवाला केन्द्रिय बरिष्ठ उपाध्यक्ष विपुल पोखरेल सहित २ दर्जन भन्दा बढी पत्रकारको नक्कली हस्ताक्षर गरी रकम हिनामिना गरेको प्रष्ट रुपमा देखिएको छ ।
थप समाचार
उपमहानगरपालिका र पत्रकार महासंघबिरुद्ध अख्तियारमा उजुरी
अध्यक्ष ठाकुर र प्रेस सल्लाहकार चौलागाईले तयार पारे नक्कली हस्ताक्षर र बील
पत्रकार महासँघ बाँकेका अध्यक्ष ठाकुरले रक्सीको नशामा लठ्ठीएर के–के बोले ?
अध्यक्ष ठाकुर, प्रेस सल्लाहकार चौलागाइ र कोषाध्यक्ष केशवसँग बयान
रकम हिनामिनामा उपमेयर उमा पनि संलग्न