राष्ट्रिय सभा उपनिर्वाचन : मतदान जारी, नतिजा आजै आउने


राष्ट्रिय सभा उपनिर्वाचन : मतदान जारी, नतिजा आजै आउने

नेपालगन्ज ६ जेठ : वाग्मती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको मतदान यतिबेला जारी छ । विहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म हुने छ ।

शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा मापदण्ड र अरु व्यवस्थापनसहित मतदान शुरु भएको निर्वाचन आयोगले जनाएकोछ । मतदाताको निर्वाचक मण्डलबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको उक्त निर्वाचनमा सहभागी हुन सबै मतदातालाई आयोगले अनुरोध गरेको छ ।

हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी उच्च माध्यमिक विद्यालयमा कायम गरिएको केन्द्रमा मतदान जारी छ । उपनिर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य ११० र वाग्मती प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाता छन् ।

निर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ कायम गरिएको छ । मतदातामध्ये प्रदेशसभा सदस्य पशुपति चौलागाईंको भने केही दिनअघि निधन भएको छ । केन्द्रमा प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि र कोभिड सङ्क्रमित मतदाताका लागि बेग्लाबेग्लै मतदानको व्यवस्था मिलाइएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

उपनिर्वाचनमा यसअघिका विभिन्न निर्वाचनमा जारी मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्र देखाएर मतदान गर्न सकिने छ । निर्वाचनमा नेकपा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र अन्य दलका तर्फबाट खीमलाल देवकोटा प्रतिस्पर्धामा छन् । त्यस्तै नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङले उम्मेदवारी दिएका छन् ।

यसैबीच निर्वाचन सकिनासाथ मतगणना हुने र नतिजा पनि आजै आउने आयोगले जनाएको छ । बेलुका ५ बजेबाट मतगणा हुनेछ । नेकपाबाट निर्वाचित गृहमन्त्री थापालाई दल त्यागसम्बन्धी कानूनका आधारमा नेकपा माओवादी केन्द्रले पदमुक्त गरेपछि रिक्त स्थानमा यो निर्वाचन भएको हो । वर्तमान संविधान कार्यान्वयमा आएपछि राष्ट्रियसभा सदस्यको पहिलो पटक उपनिर्वाचन भएको हो ।

प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुखका लागि फरक मतपत्र हुनेछ । फरक रङको मतपत्रमा चुनाव चिह्न भने एउटै राखिएको छ । मतदान केन्द्र र मतगणनामा खटिने गरी २४ कर्मचारी परिचालन गरिएको कार्यालयले जनाएको छ । नतिजा भर्चुअल माध्यमबाट उपनिर्वाचनको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन मिलाइएको छ ।