नेपालगन्ज विपी चोक स्थित गण्डकी भान्सा घरबाट निस्किँदै गरेका बर्दिया जिससका कर्मचारी (बाँया) । खाजा खानका लागि प्रयोग गरिएको जिसस बर्दियको गाडी (दायाँ) तस्विरः सेतोखरी
नेपालगन्ज: सुन्दा अचम्म लाग्न सक्छ । राज्यको कोष संरक्षण गर्ने अभिभार बोकेका जनप्रतिनिधी नै कोष दोहनमा सक्रिय देखिएकाछन् ।
मानौ तिनिहरुलाई नियमन गर्ने निकाय नै छैन । खाजा र नास्ता खानका लागि नै ३७ किलोमिटर दुरी पार गरेर गुलरियाबाट सरकारी गाडी प्रयोग गरि नेपालगन्जको विपी चोकमा आएका बर्दिया जिल्ला समन्वय समितिका जनप्रतिनिधी यसको पछिल्लो उदाहरण हुन् ।
विहीबार साँझ खाजा खानका लागि जनप्रतिनिधीको नेतृत्वमा उक्त कार्यालयका लेखापाल, ईन्जिनियर र ओभरसियर सहितको टोली नेपालगन्जको विपी चोक स्थित गण्डकी खाजा घरमा पसेको थियो । बिहीबार बेलुका करिब ६ बजेतिर गण्डकी होटल अगाडी रोकिएको बा१ झ ७२४८ नम्बरको सरकारी नम्बर प्लेटबाट मानौ कुनै चलचित्र स्टाईलमा झरेका जनप्रतिनिधी र सरकारी कर्मचारीले करिब दुई घण्टा उक्त होटलमा बिताएका थिए ।
सरकारी आचार संहिता र मापदण्ड उल्लङ्घन गर्दै सरकारी पोशाकमै रहेका दुई जना कर्मचारी र जनप्रतिनिधी त्यती लामो दुरी पार गरेर खाजा खानकै लागि नेपालगन्ज आउनुले उनीहरुले राज्य कोषमा चरम दुरुपयोग गरिरहेको प्रष्ट हुन्छ । नेपालगन्ज उपमहानगरपालिका अगाडीको पार्किङ्ग स्थलमा सो गाडी पार्क गरि उनीहरु गण्डकी होटलमा पसेको खबर पाए लगत्तै सरकारी गाडीको दुरुपयोग भएको भन्दै ट्राफिक प्रहरीले उक्त गाडीका चालकसंग सोधपुछ गरेको थियो । यस क्रममा चालकले बैठकमा आएको भन्दै उक्त गाडी सो पार्किङ्ग स्थलबाट नेपालगन्ज उपमहानगरपालिका भित्र छिराएका थिए ।
जनप्रतिनिधी र सरकारी कर्मचारी खाजा खानकै लागि सरकारी गाडीको दुरुपयोग गरेको चर्चा चलेपछि गण्डकी होटल भित्र रमाईरहेका जनप्रतिनिधी र कर्मचारी झटपट उठेर त्यहाँबाट भागेका थिए । खाजानै खानका लागि ३७ किलोमिटर दुरी पार गरि नेपालगन्ज धाउने जनप्रतिनिधी र सरकारी कर्मचारीलाई गुलरियामा भएका थुप्रै खाजाघरले कुरीकुरी गरेको छ । गुलरिया त्यसै पनि सुविधा सम्पन्न ठाउँ हो । नेपालगन्जमा पाइने धेरै सुविधाहरु गुलरियामै पनि पाइन्छन् । शैक्षिक, साँस्कृतिक, पर्यटकीय हिसाबले मात्रै नभई होटल रेष्टुराँहरु पनि उल्लख्य मात्रामा गुलरियामा छन् ।
गुलरियामा रेष्टुरेण्टमा पाइने सेकुवा, भुटन, छोइला, मःम लगायतका धेरै परिकारहरु नेपालगन्जकै तुलनामा स्तरीय र स्वादिष्ट पाइन्छन् भने सँगै अल्कोहलजन्य पदार्थ नपाउने कुरै भएन । तर, उस्तै खाजा खानका लागि सरकारी कर्मचारीदेखि जनप्रतिनिधि नेपालगन्ज आउनैपर्छ भन्ने छैन ।
खाजा खानकै लागि बर्दियाबाट सरकारी गाडीको दुरूपयोग गर्दै नेपालगन्ज आउनुपर्ने कारण नै छैन । तर, बर्दियाका सरकारी निकायका गाडीको दुरुपयोग वर्षौंदेखि यसरी नै हुँदै आएको छ । अझ नीति बनाउने र त्यसलाई कार्यान्वयन गराउने भूमिकामा रहेका उपल्लो तहका कर्मचारीबाटै सरकारी गाडी चरम दुरूपयोग हुने गरेको छ ।
पहुँचवालाले अनावश्यकरुपमा यसरी गाडी प्रयोग गरेर राज्य कोषमा आर्थिक भार थोपारिरहेका छन् । प्रस्ट मापदण्ड नभएकाले गाडी सुविधाका लागि दबाब दिने, नमाने सम्बन्धित कर्मचारीलाई सरुवा गरिदिनेजस्ता गैरजिम्मेवार कार्यसमेत कतिपय पदाधिकारी र कर्मचारीबाट हुने गरेका छन् ।
सवारीसधानको सदुपयोग वा दुरुपयोग भएको छ भन्नेवारे कुनै निकायले अनुगमन गरेको छैन । बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूङ्गवाङ्गले बिहीबार जिससका कुनैपनि व्यक्तिले प्रशासनबाट बाहिर जिल्ला जानका लागि गाडी प्रयोगको अनुमति नलिएको बताए । उनले यस विषयमा बुभ्mने र यदि कर्मचारीले नै त्यस्तो गरेको भेटिए कारबाही गर्ने सेतोखरीलाई बताए ।