नेपालगन्ज : पश्चिम नेपालका बजार तथा ग्रामीण बस्तीमा अबैद्य गुट्खाको कारोबार बढेको छ । जसमा मेघाश्री नाम गरेको गुट्खाले त राजश्व नै छली गरेर बिक्रि वितरण गर्दै आएको खुलेको छ । गुुट्खामध्येकै स्वास्थ्यका लागि सबैभन्दा हानिकारक मानिने मेघाश्रीले नेपालगन्ज र पश्चिम नेपालका बजारमा राजश्व छलेर बिक्रि गरिरहेकोछ ।
सरकारले आर्थिक वर्ष २०७१-०७२ देखि लागू हुने गरी सुर्तीजन्य पदार्थमा कडाई गरे पनि कार्यान्वयन पक्ष फितलो भएका कारण मेघाश्री गुट्खा तथा सुर्तीजन्य पदार्थको अबैध कारोबार मौलाउँदै गएको छ । सुर्तीजन्य ऐन २०६८ ले सार्वजनिक स्थानमा चुरोट, बिँडी, गुट्खा र कंकड सेवनमा रोक लगाएको छ । तर, कानूनमा व्यवस्था भएअनुसारको काम गुट्खा उत्पादकले पालना गरेको देखिँदैन । झन् अटेरी गरि त्यसको बिक्रिवितरणमा लागेकाछन् ।
पछिल्लो समय कैलालीबाट उत्पादन हुँदै आएको मेघाश्री र सुपर पावर भन्ने सुर्ती उद्योगले सरकारको कानूनी व्यवस्थाको खिल्ली उडाउँदै पश्चिम नेपालका बजार तथा गाउँमा कब्जा जमाएको छ । सरकारका सम्बन्धित निकायबाट समयमा बजार अनुगमन नहुँदा अहिले बजारमा राजश्व छलेर बिक्रि भइरहेको मेघाश्रीको खुलेयाम कारोबार भइरहेको छ । यसको पछिल्लो उदाहरणका रूपमा केही दिन अघि राजस्व छली गरि लैजाँदै गरेको १ सय ४० बोरा गुट्खा बरामद भएको थियो ।
कैलाली जिल्लास्थित श्रीदेउती गुट्खा इण्डष्ट्रिजबाट लक्ष्मी टेड्रिङ कोहलपुरमा उक्त गुट्खा पठाउन लागेको बील प्राप्त भएको कोहलपुर प्रहरीले बताएको छ । बरामद गरिएको मेघाश्रीको मूल्य अन्दाजी १२ लाख रहेको थियो । यसबाट पनि मेघाश्रीले अबैद्य रूपमा सरकारलाई राजश्व छलेर कारोबार अघि बढाएको स्पष्ट भएको छ ।
सहर तथा गाउँका चिया पसल, किराना पसल र होटलहरुमा समेत त्यस्ता खैनी तथा गुट्खाहरु बिक्रीवितरणको लागि राखेको भेटिन्छ । माग बढेसँगै अबैधरुपमा बिना स्टिकर उत्पादन भएका गुट्खा जहीँतहीँ भेटिन थालेका छन् । उक्त गुट्खा अहिले खुल्लमखुल्ला बिक्रीवितरण भइरहँदा समेत सरकारी निकाय मौन छ । चुप छ । स्वास्थ्यका दृष्टिकोणले एकदमै हानिकारक मानिएको उक्त मेघाश्रीका बारे बुझ्न खोज्दा श्रीदेउती गुट्खा इण्डष्ट्रिज गनापुरका ‘कनैपनि प्रतिनिधीसँग सम्पर्क हुन सकेन् ।