राष्ट्रपतिको असंवैधानिक कदमका विपक्षमा उभिन पत्रकार महासंघको अपील


राष्ट्रपतिको असंवैधानिक कदमका विपक्षमा उभिन पत्रकार महासंघको अपील

नेपालगन्ज ८ जेठ : नेपाल पत्रकार महासंघले प्रतिनिधिसभा विघटन जस्तो असंवैधानिक कदमका विपक्षमा उभिन अपील गरेको छ ।

महासंघले संविधानमाथि निर्मम प्रहार रोक्नका लागि प्रेस तथा अभिव्यक्ति र नागरिक स्वतन्त्रताका पक्षधरहरु असंवैधानिक कदमका विपक्षमा दृढताकासाथ एक ठाउँमा उभिन र लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि सहकार्य गर्न सबैमा अपील गरेको हो ।

प्रतिनिधिसभा विघटन गर्ने निर्णयले देशलाई गम्भीर संकटमा पारेको भन्दै ‘राष्ट्रपतिबाट संविधान बमोजिम वैकल्पिक सरकार बन्न सक्ने अवस्था विद्यमान रहँदा रहँदै मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गर्ने कदमले संविधान र संसदको हुर्मत लिने, लोकतन्त्रलाई गम्भीर संकटमा पार्ने काम गरेको नेपाल पत्रकार महासंघले जनाएको छ ।’

महासंघले राष्ट्रपतिले पछिल्लो दुई दिनमा चालेका कदम संविधान र संसदीय लोकतान्त्रिक मान्यताका विरुद्धमा भएको ठहर गर्दै जनतालाई संविधान प्रतिकूल चुनाव नभएर अहिले महामारीबाट बच्न उपचार, अस्पतालमा बेड र अक्सिजन चाहिएको अवस्थामा मध्यरातमा चुनावको सिफारिस गर्नु जालझेल पूर्ण कदम भएको बताएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

महासंघले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, यस्तो गम्भीर अवस्थामा जनताको उपचारमा ध्यान नदिएर सरकारले मध्यरातमा चुनावको सिफारिस गर्ने र सरकार बन्ने आधार हुँदाहुँदै सम्माननीय राष्ट्रपतिबाट चालिएको नेपालको परिवर्तनकारी आन्दोलनले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रसहितका व्यवस्था विरुद्धको प्रहार हो ।