नेपालगन्ज १० जेठ : नेकपा एमालेले बरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ ।
स्थायी कमिटीको आज बसेको बैठकले खनाल र नेपाल सहित विघटित संसदका ११ जना सांसदलाई निष्कासन गरेको हो ।
बैठकले शनिवार स्पष्टिकरण मागिएका झलनाथ, माधव र भीम रावलसहित ११ जनालाई पार्टीको अनुशासन उल्लंघन गरेको र विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको अभियोगमा निष्कासन गरेको छ ।
निष्कासनमा पर्नेमा समानुपातिकबाट सांसद बनेका रामकुमारी झाँक्री, मुकुन्द न्यौपाने, कलिला खातुन, सरला यादव, पुष्पाकुमारी कर्ण, निरादेवी जैरु, पुष्पा कर्ण कायस्थ र कल्याणी खड्का समेत छन् ।
एमालेले उनीहरुलाई स्पष्टीकरण सोधेको तथयो । तर उनीहरुले जवाफ नै दिएका थिएनन् । यस्तै बैठकले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने थप १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।