शहरमा बस्नेलाई आरोप लाग्ने गर्छ । त्यो हो ‘गाउँमा जन्मे हुर्केका भन्दा मानविय समवेदना र सामाजिक कार्य एवम् समाजसेवाको भावना शहरीयामा कम हुन्छ भन्ने । हुन पनि शहरमा बस्नेहरु गाउँमा बस्नेको तुलनामा काममा ब्यस्त हुन्छन् । उनीहरुलाई अनेक थरिका चुनौतीको सामना गर्नुपर्ने हुन्छ । एकअर्कासँग चिनजान गर्ने फुर्सद नभएकोले गाउँमा बस्नेहरुले शहरमा बस्नेलाई स्वार्थीको संज्ञा दिन्छन् । सँधैजसो काममा ब्यस्त हुने भएकोले शहरमा बस्नेहरुलाई समाज सेवा र एक अर्काको बारेमा सोँच्ने फुर्सद हुँदैन ।
तर, पश्चिम नेपालको सबैभन्दा ठूलो एवम् औद्योगिक नगरी नेपालगन्जमा जन्मिएका प्रमोद रिजालमा उक्त कुरा लागू हुँदैन । विद्यार्थी कालदेखि समाजसेवामा समर्पित छन् ।
सानै उमेरमा धम्बोझी क्लवमा आवद्ध उनी समाजसेवामा समर्पित भएकै कारण नेपालगन्ज उपमहानगरालिका वडा नं. १ को वडा अध्यक्षमा सहजै विजयी भए । त्यो पनि धेरै मत प्राप्त गरेर । काम, पारदर्शि, सामाजिक भएरै होला रिजाल नेपालगन्ज उपमहानगरपालिकाको पपुलर वडाध्यक्ष बनोका छन् । जनताको कामलाई झन्झट बिना सजिलो बाटोबाट तुरुन्तै समाधान गर्ने वडाध्यक्ष रिजालको बिशेषता हो । त्यसैले त रिजालमा भएको सबैखाले बिशेषता देखेर एमालेबाट चुनाव लडेर वडाध्यक्ष बनेका रिजाललाई राप्रपाबाट मेयर बनेका डा.धवल शमशेर राणाले उपमहानगरको प्रवक्ता बनाएकाछन् ।
प्रसंग बदलौ उनको विगतको । समाजसेवामा समर्पित रिजाल राजनीतिमा पनि सक्रिय छन् । राजनीतिमा कसरी प्रवेश गरे उनलाई नै थाहा छैन । नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनकै क्रममा विद्यार्थी राजनीति गरे । नेपालगन्जका रैथाने विद्यार्थीका विरुद्धमा आवाज उठाउँदा उठाउँदै राजनीतिमा लागेको उनले बताए ।
उनी पढ्ने बेला बाहिरी जिल्लाबाट अध्ययनका लागि नेपालगन्ज आएका विद्यार्थीलाई नेपालगन्जीया विद्यार्थीले हेपाहा दृष्टिले हेर्ने गर्दथे । बाहिरबाट आएका विद्यार्थीको खाजा खोसेर खाई दिने, खाजा खुवाउन दवाव दिने, कुटपिट गर्ने, छात्रबासमा बस्न नदिने जस्ता हर्कतको विरुद्ध आवाज उठाउने क्रममा राजनीतिमा प्रवेश गरेको उनले सुनाए । ‘बाहिरबाट आएका विद्यार्थीलाई दिएको दुःख सहन नसकेर म अनेरास्ववियूको राजनीतिमा सामेल भएँ,’ उनले विगतलाई सम्झिदै भने ।
अनेरास्ववियूमा आवद्ध धम्बोझीका प्रमोद धिताललाई नेपाल विद्यार्थी संघका नेताले कुटपिट गरिरहेका बेला प्रतिरोध गरेर ज्यान जोगाएको थिए । क्याम्पसमा हुने अन्याय र अत्याचारका विरुद्ध आवाज उठाए । ‘मेरै टोलको विद्यार्थीलाई घिसार्दै लगेको देखेपछि सहन नसकेर प्रतिरोध गरेँ, त्यसको फलस्वरुप प्रमोद धिताल कुटपिट हुनबाट जोगिनु भयो,’ उनले भने ।
विद्यार्थी राजनीति गर्ने क्रममा उनले प्रजातन्त्र र लोकतन्त्र प्राप्तिका आन्दोलनमा प्रत्यक्ष रुपमा आन्दोलनमा सहभागी भए । आन्दोलनका क्रममा उनले प्रहरीको लाठी र बुटको सामना गर्नु परेको बताए । ‘लोकतान्त्रिक गणतन्त्रका लागि भएको आन्दोलनका क्रममा नेपालगन्जबाट काठमाडौँसम्म पुगेँ,’ उनले भने ।
वडा अध्यक्षमा विजयी हुन कसरी सम्भव भयो ?
हुने विरुवाको चिल्लो पात भने झैँ प्रमोद रिजालमा सानैदेखि उनको रगतमा समाजसेवाको भावना जागृत भएको थियो । टोल छिमेकमा आउने समस्याका बारेमा बुझ्दै हिड्थे उनी । टोलको विकास, निर्माणमा उनले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहभागी हुने गर्दथे । धम्बोझी क्लवमा आवद्ध भएदेखि उनले टोलको विकासमा सक्रिय भूमिका निर्वाह गरे ।
क्लवकै सक्रियतामा बाटो, जेष्ठ नागरिक पार्क निर्माण भएको उनले बताए । उनकै सक्रियतामा धम्बोझीमा कब्जा भएको सरकारी जमिन फिर्ता गराएर जेष्ठ नागरिक पार्क निर्माण गर्न उनी सफल भए । वाटरपार्क पुनः निर्माणका लागि ६ करोड रुपैयाँ ल्याउन सफल भएका उनकै सक्रियतामा वाटरपार्क नजिक चार कट्ठा ऐलानी खोजेर ब्याडमिन्टन एकेडेमी सहित इन्डोर गेम संचालनका लागि भवन निर्माण तयारी भएको छ । उनकै सक्रियतामा भारतीय पूजारीको मिलोमतोमा भूमाफियाले कब्जा गर्ने उद्देश्यले टहरा बनाई विक्रीका लागि तयारी गरिरहेका बेला हटाएर धम्बोझी माविको जमिन संरक्षण गर्न सफल भएको थियो । उक्त जमिनमा अहिले धम्बोझी माविको भवन छ ।
उनी विकास, निर्माण जस्तै आफ्नो वडाबासीको समस्यामा पनि साथ दिँदै आएका छन् । त्यसैले उनी प्रमोद रिजालभन्दा समाजसेवीका रुपमा चिनिन्छन् । पेशाले कानून ब्यवसायी भए पनि उनले कहिल्यै पैसाको मुख नताकेको बताउछन् । एनजिओमा लामो समय ग्रामिण भेगमा रहेर काम गरेका रिजालाई विकास निर्माण बारे राम्रो ज्ञान रहेको छ । ‘पैसा कमाउनतर्फ लागेको भए मैले धेरै कमाई सक्थे, तर पैसाभन्दा समाजसेवालाई मैले सर्वोपरि ठानेर काम गर्दै आएको छु,’ उनले भने ।
प्रमोदको नाम वडाअध्यक्षको अग्रपंतिमा किन आउँछ ?
प्रमोद गएको स्थानीय निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिका–१ बाट विजयी भए । उनले धेरै राम्रा योजना वडामा ल्याएका कारण नेपालगन्ज उपमहानगरपालिकाका २३ वटा वडाअध्यक्ष भन्दा उनको नाम सवैभन्दा अग्रपंक्तिमा आउने गरेको छ । उनी वडा नं. १ जस्तै वडा अध्यक्ष मध्येमा पनि एक नम्बरमै गनिने गरेका छन् । उनले आफ्नो वडाको विकासका लागि महत्वाकांक्षी योजना ल्याएर वडाबासीको मन जित्न सफल भएका छन् ।
नगर प्रमुखको जिम्मेवारी समेत सम्हालीसकेका उनी कहिल्यै रिसाउँदैनन् । कुटनीतिक रुपमा बोल्दा तौलेर मात्र बोल्ने प्रमोद जस्तोसुकै परिस्थितिमा पनि हाँसेर बोल्ने गर्दछन् । जस्तोसुकै समस्याबाट पछि नहटने र कुनै पनि विवादास्पत बिषय आएमा अगाडी सरेर समाधान गर्ने रिजालको अर्को बिषेशता हो ।
के–के छन् उनको वडामा योजना ?
उनले वडाबासीको स्वास्थ्य सुधारका लागि अर्गानिक तरकारी उत्पादनमा जोड दिएका छन् । उनले वडा नं. १ मा एक घर एक करेसाबारीको नीति ल्याएर २५० घरमा एक घर एक करेसाबारीको कार्यक्रम संचालन गरेका छन् । ‘तरकारी उत्पादनका लागि कृषकलाई जैविक मल, विउविजन र तरकारी उत्पादनमा प्राविधिक सहयोग प्रदान गरेका छौँ,’ उनले भने ।
हरित वडा बनाउन उनले वडा नं. १ का मुख्य सडकका पेटीमा चार सय वटा गमलामा फुल रोप्ने कार्यक्रम तय गरेका छन् । सरसफाईलाई पहिलो प्राथमिकतामा राखेका उनले सरसफाईका लागि ट्याक्टर खरिद गरि बैशाख पहिलो साताबाट वृहत सरसफाई अभियान चलाउने भएका छन् । रोडको दुवैतर्फ सात–सात मिटरको दूरीमा गमला राख्ने उनले बताए । ‘गमलामा फुल र विरुवा रोपेर वडालाई हरियो बनाउने योजना छ,’ उनले आफ्नो वडामा भएका योजनाको बेलीविस्तार लगाउँदै भने ।
पाँच बर्षभित्र वडा नं. १ का सबै सडक कालोपत्रे गर्ने योजनामा उनी छन् । खेलकुदलाई स्वास्थ्यसँग जोडेर ८ देखि १२ बर्षमुनीका खेलाडीका लागि धम्बोझीमा ग्रासरुट फुटवल एकेडेमी संचालन गरेका छन् । सानै उमेरदेखि खेलमा रुची जगाई खेलाडी उत्पादन गर्ने अभियानमा छन् उनी ।
उनले व्रिटिस र इन्डियन आर्मीमा जाने यूवालाई लक्षित गरि धम्बोझीस्थित मन्दिरको जमिनमा तालिम संचालन गर्ने ब्यवस्था मिलाएका छन् । वाटरपार्क सँगै रहेको जमिनमा चिल्ड्रेन पार्क निर्माणका लागि दुई करोड बजेट ल्याएका छन् । जेष्ठ नागरिकको स्वास्थ्य सेवालाई मध्यनजर गरि वडामा स्वास्थ्य चौकी स्थापना गरिरहेका छन् । भने, बालमैत्री शासनका लागि योजना बनाएका छन् । वडालाई उज्यालो बनाउन वडाका सवै पोलमा विजुलीको ब्यवस्था गरेका छन् । उनले घर–घरमा गएर जेष्ठ नागरिकको स्वास्थ्य जाँच गर्ने नीति पनि अघि सारेका छन् ।
प्रमोद कुन–कुन सार्वजनिक पदमा बसे
झण्डै १६–१७ बर्षको उमेरमा धम्बोझी क्लवमा आवद्ध भएका प्रमोद रिजाल १२ बर्षसम्म क्वलको अध्यक्ष भए । महेन्द्र बहुमुखी क्याम्पसबाट विएल गरेका उनी विद्यार्थी राजनीति गर्ने क्रममा महेन्द्र बहुमुखी क्याम्पसको स्ववियू सभापति पदमा उम्मेदवार भए । तर जित्न सकेनन् ।
पुनरावेदन अदालत बार एशोसियशनको एक कार्यकाल कार्यसमिति सदस्य भएका उनी गैरसरकारी संस्था महासंघ बाँकेको सचिव हुँदै २०७३ सालमा अध्यक्ष भएर काम गरे ।
उनी सामाजिक कार्यका लागि भेरी बातावरणिय विशिष्टता समूह (वी ग्रुप) मा झण्डै ८ बर्ष काम गरे । गैरसरकारी संस्था महासंघको अध्यक्ष भएकै बेला स्थानीय निर्वाचनमा विजयी भए पछि उनी वडाअध्यक्षको भूमिका निर्वाह गरिरहेका छन् । उनले समाजिक सेवा र राजनीति उस्तै देखिए पनि फरक अनुभव भएको बताए । ‘राजनीति र समाजसेवा धेरै फरक पाटो रहेछ,’ उनले भने ।