बाँकेले पायो कुल ३ अर्ब ९२ करोड ३६ लाख बजेट

सबैभन्दा बढि नेपालगन्ज उपमहानगरपालिकालाई ९४ करोड बढि बजेट


बाँकेले पायो कुल ३ अर्ब ९२ करोड ३६ लाख बजेट

नेपालगन्ज १६ जेठ : सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि झण्डै ४ खर्ब रुपैयाँ प्रदेश र स्थानीय तहमा हस्तान्तरण गरेको छ । सरकारले सघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी चार प्रकारका अनुदान प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्छ ।

आगामी वर्ष ३ खर्ब ८६ अर्ब ७१ करोड ७२ लाख रुपैयाँ वित्तीय हस्तान्तरणका माधयमबाट तल्लो सरकारमा जाने भएको छ ।

यसमध्ये प्रदेशमा १ खर्ब ३ अर्ब ७० करोड र स्थानीय तहमा २ खर्ब ८३ अर्ब १ करोड रुपैयाँ वित्तिय हस्तान्तरणका माध्यमबाट गएको छ ।

यसरी गएको रकममध्ये गाउँपालिकामा १ खर्ब ३९ अर्ब १९ करोड, नगरपालिकामा १ खर्ब २३ अर्ब ९६ करोड, उपमहानगरपालिकामा ९ अर्ब ७६ करोड र महानगरपालिकाहरुमा १० अर्ब ९ करोड रुपैयाँ हस्तान्तरण भएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

यसैबीच सरकारले सार्वजनिक गरेको बजेटमा बाँके जिल्लालाई कुल ३ अर्ब ९२ करोड ३६ लाख बजेट विनियोजन गरेकोछ । जसमा चालुतर्फ ३ अर्ब ५२ करोड २२ लाख र पुँजीगत तर्फ ४० करोड १४ लाख गरि जम्मा ३ अर्ब ९२ करोड ३६ लाख रुपैयाँ विनियोजन गरिएको हो ।

बाँके जिल्लालाई विनियोजन गरिएको कुल बजेट मध्ये समानिकरण अनुदानतर्फ १ अर्ब ३८ करोड ८६ लाख, सर्शत अनुदान २ अर्ब ३० करोड ५६ लाख, विशेष अनुदान १० करोड ९३ लाख तथा समपुरक अनुदान तर्फ १२ करोड एक लाख प्रदान गरिएको छ ।

बाँकेका एक उपमहानगरपालिका, एक नगरपालिका र ६ गाउँपालिकामा सबैभन्दा बढि बजेट नेपालगन्ज उपमहानगरपालिकालाई छुट्याइएको छ । नेपालगनज उपमहानगरपालिकालाई कुल ९४ करोड ६१ लाख बजेट विनियोजन गरिएको छ । भने दोस्रोमा कोहलपुर नगरपालिकालाई ५५ करोड ९ लाख बजेट छुट्याइएको हो ।

त्यसैगरि गाउँपालिकामै सबैभन्दा बढि खजुरा गाउँपालिकालाई बजेट विनियोजन गरिएको छ । यहाँ ४९ करोड ८४ लाख बजेट विनियोजन गर्दा दोस्रोमा राप्ती सोनारी गाउँपालिकालाई ४७ करोड २४ लाख बजेट विनियोजन गरिएकोछ ।

यस्तै बाँकेका बैजनाथ गाउँपालिकालाई ४६ करोड ५५ लाख, डुडुवा गाँउपालिकालाई ३६ करोड १५ लाख, नरैनापुर गाउँपालिकालाई ३२ करोड १० लाख र जानकी गाउँपालिकालाई ३० करोड ७८ लाख बजेट विनियोजन गरिएकोछ ।