प्रादेशिक महोत्सवको आयब्यय खोई ?


प्रादेशिक महोत्सवको आयब्यय खोई ?

नेपालगन्ज: नेपलागन्जमा सभागृह निर्माणको निहुँमा पटक पटक मेला महोत्सव लाग्दै आएका छन् । करिब एक महिना अघि पनि नेपालगन्ज उद्योग बाणिज्य संघले यहि निहुँमा प्रादेशिक महोत्सव आयोजना गरेको थियो ।

मेला सकिएको एक महिना भएको छ । तर, उक्त महोत्सव आयोजक संघले अहिलेसम्म मेलामा भएको आर्थिक खर्च तथा आम्दानीको कुनै विवरण सार्वजनिक गरेको छैन् । विगतमा लगाईएका मेला महोत्सवको रकम हिनामिना गरेको आरोप खेप्दै आएको नेपालगन्ज उद्योग बाणिज्य संघले पछिल्ले महोत्सवको आयव्यय सार्वजनिकमा समेत उदासिनता देखाएको छ ।

आफूलाई एकदमै पारदर्शीको संज्ञादिने संघका अध्यक्ष नन्दलाल बैश्यले विगतका महोत्सवको लेखाजोखा राखेका छैनन् । यति मात्रै होइन उनीसँग पछिल्लो महोत्सवको समेत पारदर्शी आयव्यय विवरण नभएको संघ निकट एक स्रोत बताउँछ । नेपालगन्जमा २०७५ फागुन १९ गते २९ गतेसम्म उक्त मेला चलेको थियो । सडक डिभिजन कार्यालय कारकाँदोमा संचालित प्रादेशिक महोत्सव २०७५ अहिलेसम्मकै उत्कृष्ट महोत्सव भएको संघका केही अगुवाहरूले दाबी गरेपनि महोत्सव सकिएको एक महिनासम्म पनि हिसाबकिताब सार्वजनिक नगर्नुले उक्त महोत्सवका निहुँमा पनि आर्थिक चलखेल भएको अनुमान गर्न सकिन्छ ।

तीन सय स्टल रहेको भनिएका उक्त महोत्सवमा नेपाल बाहेक पाँचवटा देशका स्टल पनि राखिने महोत्सव शुरूअघि संघले बताएको थियो । ती स्टलबाट मात्रै कति आमदानी भो यसको विवरण मात्रै पनि संघले दिन सकेको छैन् । स्थानीय उत्पादन प्रवद्र्धनको उद्देश्यले आयोजना गरिएको महोत्सवबाट प्राप्त हुने मुनाफा संघले बहुउद्देश्यीय सभा गृह र व्यवसायिक हितका लागि प्रयोग गर्ने भनिएको थियो ।

यद्दपी महोत्सवमा ५० लाख बचत गर्ने लक्ष्य राखिएको थियो । तर, कति लाख बचत भयो वा घाटा भयो यसको विवरण एक महिनासम्म पनि संघले तयार पार्न नसक्नु यो भन्दा अर्को लज्जास्पद कुरा के हुन्छ । महोत्सव २ लाख बढी अवलोकनकर्ता भित्र्याउने योजना थियो । महोत्सव अवधी भरमा कति संख्यामा दर्शकले मेला अवलोकन गरे । स्वदेशी कति, विदेशी कति, स्थानीय कति संघसँग यसको कुनै रेकर्ड नभएको बताईएको छ ।

महोत्सव अवधी भरमा संघले विभिन्न सञ्चारमाध्यममा दामासाही रूपमा रकम खर्च गरेको थियो । संघ स्रोतकाअनुसार दर्ता नभएका अबैद्य अनलाइन र औशी पूर्णिमामा प्रकाशित हुने पत्रपत्रिकामा समेत विज्ञापन प्रकाशन÷प्रसराण खर्च नीति विपरित संघले रकम बाँडेको खुल्न आएको छ । संघका अध्यक्ष बैश्यको पापड बेल्दै जयजयकार गर्ने दर्ता्हिन अनलाइनलाई विज्ञापन वापत भनेर नीति विपरित रकम खर्च गरेको खुलेको छ । स्रोतका अनुसार उक्त रकमखर्चको यकिन विवरण समेत संघसँग छैन् ।

नेपालगन्ज उद्योग बाणिज्य संघका उपमहासचिव तारा खत्री रोकायसँग बुझदा संघले आयव्ययको विवरण सार्वजनिक नगर्नुको कारण के रछ भनेर सोध्दा उनले केही बताउँन चाहिनन् । संघका अध्यक्ष नन्दलाल बैश्यले प्रादेशिक महोत्सवको आयव्ययको हिसाबकिताब भइरहेको बताएका छन् । उनले खर्चको विवरण संकलन चलिरहेकोले आयव्यय सार्वजनिक गर्न अझै एक महिना लाग्ने बताए।