नेपालगन्ज : बाँकेको नरैनापुर गाउँपालिकाले स्थानीय तहहरुमा जिल्लामै पहिलो पटक सहभोज गरेको छ । जातीय छुवाछुत अन्त्यका लागि अभियान थालेको गाउँपालिकाले दलित सेवा संघ नरैनापुर, बाँके र तराई दलित विकास मञ्च बाँके संगको सहकार्यमा बुधबार वडा नम्बर ४ नरैनापुरमा सहभोज गरेको हो ।
स्थानीय दलित र गैर दलितलाई एकै थलोमा राखेर गाउँपालिकाले सहभोज गरेको हो । जातीय छुवाछुत र आपसी विभेद अन्त्यका लागि सोचमा परिवर्तन ल्याउने उद्देश्यले सहभोज गरिएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए ।
सहभोज कार्यक्रममा बोल्दै बाँके क्षेत्र नम्बर १ का संघीय सांसद् महेश्वरजंग गहतराज ‘अथक’ले संविधानले नै निषेध गरेको जातीय विभेद र छुवाछुत अन्त्यका लागि गाउँपालिकाले थालेको अभियान सराहनीय भएको बताए । प्रदेश सभा सदस्य कृष्णा केसी ‘नमुना’ले जातीय छुवाछुत र विभेद अन्त्यका लागि मानसिकतामा परिवर्तन जरुरी रहेको बताइन् ।