नेपालगन्ज : बाँके अदालतले विप्लवका कार्यकर्ता भनिएका कोहलपुर ११ एकतानगर निवासी दानबहादुर फडेरालाई तारेखमा रिहा गरेको छ । हुम्ला स्थायी घर भएका फडेरालाई विप्लवको कार्यकर्ता भएको भन्दै यसअघि प्रहरीले पक्राउ गरि मुद्दा चलाएको थियो ।
अदालतमा आईतबार भएको बहसपछि फडेरालाई अदालतले तारेखमा रिहा गरेको हो । रिहा भए लगत्तै बाँकेका प्रहरी प्रमुख एसपी अरूण पौडेलको निर्देशनमा अदालत परिसरबाट पक्राउ गर्ने प्रहरी योजनालाई विफल बनाउँदै फडेरा सुरक्षाको मागसहित राष्ट्रिय मानव अधिकार आयोगको नेपालगन्जस्थित प्रदेश शाखा कार्यालय पुगेका थिए ।
आयोगको संरक्षणमा रहेका फडेरालाई बाँके प्रहरीले आईतबार दिउँसो आयोगको कार्यालय घेराउ गरेको छ । अदालत परिसरमै पक्राउ गर्न लागेको खबर पाए लगत्तै आयोगको टोलीले अनुगमन गरेको आयोगका नेपालगन्ज शाखा प्रमुख चन्द्रकान्त चापागाईले बताए । उनकाअनुसार आयोगको अनुगमनसँगै फडेरा आयोगमा सुरक्षा माग्न आउनु भएको छ । हामीले सुरक्षित रूपमा आयोगमै राखेका छौं उनले भने ‘फडेरालाई पक्राउ गर्ने भन्दै प्रहरीले बाहिर आयोग घेरिरहेको छ ।’
आयोग नै यसरी प्रहरीको घेराउ पर्नु सकारात्मक नभएको भन्दै चापागाईले भने ‘यस बिषयमा बाँकेका प्रहरी प्रमुखालई जानकारी गराएको छु । उहाँबाट केही कुरा आएको छैन् ।’ यो समाचार तयार पार्दासम्म (करिब ५ बजेर ४५ मिनेट) सम्म प्रहरीले आयोगको कार्यालयमा घेराउ गरिरहेको छ । यता बाँके प्रहरी प्रमुख एसपी अरूण पौडेललाई यस बिषयमा बुझ्न टेलिफोन गर्दा एसपी पौडेलसँग सम्पर्क हुन सकेको छैन् ।