नेपालगन्ज : अख्तियारले निगरानी बढाएसँगै सातवटै प्रदेशमा रहेका मालपोत कार्यालय कर्मचारीविहीन बन्दै गएका छन् । प्रदेश पाँचमा ३ सय ३४ दरबन्दीमा १ सय ६६ रिक्त छन् । ३३ जना समायोजनमा गएका छन् ।
प्रमुख मालपोत अधिकृत (उपसचिव) का रुपमा रहने कार्यालय प्रमुखको त्यस्तै अभाव छ । प्रदेश पाँचमा ८ मध्ये ५ जना मात्रै छन् । मालपोत कार्यालय बाँकेका प्रमुख प्रेम दौल्याल कर्मचारी अभावमा मालपोतको काम प्रभावित भएको बताउँछन् ।
सरकारले गएको वर्षभित्र मुक्त कमैया र हलियाको पुनःस्थापना सक्ने घोषणा गरेका थियो तर कर्मचारी अभावमा दुवै काम नसकिने भएको उनको भनाई छ । भ्रष्टाचार र अनियमिततामा बदनामी कमाएको मालपोत कार्यालयमा कर्मचारी आकर्षण घटेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारबाहीमा पर्न थालेपछि कर्मचारीले मालपोत रोज्न छाडेका हुन् । कर्मचारी घट्दै गएपछि मालपोत कार्यालयमा काम प्रभावित हुन थालेको छ ।
भ्रष्टाचारमा मुछिएका बाँकेका दशसहित देशभरका १ सय ३० जना कर्मचारी अख्तियारको कारबाहीपछि निलम्बनमा छन् । देशभरका मालपोत कार्यालयमा कर्मचारीमाथि अख्तियारले निगरानी गरेको छ । अख्तियारको प्रतिवेदनमा सबैभन्दा धेरै भ्रष्टाचार हुने सम्भावित क्षेत्रमा मालपोतलाई इंगित गरेको छ । यस्तै १ सय ९६ जना कर्मचारी मालपोत छाडेका छन् । उनीहरू कर्मचारी समायोजनमा अन्यन्त्र गएका छन् ।
भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार कुल एक हजार नौसय आठ दरबन्दी रहेको मालपोतमा ८ सय ८६ कर्मचारी रिक्त छन् । बाँकेमा मात्रै २२ जना कर्मचारी छैनन् । प्रमुख मालपोत अधिकृत (उपसचिव) को ५९ दरबन्दीमा ३५ जना रिक्त छन् । जसमा चार जना बाँकेमा खाली छ । ७५ जना मालपोत अधिकृत रिक्त छन् जसको २ सय ४९ दरबन्दी हो । सेवा प्रवाहका लागि आवश्यक नायब सुब्बा र खरिदारको अवस्था पनि त्यस्तै छ । मालपोतमा ७ सय ९४ नासु दरबन्दीमध्ये ३ सय २० जना रिक्त छन् । ४ सय ४ जना खरिदार रिक्त छन् । खरिदारको दरबन्दी ८ सय ६ हो ।