शनिबार, साउन १६, २०७८   ११:१२:००

‘देउवालाई विश्वासको मत दिन एमाले सांसदहरुलाई आह्वान’

नेकपा माओवादी केन्द्रले पनि विश्वाको मत दिने निर्णय


सेतोखरी   2078-04-03

नेपालगन्ज ३ साउन : नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन एमाले सांसदहरुलाई आह्वान गरेका छन् ।

भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत खनालले आईतबार विज्ञप्ति जारी गर्दै आफ्नो पनि मत देउवालाई नै रहेको उल्लेख गरेकाछन् ।

‘म नेकपा एमालेका संसदीय दलका सम्पूर्ण माननीय सदस्यहरुलाई कुनैपनि प्रकारको अलमल र आक्रोशबाट प्रभावित नभइकन देउवा सरकारलाई विश्वासको मत दिन हार्दिक आग्रह गर्दछु’ उनले भनेका छन्, ‘मेरो मत पनि विश्वासको मत लिँदा देउवा सरकारकै पक्षमा हुने कुरा पनि यो वक्तव्यमार्फत प्रष्ट पार्न चाहन्छु ।’

आईतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदैछन् । नेकपा एमालेको २६ सांसदसमेत १४९ सांसदको समर्थनमा धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी पेश गरेका उनलाई सर्वोच्च अदालतको आदेशपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी थिइन् ।

खनालले सर्वोच्च अदालतको फैसलापछि लोकतान्त्रिक आन्दोलनका सहयोद्धा देउवाको नेतृत्वमा सरकार बनेको भन्दै यो सरकार दुई वर्षसम्म निर्वाध चल्नुपर्ने बताए । ‘यो सरकार सबै लोकतान्त्रिक, देशभक्त, प्रगतिशील र वामपन्थीहरुको समेत साझा सरकार बन्नुपर्छ’ उनले भनेका छन् । सरकारले विश्वासको मत नपाए मुलुक फेरि संकटमा पर्ने पनि खनालले बताएका छन् ।

यसैबीच, नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ ।

आईतबार सिंहदरबारस्थित दलको कार्यालयमा बसेको नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो ।

आज अपरान्ह ४ बजे आह्वान गरिएको संसद अधिवेशनमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने कार्यक्रम तय गरिएको छ । माओवादी केन्द्रसँग ५३ जना सांसद रहेकोमा सभामुख अग्निप्रसाद सापकोटाले मत दिन पाउँदैनन् भने लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरीले दल परिवर्तन गरेको भन्दै माओवादी केन्द्रले हटाइसकेको छ । हाल माओवादी केन्द्रका सभामुखबाहेक ४८ जना सांसद रहेका छन् ।