प्रहरीद्वारा ठाडो मानव अधिकार हनन्

दादागिरीशैलीमा फडेरा सिडिओ अफिसबाटै पक्राउ


प्रहरीद्वारा ठाडो मानव अधिकार हनन्

जिल्ला प्रशासन कार्यालय बाँके परिसरबाट फडेरालाई पक्राउ गरि लगिदै । तस्विरः विजय मल्ल/सेतोखरी

नेपालगन्ज : बाँके प्रहरीले मानव अधिकारको ठाडो हनन् गरेको छ । राष्ट्रिय मानव अधिकार आयोगको संरक्षणमा रहेका कोहलपुर नगरपालिका ११ निवासी दानबहादुर फडेरालाई जिल्ला प्रशासन कार्यालय परिसरबाटै प्रहरीले दादागिरीशैलीमा पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक सन्तोष बुढा र वडा प्रहरी कार्यालयका सई माधव रिजालको नेतृत्वमा आएको प्रहरीले मानवअधिकारको हनन् गर्दै दादागिरीशैलीमा सहमति विपरित फडेरालाई जर्बरजस्ती पक्राउ गरेको हो ।  जिल्ला अदालत बाँकेले निर्दोष ठहर गर्दै साधारण तारेखमा रिहा गरेका फडेरा आफूलाई असुरक्षित महशसु गर्दै विगत तीन दिनदेखि मानव अधिकार आयोगको नेपालगन्ज्स्थित कार्यालयमा बसेका थिए ।

यस क्रममा कोहलपुरका डिएसपी रमेशबहादुर सिंहको कमाण्डको टोलीले आईतबार रातीदेखि आयोगको कार्यालय घेराउ गर्दै आयोगका कर्मचारीलाई समेत धम्की दिएको आयोगका नेपालगन्ज शाखा प्रमुख चन्द्रकान्त चापागाईले बताए । उनकाअनुसार राष्ट्रिय मानवअधिकार आयोगको निर्देशनपछि आयोग नेपालगन्जको सक्रियतामा बाँकेलाई प्रमुख जिल्ला अधिकारी मदन भुजेल र प्रहरी प्रमुख अरूण पौडेललाई मंगलबार फडेरालाई सकुशल घर पु¥याउन सहमति सहित जिम्मा लगाईएको थियो ।

इन्सेक प्रदेश पाँचका संयोजक भोला महतसहित एक दर्जनबढी अधिकारकर्मी र पत्रकारको रोबहरमा प्रजिअ भुजेलले घर पु¥याउन एसपीलाई आदेश दिका थिए । तर, त्यसको केही समयमै घर जान लागेका फडेरालाई वडा प्रहरी कार्यालय नेपालगन्जबाट सादा पोशाकमा खटिएका सई माधव रिजालको टोलीले मानवअधिकारको उल्लघंन गर्दै फडेरालाई पुनः पक्राउ गरेको चापागाई बताउँछन् ।

उनकाअनुसार अदालतले रिहा गरिसकेका र आयोगले सिडिओको जिम्मा लगाएका फडेरालाई दादागिरी ढंगले अपहरणको शैलीमा जर्बरजस्ती पक्राउ गर्नु मानवअधिकारको ठाडो हनन् भएको छ । फडेरालाई पक्राउ गर्दा सई रिजालको निर्देशनमा सादा पोशाकमा रहेका महिला प्रहरीले फडेराकी श्रीमतिलाई समेत हातपात गरेको प्रत्यक्षदर्शी बताउँछन् । उक्त घटनाको मानवअधिकार आयोग, इन्सेक लगायतका अधिकारवादी संस्थाले घोर आपत्ति तथा निन्दा गर्दै तत्काल रिहाको माग गरेका छन् ।