१४ दिनको अन्तरमा ढल्यो कन्या स्कुलको दुई पुस्ता

रहेन कन्या शिक्षामा समर्पित चटर्जी परिवार


१४ दिनको अन्तरमा ढल्यो कन्या स्कुलको दुई पुस्ता

नेपालगन्ज ६ भदौ : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– १० स्थित कन्या विद्यालय (सरस्वती मावि) यतिबेला शोकमा डुबेको छ । विद्यालय स्थापनाको सुरुवाती चरणकी शिक्षिका मध्यकी एक थिईन रेणुका चटर्जी । शिक्षिका चटर्जीसंगै उनकी छोरी रुपा चटर्जी पनि यसै विद्यालयकी शिक्षिका थिइन् । यसरी विद्यालय स्थापनाकालदेखी एउटै विद्यालयमा कार्यरत (आमा र छोरी) दुई पुस्ता बिरलै भेटिन्छन् ।

नेपालगन्जको पहिलो कन्या स्कुल सरस्वती मावि हो । भर्खरै मात्र सञ्चालनमा आएको दोश्रो कन्या विद्यालय सल्यानीबागमा छ । सरस्वती माविमा २० वर्ष सेवा गरेर वि.सं २०४९ पौष २० गते रेणुकाले अवकाश प्राप्त गरेकी थिइन् । उनको बिडोँ धानीरहेकी छोरी रुपा आगामी २०८१ सालमा सेवा निवृत्त हुदैँ थिइन् ।

तर, कोरोना संक्रमणले गत वैशाख १ गते ५७ वर्षको उमेरमा रुपाको मृत्यु भयो । उनको मृत्यु भएको १३ दिनमा आमा रेणुकाको पनि ८८ वर्षको उमेरमा मृत्यु भयो । चटर्जी परिवारमा फेरी अर्को घटना घट्यो । हर्ट अट्याकका कारण बैशाख १४ गते रुपाका भाई सञ्जय चटर्जीको पनि मृत्यु भयो । १४ दिनको अन्तरमा चटर्जी परिवारका आमाछोरा र छोरी गरी ३ जनाको मृत्यु भयो ।

रेणुका विगत १५ वर्षदेखी ओछ्यानमा थला परेको अवस्थामा थिइन् । हिँडडुल गर्न नसक्ने अवस्थामा रहेकी उनलाई क्याल्सियमको कमीले हड्डी टुट्ने समस्या थियो । नेपालगन्ज–६ फुल्टेक्रास्थित आफ्नै निवासमा छोरा सञ्जयले उनको स्याहारसुसार गर्दै आएका थिए । उनको उपचार भारतको लखनऊमा भइरहेको थियो । हरेक ३/३ महिनामा उपचारका लागि त्यहाँ लैजानुपर्दथ्यो । रोगले गाँजिएकी रेणुकाको पछिल्लो १० वर्षदेखी बोली गुमेको थियो । स्मरण शक्ति कमजोर बन्दै गएकाले उनी कसैलाई पनि चिन्दैनथिइन् । ओछ्यानमै दिसा, पिसाब भएको पनि थाहा हुँदैनथ्यो । तर, कुनैपनि जटिल स्वास्थ्य समस्या नरहेकी रुपाको मृत्यु भएपछि परीवारसँगै विद्यालय पनि शोकमा परेको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

शुक्रबार मध्यान्हको समयमा रुपाका श्रीमान सपन चटर्जी सरस्वती स्कुल परिसरमा भेटिए । रुपाको मृत्युबारे उनले भने –‘बैशाख १ गते भारतको उत्तरप्रदेश घुम्न जाने योजना बनाएका थियौँ । त्यो योजना अधुरै रह्यो ।’ कक्षा ५ सम्म आफूले पढेको विद्यालय भएकाले उनले रुपालाई त्यहाँ घुमाउन लैजाने योजना बनाएका थिए । सपनले अगाडी थपे –‘कोरोना नलागोस् भनेर हामी दुबै जना सजग थियाँै । सकेसम्म घरबाहिर निस्कदैनथ्यौँ । रुपा पनि विद्यालयदेखी घर, घरदेखी विद्यालयसम्म मात्र निस्किन्थिन् ।’

एक्कासी विरामी परेपछि रुपालाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेजमा लगियो । त्यहाँ ५ घण्टा राखेपछि अस्पतालले भेरीमा पठायो । त्यहाँ राखेको एक दिनमै उनको मृत्यु भयो । उनको कोरोना संक्रमणबाट मृत्यु भयो ।

चटर्जीको पारीवारिक पृष्ठभूमी

भारतको उत्तर प्रदेशस्थित ईलाहबादमा विस १९९० असार ४ गते रेणुकाको जन्म भएको थियो । उनका बुबा ईलाहबादमा हुलाकमा प्रबन्धक थिए । ४ दिदीबहीनी मध्यकी साँहिली छोरी थिइन् रेणुका । पढेलेखेको परिवारमा जन्मिएकी उनले आइएडसम्म अध्ययन गरेकी थिइन् । त्यो समयमा पनि छोरीहरु पढाउनुपर्छ भन्ने चेत भएको परीवार थियो । त्यसैको प्रभावमा उनले पढ्न पाएकी थिइन् । उनले ईलाहबादबाट शिक्षकको तालिम पनि लिएकी थिइन् ।

जानकारहरुका अनुसार, २०१६ भन्दा अगाडी नेपालगन्जमा हिन्दी भाषाको बर्चश्व रहेको थियो । हिन्दी भाषामा नै पढाई हुन्थ्यो, आर्थिक कारोबार पनि भारतीय रुपैयाँमै हुने गर्दथ्यो । पत्रिका पनि हिन्दी भाषामा आउने गरेका थिए । प्राय : भारतबाट नै पत्रिकाहरु आउथेँ । उक्त हिन्दी पत्रिकामा महिला शिक्षक चाहियो भन्ने विज्ञापन देखेपछि उनी नेपाल आईन । विज्ञापनबाट छनोट भएपछि यहाँ पढाउन उनले शुरु गरिन् ।

उनका श्रीमान विश्वनाथ चटर्जीको ३ वर्षअघि निधन भएको थियो । विश्वनाथ नेपालगन्जको पुरानो लक्ष्मी चलचित्र मन्दिर र बागेश्वरी चलचित्र मन्दिरमा म्यानेजर थिए । ६५ वर्ष उनले यसै क्षेत्रमा सेवा दिए । मेहनती र ईमान्दार भएर ६ दशक सेवा गरेको भन्दै प्रज्ञा प्रतिष्ठानले उनलाई सम्मानीत पनि गरेको थियो । विश्वनाथका बुवा दाङबाट नेपालगन्ज आएका थिए । डाक्टर रहेका बुबा ठाँउ–ठाँउमा स्वास्थ्य शिविर सञ्चालन गर्दै नेपालगन्ज आइपुगेका थिए । त्यहि क्रममा उनीहरु नेपालगन्जमा बस्न थाले ।

यस्तैमा विश्वनाथ र रेणुकाको भेट भयो । विवाह पनि भयो । उनीहरुका ४ सन्तान हुन् : दिनेश, उषा, रुपा र सञ्जय । दिनेशकी श्रीमती पनि शिक्षिका थिइन् मंगल प्रसाद माविमा । उनको पनि धेरै वर्ष पहिले निधन भइसकेको थियो । दिनेश र सञ्जय फुल्टेक्रास्थित घरमा बस्दै आएका थिए ।

रुपाका श्रीमान सपनका परिवार भारतमा छन् । रुपाले विद्यालयको जागीर नछोडेपछि सपनले नै भारतको बैंकमा रहेको एकाउण्टेन्टको जागीर छोडेर आएका थिए । उनले डेढ वर्ष अघि मालपोत कार्यालय बाँके अगाडी क्यान्टिन चलाउँदै आएका थिए ।

उनले बीकमसम्मको अध्ययन गरेकाछन् । होटल म्यानेजमेन्ट विषयमा दुबईमा अध्ययन गरिरहेका उनका छोरा शिशिर केहि समयअघि मात्रै नेपाल फर्किएका छन् । रुपाकी एउटी छोरी पनि थिइन् । तर, मृगौलामा समस्या देखिएर १२ वर्षको उमेरमा उनको पनि मृत्यु भएको थियो ।

साँस्कृतिक कार्यक्रम पश्चात सामुहिक तस्विर खिचाउँदै । तस्विर: निशु जोशी /सेतोखरी

कन्या स्कुलको स्थापना

नेपालगन्ज पश्चिम नेपालको ठूलो र पुरानो शहर हो । वि.सं. १९१७ देखि २०३० सालसम्म नेपालगन्ज नगरका रुपमा विकास भएको पाइन्छ । नेपालगन्जमा शिक्षाको ईतिहास हेर्दा शुरुवातमा पढाईका लागि भारत जाने गरेको पाइन्छ । त्यसपछि नेपालगन्जमा पहिलो सँस्कृत पाठशाला खुल्यो । त्यस्तैमा मङ्गल मास्टरले पनि पाठशाला सञ्चालनमा ल्याए । समाजसेवी स्वर्गीय औतारदेइ चौधराइनले श्रीमानको नाममा विस १९९२ मा नारायण स्कुलको स्थापना गरिन् । पुरैनामा महाराजा चौधराइनले विद्यालय स्थापना गरेकी थिइन् । तर, त्यो समयमा पढ्ने महिलाहरुको संख्या न्यून थियो । अवधी सँस्कृतिका हिन्दु र मुस्लिमहरु यहाँका रैथाने बासिन्दा भएकाले उनीहरुले महिला शिक्षाका लागी समुदायकै पहलमा औपचारीक रुपमा २०११ मा कन्या स्कुल (सरस्वती विद्यालय) को स्थापना गरे ।

तत्कालीन राजा महेन्द्र विरविक्रम शाहबाट स्कुलको उद्घाटन गरिएको जानकारहरु बताउँछन् । उनी नेपालगन्ज आउँदा बेलामौकामा यो विद्यालयमा आउने गरेका थिए । उनीहरु आउँदा विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम गरेर उनको स्वागत गर्ने गरेका थिए ।

रैथाने अवधी हिन्दुहरुमा पर्दा प्रथा र मुस्लिमहरुमा बुर्काले मुख ढाक्ने प्रथा रहेको बरीष्ठ साहित्यकार सनत रेग्मी बताउँछन् । उनी भन्छन्–‘छोरी चौध पन्ध्रकी हुनासाथ घरबाट निस्कन मनाही थियो । ४०÷५० वर्षकी अधबैंसे नारी बाहेक अरुको अनुहार देखिन्नथे । १५ वर्षकी छोरी हुनासाथ बिहे गरिदिने चलन थियो ।’

भारतबाट शिक्षक ल्याउनुपर्ने बाध्यता

सरस्वती विद्यालयमा २०२० सालमा मदनकुमार उपाध्याय, रामनाथ धिरजी, भगवती प्रशाद द्विवेदी शिक्षक थिए । उनीहरु भारतबाट पढाउनका लागी यहाँ आएका थिए । उनीहरुसंगै महिला शिक्षिकाहरु गीता गोस्वामी, शान्ति पाठक, कृष्णा चौहान, रामकुमारी मेहरोत्रा पनि थिए । मेहरोत्रा विद्यालयको प्रधानाध्यापक थिइन् । श्रीमती रतन सिंह, कमला शर्मा, गायत्री शर्मा, गंगा शर्मा पनि शिक्षिका थिए । 

त्यस्तै, रतनदेवि शर्मा र रेणुका चटर्जी पनि शिक्षिका थिए । यी दुई जनालाई बाँकेको पहिलो नेपाली महिला शिक्षिकाका रुपमा लिने गरिन्छ । (सद्भावको शहर नेपालगन्ज पुस्तकमा लेखिएको छ ।)

शिक्षा क्षेत्रमा चर्टजीको योगदान

२०११ सालअघि भारतबाट आउने शिक्षकहरु अधिकांश पुरुषहरु हुन्थे । पढेलेखेका महिलाहरु न्यून हुने त्यो समयमा नेपाल आएर यतै बसेर शिक्षा क्षेत्रमा निरन्तर सेवा गर्नु उनको महत्वपुर्ण योगदान हो । उनले पढाएका धेरै विद्यार्थीहरु अहिले माथिल्लो तहसम्म पुगेका छन् । कोही शिक्षक बनेका छन् । उनले पढाएका शान्ति श्रेष्ठ, निलम श्रेष्ठ, ज्ञानु श्रेष्ठ, चम्पा ब्रजाचार्य, किरण आचार्यले शिक्षा क्षेत्रमा अग्रणी स्थानमा छन् । त्यस्तै, किरण कोइराला राजनीतिमा नेपाली काँग्रेस बाँकेको सभापती बनेकीछिन् । अनिता शाह महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा लेक्चर छिन् । यस्तै थुप्रै विद्यार्थीहरु विभिन्न क्षेत्रमा अब्बल छन् ।

कन्या विद्यालय सल्यानीबागकी परामर्शकर्ता किरण आचार्यले भनिन्–‘मैले कक्षा ३ सम्म त्यहाँ पढेको हुँ । त्यतिधेरै त उहाँले पढाएको सम्झना छैन । तर, उहाँ चित्रकलामा राम्रो हुनुहुन्थ्यो ।’

रुपा पनि चित्रकलामा निपुर्ण थिइन् । ‘रुपा स्थानीय भएकाले अवधी भाषाको राम्रो ज्ञान थियो । स्कुलमा आएका अभिभावक अवधी भाषामा कुराकानी गर्न थालेपछि उनैको याद आउँछ’ सरस्वती स्कुलकी शिक्षिका ललीता शर्माले उनको सीप र क्षमताबारे भनिन् ‘उनी अवधि भाषामै अभिभावक, विद्यार्थीलाई कन्भिन्स गर्थिन् । चित्रकला उनको उस्तै राम्रो थियो । हरेक कुरामा रमाउने, विद्यार्थीहरुलाई अनुशासन सिकाउने, हक्की र निडर पनि थिइन् ।’ कन्या स्कुल भएकाले छात्राहरु स्कुल बाहिर केटाहरुले जिस्काएको कम्प्लेन लिएर आउँदा रुपाले नै यो समस्याको समाधान गर्ने गरेको शर्माले बताइन् ।

विद्यालयमा रेणुकाले मधेशी र मुस्लिम समुदायमा रहेको बुर्का प्रथा हटाउनका लागी समेत पहल गरेकी थिइन् । यसको संयोजन विद्यालयकी शिक्षिका स्वर्गीय नबर्दा शर्माले गरेकी थिइन् । त्यसैले विद्यालयमा अध्यापनरत शर्माको नेतृत्वमा रहेको अन्य शिक्षक/शिक्षिकाको समुहले नै छात्राहरु विद्यालय आउँदा बुर्का लगाउन नपाउने गरी नियम बनाएका थिए ।

बिडोँ धानीन् चटर्जी छोरी रुपाले

रेणुकाको बिडोँ रुपाले धानिरहेकी थिइन् । आमाले पढाउने स्कुलमा जन्मिएको, हुर्किएको, पढेको भएकाले अन्य ठाँउबाट आएका सुनौला अवसरहरु पनि रुपाले छोडिदिएकी थिइन् ।

२०२२ सालमा जन्मिएकी रुपा औपचारीक रुपमा २०४४ सालदेखी यसै विद्यालयमा कार्यरत थिइन् । २०४८ मा उनले स्थायी जागीरेका रुपमा नियुक्ती पाइन् । विद्यालयसँग आमाका सम्झनाहरु जोडिएको बताउँदै उनले भनेकी थिइन् ‘आमा यहि विद्यालयमा निमावि तहमा सामाजिक विषय पढाउनुहुन्थ्यो । आमाको पेटदेखी नै यो विद्यालयमा म प्रवेश गरँे । यही स्कुलको आँगनमा खेल्दै, हुर्किएको आजै हो जस्तो लाग्छ । यो भूमी असाध्यै प्रिय लाग्छ । कस्ता–कस्ता अवसर आए तर म गएन ।’

माथिल्लो तहसम्म अध्यापन गराउने क्षमता भएपनि स्कुलप्रतिको प्रेमका कारण यही विद्यालयमा उनले प्रावि तहको शिक्षककै रुपमा काम गरिन् । ‘जिल्ला शिक्षा कार्यालयबाट जिल्ला बाहिर जाने अवसरहरु धेरै आए, तर आफु हुर्केको ठाँउ छोडेर अन्त जान मन लागेन ।’

रुपाले आमालाई मेडम भन्ने की आमा भन्ने भनेर दोधार हुन्थ्यो । त्यसैले उनले केही पनि सम्बोधन गर्दैनथिइन् । खाजा खाने बेलामा अन्य शिक्षकहरु भएको ठाँउमा आमाले आफै बोलाउथिन् । तर, आफूलाई जान अप्ठेरो महसुस हुने गरेको उनले अनुभव सुनाएकी थिइन् ।

गत वैशाख १ गते कोरोना संक्रमणबाट मृत्यु भएकी शिक्षिका रुपा चटर्जी । तस्विर: निशु जोशी /सेतोखरी

विवाह नहुने डरले पीएचडी गर्ने सपना अधुरै रह्यो

प्राथामिक कक्षा नभएका कारण मङ्गगल माविमा १ देखी ३ कक्षासम्म अध्ययन गरेकी रुपा ४ देखी ८ सम्म यहि सरस्वती विद्यालयमै पढिन् । कक्षा ९ देखी स्नातोकोत्तरसम्म भारतमा अध्ययन गरिन् । नेपालगन्जमा उच्च शिक्षा नहुँदा काठमाण्डौ या भारत जानुपर्ने बाध्यता थियो । नजिक भएका कारण भारतको बहराइचबाट परीक्षा दिइन् ।

शिक्षा विषयमा सन् १९८५ मा एसएलसी र सन् १९९५ एमए गरिन् । त्यो समयमा समुदायमा जति पढ्यो बिवाहका लागी केटा खोज्न गाह्रो हुन्छ भन्ने सोँच थियो । यहि सोँचका कारण पीएचडीको फारम भरेपनि परीक्षा दिन नपाएको उनले बताएकी थिइन् ।

रहरले सुरु गरेको पेशा आवश्यक्ता बन्यो

उनले प्राविसम्मको अध्ययन एमपी स्कुलमा (नमुना पाठशाला) मा शान्ति राणा प्रधानाध्यापक भएको समयमा पढ्ने मौका पाएकी थिइन् । सरस्वती विद्यालयमा प्रावि थिएन । ४ देखी मात्रै पढ्ने अवसर थियो । त्यो समयमा नेपालगन्जमा एउटा दुईटा पाठशालाहरु मात्र थिए । काठको तक्ती(पाटी)मा चक घोटेर बासको कलमले हातले लेख्ने गरिन्थ्यो । त्यसको २–३ वर्षपछि चकेस्टीक(चक)को सुरुवात भयो । कापीकलम त्यसको धेरै समयपछि मात्र आयो ।

त्यो समयमा स्नातकोत्तर गरेकाहरुको महत्व धेरै हुन्थ्यो । त्यसैले जिल्ला शिक्षा कार्यालयले उनलाई यसै विद्यालयमा प्रावि ईन्चार्ज (प्रधानाध्यापक)को जिम्मेवारी दिएको थियो । सुरुमा शिक्षक हुने रहरले यो पेशा अंगालेको तर, विस्तारै आवश्यक्ता बनेको उनी बताउथिइन् । सरकारी सेवामा स्थायी भएपछि सेवामा बढुवा हुदैँ गयो । विभिन्न विद्यालयमा प्रर्बेक्षक, उच्च माविको सहायक केन्द्राध्यक्ष भएर काम गर्ने अवसर समेत पाइन् । विभिन्न अवसरहरु पाउँदा र सेवा गर्दै जान थालेपछि यो पेशाबाट सुन्तुष्टी मिलेको उनले बताएकी थिइन् । यसै क्रममा नेपाल राष्ट्र बैंकको एक वर्षे पारीवारीक सर्वेक्षणको काम पुरा गर्ने मौका समेत पाइन् । २०५४ सालमा तत्कालीन नेपालगन्ज नगरपालिकाका मेयर डाक्टर धवल शम्शेर राणाले २ पटक सम्मान गरेका थिए ।

स्वअध्ययन गरेर परीक्षा दिनुपर्ने बाध्यता

उनको पालामा एमए गर्ने महिला थोरै थिए । नेपालगन्जमा प्रतिभा रेग्मी र उनले भारतको बहराइचमा गएर परीक्षा दिएर पढेका थिए । रुपैडिहा र नेपालगन्जमा हाई स्कुल थिएन । काठमाण्डौ जानुपथ्र्यो । त्यो भन्दा नजिक भारतको बहराइच थियो । ‘नेपालबाट भारतमा गएर पढ्न चुनौती थियो । तर, पढ्न रहर थियो । त्यसैले दिनहुँ विद्यालय नजाने गरी प्राइभेट फारम भरेर घरमै स्वअध्ययन गरेर परीक्षा दिए । बिहान ७ बजे सञ्चालन हुने परीक्षा दिन बिहान ४–५ बजे नै घरबाट साईकलमा जान्थ्यौँ । कहिले साँझ परीक्षा हुन्थ्यो ।’ उनले बताएकी थिइन् ।

यसरी मेहनत गरेर उनी सेकेण्ड डिभिजनमा पास भइन् । बाँकेमा शिक्षा विषय लिएर त्यो समयमा एमए गर्ने एक्लो महिला भएको उनको दाबी छ । ‘महेन्द्र विद्यालयमा पढाउनका लागी त्यो समयमा रामगोपाल सरले पढाउन बोलाउनुभयो । अरु महिलाहरु नभएको जानकारी पाँए । त्यसैले मैले नै एक वर्ष उमावि पढाउने अवसर पाँए ।’

स्थापनाको समयमा विद्यालयको अवस्था

सुरुवातमा विद्यालयमा फुसको छाप्रोमा पढाई हुने गरेको थियो । आमाले विद्यालयमा रहेको ईनारको पानी खाने, विद्यार्थीहरुलाई पनि पानी खुवाउने गरेको सम्झना रहेको रुपाले बताएकी थिइन् ।

त्यो समयमा मधेशी समुदायका ५/१० जना छात्राहरु मात्र पढ्न आउने गरेका थिए । भारतबाट बीएड गरेकी शिक्षिका राम कुमारी मेहरोत्रा आइन् । त्यो समयमा समुदायका मानिसहरुले विद्यालय सञ्चालक समिति बनाएका थिए । उक्त समितिले नै मेहरोत्रालाई प्रधानाध्यापकमा नियुक्त ग¥यो । उनीहरुको नियुक्तीलाई पछि सरकारले पनि स्विकार गरेको थियो ।

गाँउ फर्क अभियान

२०५७ सालदेखी सरस्वती स्कुलमा कर्मचारी रहेका भगवती प्रसाद न्यौपाने आफूलाई विद्यालयको सुखद् र दुःखद् पक्षबारे जानकारी रहेको बताउँछन् । उनका अनुसार, २०२० सालमा गाँउ फर्क अभियान भनेर सरकारले नै राष्ट्रिय अभियान चलाएको थियो । ‘सरकारले हरेक कर्मचारीलाई ३ दिन अनिवार्य गाँउ गएर काम गर्ने अभियान चलाएको थियो । त्यतिबेला म यो विद्यालयमा थिएन । तर, बाँकेमै भएकाले यो अभियानबारे मलाई जानकारी छ ।’ यो अभियानबारे जानकारी रहेको बताउँदै उनी अगाडी भन्छन् ‘द्वारीकानाथ श्रेष्ठ अञ्चलाधिश भएको समयमा यो अभियान अन्र्तगत कन्या स्कुलले चेतना जगाउने काम गरे । हामीले त्यो समयमा भवानीयापुरको बाटो खनेका थियौं ।’ सरकारको यो अभियानलाई कन्या विद्यालयका शिक्षिकाहरुले शिक्षाको पहुँचमा कन्याहरुलाई ल्याउनका लागी भूमिका खेलेका थिए ।

अभियानले केहि विद्यार्थीहरु तुलनात्मक रुपमा बढेको उनीहरु बताउँछन् । त्यो कार्यक्रमका कारण अहिले पनि गाँउ गाँउबाट विद्यार्थीहरु स्कुलमा आउने गरेको उनीहरुको भनाई छ ।

विद्यालयका पूर्व प्रधानाध्यापक शान्ती श्रेष्ठ यो अभियानको नेतृत्व नर्बदा शर्माले लिएको बताउँछिन् । जसमा विद्यालयका सबै शिक्षक शिक्षिकाले महत्वपुर्ण भूमीका खेलेका थिए । विद्यालयमा हिन्दी भाषा नै चलिरहँदा नेपाली भाषामा पढाई हुनुपर्छ भनेर नबर्दाले नै नेपाली भाषामा पठन–पाठनको शुरुवात गरेको उनको भनाई छ ।

अहिले सरस्वती विद्यालयमा करीब ६० प्रतिशत मुस्लिम समुदायका छात्रा, ३० प्रतिशत मधेशी र १० प्रतिशत पहाडी छात्राहरु अध्ययनरत छन् ।

सीप सिकाउने पाठ्यक्रम

सरस्वती विद्यालयमा चित्रकला, हस्तकलाका सामाग्रीहरु बुन्ने लगायत छात्राहरुका लागी घरेलु सीपहरु सिकाउने विषय पनि थियो । उनीहरुको सीप प्रदर्शन गर्नका लागी शुक्रबारको दिनमा रमाइलो मेला लगाइन्थ्यो । मेलामा छात्राहरुले बनाएका चाट, सेलरोटी, आलुको अचार, पुरी पकाउने लगायत सीपको प्रदर्शन हुने गरेको थियो । त्यसका लागी मेला लाग्नु अघि अभिभावकहरुलाई टोकन वितरण गरिन्थ्यो । एक रुपैयाँ ५० पैशामा टोकन किनेर अभिभावकले चाट किन्थे ।

यो सिकाई आफ्नो पालासम्म रहेको रुपा बताउँछिन् । तर, अहिले अहिले उक्त विषय हट्यो । कम्प्युटरको जमाना आएपछि यसैमा विद्यालय केन्द्रित हुनुपरेको उनले बताएकी थिइन् ।

सरस्वती स्कुल निरीक्षण गरेका तत्कालिन राजा महेन्द्रको स्वागतमा नृत्य प्रस्तुत गर्दै विद्यार्थी । तस्विर: निशु जोशी /सेतोखरी

पर्दा प्रथाले कन्या स्कुलको जन्म

नेपालगन्जमा मधेशी र मुस्लिमको बाक्लो बसोबास थियो । त्यो समयमा सबै समुदायमा प्रर्दा प्रथा थियो । एक्कामा हिँड्ने र छोरी बहिनीलाई एक्का(टा“गा)मा बसालेर बजार जाँदा वरपर च्यादर(पर्दा) बाँधेर भित्र बसेर हिँड्ने परम्परा रहेको न्यौपाने बताउँछन् ।

यस्तो अवस्थामा केटीहरु मात्र राखेर पढाउने उद्देश्यले यो स्कुलको स्थापना भएको उनको भनाई छ । सुरुवातमा घर–घर गएर छोरीहरु पढाउनुपर्छ भनेर विभिन्न अभियान चलाउँदा पनि सोँचे अनुसार छोरीहरु विद्यालय पढ्न आउने गरेका थिएनन् । अहिले भने चाप धान्नै मुस्किल भएको उनले बताए । पहिले एउटा कक्षामा ९/१० जना मात्र पढ्न आउने गरेकोमा अहिले एउटै कक्षामा ८० जनासम्म पढ्न आउँने गरेका छन् ।

अभिभावकमा पनि छोरीहरु पढाउनुपर्छ भन्ने चेतना आएको विषयमा न्यौपाने एउटा घटना सुनाउँछन् ‘एकजना अभिभावकले भर्ना सकिएपछि पनि मेरो छोरीको भर्ना गरिदिनुस् भन्नुभयो । हुदैँन भर्ना अवधि सकियो भन्दा पनि उहाँले जिद्दी गर्नुभयो । जबकी रामकुमारी मेहरोत्राको पालासम्म अभिभावकहरु छोरीलाई सहजै विद्यालय पढाउदैनथे ।’

तर, उहिलेको सरस्वती विद्यालय र अहिलेको सरस्वती विद्यालयमा फरक आएकोछ । छोरीलाई शिक्षा दिनुपर्छ भन्ने सोँचको विसकाले यतिबेला सरस्वती विद्यालयमा भर्ना पाउन मुस्किल हुदैँ गएकोछ । यसले गर्दा विद्यालय व्यवस्थापन समितिले विद्यालयलाई व्यवस्थितरुपमा सञ्चालन गर्न कक्षागतरुपमा कोटा प्रणाली लागु गरेकोछ । उक्त कोटा पुरा भएमा विद्यालयमा भर्ना गरिदैन ।

कोरोना भाइरस संक्रमणका कारण उत्पन्न हालको परिस्थितीमा विद्यालयले अनलाई कक्षाको सञ्चालनको तयारी गरेकोछ । नियमित शिक्षकहरु विद्यालय पुग्छन् । पठनपाठन नभएपनि विद्यालयमा प्रशासनिक काम भइरहेको छ । अनलाईन कक्षा सञ्चालन गर्नका लागि बालबालिकाहरुलाई निःशुल्क सिम कार्ड वितरणको काम भइरहेको छ । कक्षा ७ देखी १२ सम्मका विद्यार्थीहरुका लागि अनलाईन कक्षा पढाउनका लागि तयारी भइरहेको हो ।