बञ्जी जम्प गर्न ‘गो बञ्जी’ पोखरा जाँउ


बञ्जी जम्प गर्न ‘गो बञ्जी’ पोखरा जाँउ

बञ्जी जम्पबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन । तस्विर : निशु जोशी /सेतोखरी

नेपालगन्ज १३ असोज : साहसिक खेल बञ्जीलाई पश्चिम नेपाल र भारतीय पर्यटकसंग जोड्ने प्रयास थालिएकोछ । पोखरास्थित बञ्जी नेपाल एड्भेन्चर्स प्रालिले साहसिक खेल बञ्जीलाई पश्चिम नेपाल र भारतीय पर्यटकसँग जोड्ने प्रयास गरेको हो ।

एड्भेन्चर्सको टिम पोखराबाट नेपालगन्ज आएर साहसीक खेल बञ्जीबारे जानकारी समेत गराएकोछ । पोखराका पर्यटन ब्यवसायी एवम् बञ्जी नेपाल एड्भेन्चरका अध्यक्ष सन्तोष भट्टराईले पछिल्लो समय साहसीक पर्यटनको हब बन्दै गरेको पोखरामा नयाँ प्रोजेक्टको शुरुवात गर्न लागेको बुधबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

‘पोखरा सम्भावनाको शहर हो, प्याराग्लाइडिङका लागि उत्कृष्ट ठहरिएको पोखरालाई हामी बञ्जी जम्पको पनि हब बनाउन चाहन्छौं,’ उनले भने ‘बञ्जी नेपाल एड्भेन्चर्स प्रालिले पोखरा १७, रातोपैरामा बनाएको बञ्जीको हामीले सफल परीक्षण गरि व्यवसायिक शुरुवात पनि गरिसकेका छौं ।’

पोखराको बजार क्षेत्रबाट नजिकै भएकाले आन्तरिक पर्यटकहरु यही प्रयोजनका लागि थोरै दिनको पोखरा बसाई वा एकै दिनमा पनि बञ्जी जम्प गरेर फर्कन सक्ने उनले बताए । पोखराको लेक साइडबाट करिब तीन किलोमिटर दूरीमा रहेको बञ्जी गत बैशाख १ गतेबाट सञ्चालनमा आएको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

सञ्चालनमा आएको केही दिनमै कोरोना महामारीका कारण बन्द रहेको ब्यवसाय गत साउन १५ बाट पुनः सुरु गरिएको भट्टराईले बताए । साउन महिनायता मात्रै ७ सय ७२ जनाले बञ्जी गरेको उनले जानकारी दिए । बञ्जी गर्नका लागि प्रतिब्यक्ति ६ हजार रुपैयाँ शुल्क तोकिएको र त्यसभित्र फोटो, भिडियो, टिसर्ट लगायत सुविधा पनि रहेको सो कम्पनीले जनाएको छ ।

पोखराका युवा व्यवसायी सन्तोष भट्टराई अध्यक्ष रहेको उक्त कम्पनीमा राजु कुँवर, अशोक गुरुङ, दुर्गादत्त खरेल, दिल गुरुङ, दामोदर बराल, कल्पना पौडेल, भूपाल बहादुर बराल क्षेत्रीको ८ करोड २५ लाख रुपैयाँ लगानी रहेको छ ।

‘क्यान्टिलिभर ब्रिजको डिजाइनमा बनाइएको ३५ मिटर अग्लो टावरको फेदबाट बञ्जी जम्पका लागि ५५ मिटर लामो प्लेटफर्म निर्माण गरिएको छ, सेती नदीको खोंचमा बनेको र फराकिलो हिमश्रृङखला हेर्दै जम्प गर्न पाइने भएकाले बञ्जीमा आकर्षण बढ्ने हामीले विश्वास लिएका छौं,’ उनले भने ‘बञ्जीको २ वटा प्लेटफर्म नदीदेखि १०१ र १०५ मिटरमा छन्, यो नै दुई फरक उचाइमा जम्प गर्ने नेपालको पहिलो जम्प साइट पनि हो, साधारण बञ्जी १०१ मिटर अग्लो प्लेटफर्मबाट गराइने छ, साइकल जम्प, बकेट जम्प, टेण्डम जम्प लगायत विशेष जम्प पनि गराइनेछ ।’

बञ्जी गर्न सबैभन्दा बढी धरान र काठमाडौंबाट आन्तरिक पर्यटक पोखरा जाने गरेको जानकारी दिदै भट्टराईले नेपालगन्जबाट पनि केही संख्यामा साहसिक खेल बञ्जी गर्न पोखरा जाने गरेको बताए ।

पत्रकार सम्मेलनमा पर्यटन प्रर्बद्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ, नाटा बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देल, नेपालगन्ज साइक्लिङ क्लवका अध्यक्ष गगन थापा, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, पर्यटन ब्यवसायीहरु केशव न्यौपाने, ओम मिश्र, सञ्चारकर्मी लगायतको पनि उपस्थिती रहेको थियो ।

नेपालगन्जबाट पोखरा सीधा जहाजबाटै पुग्न सकिने भएकाले पश्चिम नेपालसंगै भारतीय पर्यटक सहजै पोखरा पुगी त्यहाँको रमणीय ठाउँ घुमी बञ्जीको आनन्द समेत लिएर फर्किन सक्छन् ।

हेर्नुहोस् भिडियो