बाँकेका ४ स्वास्थ्यकर्मीलाई सरकारको पदवी


बाँकेका ४ स्वास्थ्यकर्मीलाई सरकारको पदवी

सांकेतिक तस्विर

नेपालगन्ज ३ असोज : संविधान दिवसका अवसरमा नेपाल सरकारले बाँकेका ८ जनालाई विभिन्न पदवीबाट सम्मान गर्ने घोषणा गरेको छ ।

उक्त सूचीमा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाह, भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर राजन पाण्डे, भेरी अस्पताल कै वरिष्ठ ल्याब टेक्निसियन प्रशन्न मिश्र र भेरी अस्पताल कोभिड वार्डमा कार्यरत स्टाफ नर्स सुनिता सहकारी गरी ४ जना स्वास्थ्यकर्मीलाई विभिन्न पदवीबाट सम्मान गरिने भएको हो ।

भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर राजन पाण्डे

भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर राजन पाण्डेलाई सुप्रवल जनसेवा श्री पदकबाट विभूषित गरिने भएको छ । यसअघि डाक्टर पाण्डेलाई २०७३ सालमा प्रबल जनसेवाश्री पदक प्रदान गरिएको थियो ।
पाण्डेले पश्चिम नेपालका सेवाग्राहीलाई डेढ दशकदेखी स्वास्थ्य सेवा प्रदान गरिरहेकाछन् । नेपालगन्जस्थित भेरी अस्पतालमै रहेर सेवा दिन थालेको पनि एक दशक भइसकेको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

आफ्नो नियममित काम बाहेक उनले पश्चिम नेपालका सेवाग्राहीका लागि थप ३÷४ वटा महत्वपुर्ण काम गरेका छन् ।

सिकलसेल, कालाजार, स्क्रब टाइफस र कोरोनाबारे जानकारी र उपचार सेवामा महत्वपूर्ण भूमीका डाक्टर पाण्डेले खेलेका छन् । यी रोगबारे यस क्षेत्रका प्रमुख जानकारका रुपमा रहेका उनी हाल यी रोगहरुका बारेमा एक्सपर्ट सदस्यका रुपमा रहेका छन् ।

उनले नै सिकलसेललाई राष्ट्रिय एजेण्डाका रुपमा उठाए । त्यसको प्रभावले यो थारु समुदायमा देखिएको प्रमुख जनस्वास्थ्य समस्याका रुपमा तत्कालिन संविधानको ड्राफ्टमा लेख्न उनैले लगाए । उक्त ड्राफ्टका आधारमा मन्त्रीपरीषद्बाट उपचार सेवा निःशुल्क दिने गरी पारित भयो । त्यसअघि यो विषयमा सरकारको लगानी शून्य थियो । हाल यसका बिरामीले एक लाखको सुविधा पाउँदै आएका छन् । पछिल्लो समय सरकारले यो विषयलाई महत्व दिदै प्रतिवर्ष एक अर्बको बजेट छुट्याउँदै आएको छ ।

मुसाबाट सर्ने स्क्रब टाइफसबारे डाक्टर पाण्डेले नै यस क्षेत्रमा जानकारी दिएका थिए । यस क्षेत्रमा यो समस्या छ भनेकै कारण उनले जिल्ला प्रशासन कार्यालयमा स्पष्टिकरण दिनुपरेको विगत सम्झिए ।

मुसामा हुने सानो किराबाट हुने यो रोग लागेको भएपनि टाइफाईड भएको भन्दै फरक उपचार हुँदा केहीले ज्यान गुमाए थिए । विगतलाई सम्झदैँ डाक्टर पाण्डेले भने–‘स्क्रब टाइफस सम्बन्धी तथ्यांक जनस्वास्थ्य कार्यलयमा बुझाएपछि यसबारे यस क्षेत्रमा उपचार र जागरण सुरु भएको हो ।’

कालाजार रोगकोबारे जानकारी र उपचार नभएको अवस्थामा २०७१ सालमा विश्व स्वास्थ्य संगठनलाई यस क्षेत्रमा १८ वटा कालाजारको केश भेटिएको बारे उनले जानकारी पठाएका थिए । ‘तर उहाँहरुले सुरुमा पत्याउनुभएन । भेरीफाई गरेपछि उहाँहरु चकित हुनभयो ।’ उनले अगाडि थपे ‘अहिले पुर्वी नेपालमा भन्दा पश्चिम नेपालमा यो समस्या धेरै छ ।’ उनका अनुसार नेपालमा प्रतिवर्ष कालाजारका साढे २ सय विरामी फेला पर्ने गरेकोमा १५० विरामी यसक्षेत्रका हुने गरेका छन् ।

पहिले यसको कुनै उपचार नभएकोमा आफूले गरेको अध्ययनका कारण यसक्षेत्रमा सरकारद्वारा कालाजारको उपचार सेवा निःशुल्क बन्न पुगेको उनी बताउँछन् । शुल्क तिरेर कालाजारको उपचार गर्नुपरेमा एक लाख रुपैयाँसम्म तिर्नुपर्नेमा उल्टै बिरामीले बाटो खर्च र अन्य खर्च बापत ६ हजार रुपैयाँ पाउँने भए ।

यस्तै कोभिडको पहिलो चरणको उपचार सेवामा उनले नेतृत्व गरेका थिए । मानिसहरु आत्तिएको समयमा नडराउने सन्देश बाड्नका लागि उनले सामाजिक सञ्जालको समेत प्रयोग गरेका थिए । अरुभन्दा फरक र हेल्थ पोलिसि चेन्ज गर्ने तरिकाले काम गरिरहेको उनी बताउँछन् ।

कोभिडको उनी राष्ट्रिय प्रोटोकलको टेक्निकल सदस्य पनि हुन् । कोभिडमा गरेको कामको प्रशंशा गर्दै डेढ महिनाअघि बारबरा फाउण्डेसनले २ लाख रुपैयाँ राशीसहितको पुरस्कारले उनी सम्मानीत भइसकेका छन् । ३ महिना पहिले पनि अमेरीकन एक कलेजबाट समेत उनी सम्मानित भएको बताए ।

धीरजंग शाह, प्रमुख स्वास्थ्य कार्यालय बाँके

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहलाई प्रवल जनसेवाश्रीबाट विभूषित गरिने भएको छ । वरिष्ठ जनस्वास्थ्य प्रशासक शाहले कोरोना महामारीमा सबैभन्दा बढी प्रभावित बाँकेमा स्वास्थ्य सेवा व्यवस्थापनमा उल्लेखनीय भूमिका खेलेका थिए ।

प्रशन्न मिश्र, वरिष्ठ ल्याब टेक्निसियन, भेरी अस्पताल

प्रशन्न मिश्र भेरी अस्पताल नेपालगन्जका वरिष्ठ ल्याब टेक्निसियन हुन् । उनले कोभिड–१९ का बेला अस्पतालमा प्रयोगशाला व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेका थिए । मिश्रले सरकारबाट जनसेवाश्री पदक पाउने भएका छन् ।

सुनिता सहकारी, स्टाफ नर्स, कोभिड वार्ड भेरी अस्पताल

भेरी अस्पताल कोभिड वार्डमा कार्यरत स्टाफ नर्स सुनिता सहकारी पनि जनसेवाश्री पदकबाट विभूषित हुने भएकी छन् । यसअघि सहकारी जननेता मदनकुमार भण्डारीको ७० औँ जन्मजयन्तीका अवसरमा एक लाख राशीको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’बाट समेत सम्मानित भएकी थिइन् । सहकारीले श्रीमानको मृत्यु भएको शोककै बेला पनि भेरी अस्पतालको कोभिड वार्डमा खटिएर सेवा दिएकी थिइन् ।

यसैगरि राजनीतिकर्मी तिलक परियारलाई प्रसिद्ध प्रबल जनसेवा श्री पदक, पूर्वसांसद एवं नेपाली काँग्रेसका नेता कृष्णसिंह परियारलाई सुुकीर्तिमय राष्ट्रदीप पदक र नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य दामोदर आचार्यलाई प्रबल जनसेवाश्री पदकले सम्मान गरिने भएको छ ।

त्यसैगरि कोहलपुर निवासी कृषक पुरमल बस्नेतलाई समाजसेवा रत्नले विभुषित गरिने भएको छ ।

यसैबीच, लुम्बिनी प्रदेश सरकारले बाँकेका तीनजना स्वास्थ्यकर्मीसहित ६ जनालाई विभिन्न मानपदवीबाट विभूषित गर्ने भएको छ । २०६३ चैत १४ गते नेपालगन्जमा मधेश आन्दोलनका क्रममा सहिद भएका माताप्रसाद कुर्मी र २०६३ फागुन ५ गते संघीयता प्राप्तिको लागि नेपालगन्जमा सहिद भएका गुलजार खानलाई जनसेवा पदकले मरणोपरान्त सम्मान गरिने भएको हो ।

संबिधान दिवसको अवसरमा प्रदेश सरकारले नेपालगन्ज मेडिकल कलेज कोहलपुरकी स्त्रीरोग विशेषज्ञ डाक्टर कविता सिंहा, नेपालगन्ज मेडिकल कलेज नेपालगन्जका फिजिसियन डाक्टर असिम किदवाई र भेरी अस्पतालमा कार्यरत देवा जिसि विभूषित गर्ने निणर्य गरेको छ ।

डाक्टर सिन्हालाई काठमाडौं बाहिर पहिलो पटक कोभिड संक्रमित प्रसूतिको शल्यक्रियासंगै उपचार गरेकोमा र असिमलाई कोभिड बिरामीको प्लाज्मा थेरापी बिधिबाट उपचार गरेको भन्दै समाजसेवी श्री पदकबाट विभुषित गर्ने निणर्य सरकारले गरेको हो ।

त्यैसैगरि देवालाई भेरी अस्पतालको सेवामा रहि कोभिड बिरामीको उपचारमा योगदान दिएको भन्दै प्रदेश सेवा समर्पण गर्ने निणर्य गरेको लुम्बिनी प्रदेशका सचिव रबिलाल पन्थले जारी गरेको सूचनामा उल्लेख छ ।

यसैगरी एकल महिलाहरुलाई सशक्तिकरण गरी सम्मानपूर्वक जीवनयापन गर्न विशेष योगदान गरेको भन्दै शोभा बिसीलाई प्रजापति गौतमी पदकले सम्मान गर्ने निणर्य प्रदेश सरकारले गरेको छ । उनीहरुलाई प्रदेश स्थापनाको दिन सम्मानित गरिने बताइएको छ ।