बैंकहरु लाइसेन्स प्राप्त लुटेरा हुन् : प्रदेशसभा सदस्य खरेल


बैंकहरु लाइसेन्स प्राप्त लुटेरा हुन् : प्रदेशसभा सदस्य खरेल

नेपालगन्ज ९ असोज : लुम्बिनी प्रदेशसभा सदस्य आइपी खरेलले बैंकहरु लाइसेन्स प्राप्त लुटेरा भएको बताएका छन् । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बाँके जिल्लाको तेस्रो अधिबेशन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने–‘बैंकहरु लाइसेन्स प्राप्त लुटेरा हुन्, जसले नागरिकलाई सरकारकै आखाँ अगाडी खुलेआम लुटिरहेका छन् । एउटा ब्याजदर देखाएर अर्कै ब्याजदर लिने गरेका छन् । बैंकहरु लुटेरा हुन् ।’ मिटर ब्याजलाई सरकारले अबैधानिक मान्ने गरेको छ । तर, बैंकहरुले खुलेयाम व्यवसायीहरुलाई लुटिरहेको उनले बताए ।

खरेलले व्यवसायीहरुमा ठुलो लगानी गर्न नचाहने प्रवृति देखिएको बताउँदै छिटो आम्दानी गर्न चाहाने तर, दीर्घकालिन काम गर्न नचाहाने प्रवृति व्यवसायीमा अझै कायम रहेको बताए । ‘मैले केहि व्यवसायीहरुलाई १÷२ सय जनालाई रोजगारी दिने गरि व्यवसाय शुुरु गर्नुस्, भनेर धेरैलाई सुझाव दिएको छु । तर, उहाँहरु जग्गा प्लटिङ गरेर २ करोडको जग्गा ५ करोडमा बेच्न तयार हुनुहुन्छ । तर, जोखिम लिएर व्यवसाय गर्न चाहानुहुन्न ।’
व्यापारीहरुमा द्वेत चरीत्र देखिएको बताउँदै उनले भने ‘एकातिर सीमापारी जानबाट स्थानीयलाई रोक्नुपर्छ भन्ने अर्कोतर्फ त्यहीँको सामान क्यारिङ गरेर बेच्ने ? यसरी कसरी फष्टाउँछ यहाँको व्यापार ?’ उनले अगाडी थपे– ‘सरकारले कर बढायो भनेर व्यापारीहरुको टाउको दुख्छ तर, २ वटा बील बनाएर राजश्व छलि गर्ने तिनै व्यापारी होइनन् र ?’

विदेशबाट आयात बढिरहेको स्वदेशबाट निर्यात घटिरहेको अवस्थामा नयाँ दृष्टिकोणका साथ काम गर्न व्यवसायीहरुलाई उनको सुझाव छ – ‘एउटाले जुन व्यवसाय ग¥यो त्यहि व्यवसाय अर्कोले गर्छ । एउटै ठाँउमा एउटै व्यापार कसरी चल्छ ? फष्टाउनका लागि केहि नयाँ फरक दृष्टिकोण हुनुप¥यो नी ।’

Kids Festival 2022
kanti aarogya hospital
add

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका लुम्बिनी प्रदेश अध्यक्ष मनिसकुमार जोशीले देश ९० प्रतिशत व्यापार घाटाको अर्थतन्त्रमा चलिरहेको बताउदै पालिकास्तरबाटै सानो–सानो क्षेत्रमा लगानी बढाउनुपर्ने अवस्था आएको बताए । गाउँमा उत्पादन बढाउने र बजारीकरण गर्नेतर्फ ध्यान दिने हो भने विदेशी मुलुकबाट आयात घटाउन सकिने उनको तर्क छ । तर, नेपालमा सीपको अभाव रहेकाले कामदारहरु भारतबाट ल्याउनु पर्ने बाध्यता रहेको उद्योगी व्यवसायीहरु बताउँछन् ।

उद्योगी व्यवसायीका समस्या समाधानका लागि सरकार उदासिन देखिएको उद्योगी, व्यापारीहरुको भनाई छ । कोरोनाका कारण गतवर्ष बाँकेका ९६ साना उद्योग बन्द भएका छन् । घरभाडा तिर्न नसकेको, बैंकको ब्याजदरमा बृद्धि, करबृद्धि लगायतका कारणले ब्यापारीहरु मर्काका परेको नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्व केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए ।

कोरोनाको मारमा परेका, व्यवसायबाट विस्थापित भएकालाई माथि उठ्न सरकारले सहयोग गर्न चासो नदिएको उनको गुनासो छ । खुला सीमानाले नेपालगन्जको व्यापार तहसनहस भएको बताउँदै उनले करोडको अबैध सामान नेपाल भित्रिँदा यहाँको व्यवसाय चौपट हुने अवस्थामा पुगेको श्रेष्ठले बताए ।

सीमा क्षेत्रमा सुख्खा बन्दरगाह, नौवस्तामा औद्योगिक क्षेत्र निर्माणको काममा ढिलासुस्ति हुनेले पनि सरकार व्यापारीको हितमा संवेदनशील नरहेको उद्योगी ब्यापारिको तर्क रहेकोछ । यस्तै, कर शिक्षाको अभावमा यहाँका व्यापारीले २ लाख तिर्नु परेको बताउँदै व्यापारीहरुलाई लक्षित गरी कर शिक्षा अनिवार्य गर्नुपर्ने श्रेष्ठको भनाई छ ।

सकारले उद्योगी व्यवसायीहरुलाई करदाताका रुपमा मात्र हेरेको नेपालगन्ज उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष नन्दलाल वैश्यले बताए । ‘व्यापार सुरु गर्दा न व्यवसायीले सरकारबाट सहयोग पाउँछन् न त व्यवसाय डुब्दा । करदाता र मतदाताका रुपमा मात्र व्यवसायीलाई हेर्ने गरिन्छ’ उनले बताए ।

व्यवसायीहरुलाई प्रोत्साहन र सम्मान नहुँदा नयाँ पुस्ताको आर्कषण वैदेशिक रोजगार भएको उनले बताए । नयाँ पुस्ताको आर्कषण बढाउनका लागि पनि राज्यले ध्यान दिनुपर्ने उनको भनाई छ ।

सरकारले हालको अवस्थामा व्यापारीहरुलाई खोप दिनेतर्फ समेत ध्यान नदिएको व्यवसायीहरुको गुनासो छ । बाँके उद्योग, पर्यटनको सम्भावना भएको जिल्ला भएकाले व्यवसायी आफैले रोजगारी सृजना गर्नुपर्ने देखिएको छ ।