बाँकेमा वर्षेनी झण्डै ३ हजारले गर्भपतन गराउँछन्


बाँकेमा वर्षेनी झण्डै ३ हजारले गर्भपतन गराउँछन्

असोज ११ नेपालगन्ज : बाँकेमा वर्षेनी झण्डै ३ हजारले गर्भपतन गराउने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार, विगत ३ वर्षको अवधिमा ८ हजार एक सय ५६ जनाले सुरक्षित गर्भपतन गराएका छन् ।

१५ देखी ४९ वर्ष उमेर समुहका महिलाहरुले नेपाल सरकारबाट मान्यता प्राप्त स्वास्थ्य संस्था मार्फत सुरक्षित गर्भपतन सेवा लिएका हुन् ।

आर्थिक वर्ष २०७५/०७६ मा जिल्लामा २ हजार ८ सय १२ जनाले गर्भपतन सेवा लिएकोमा आर्थिक वर्ष ०७६/०७७ मा २ हजार ८ सय ९८ जनाले सेवा लिएका छन् । सुरक्षित गर्भपतन सेवा लिनेको संख्या तुलनात्मक रुपमा गतवर्ष घटेको देखिएको छ । गतवर्ष २०७७/०७८ मा २ हजार ४ सय ४८ जनाले सेवा लिएका छन् ।

अनिश्चित गर्भ रहेको, सन्तानको रहर पुगिसकेको, जबरजस्ती करणीमा परेको, बच्चाको स्वास्थ्य अवस्था जोखिममा रहेको लगायतका कारणले स्वास्थ्य संस्थामा गर्भपतन गराउन गरिएको कार्यालयले जनाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

जिल्लामा सबैभन्दा बढी सुरक्षित गर्भपतन सेवा लिने पालिकाका रुपमा कोहलपुर नगरपालिका पाइएको छ । कोहलपुरमा गत वर्ष एक हजार ३ सय ६८ जनाले सेवा लिएका छन् । यस्तै नेपालगन्ज उपमहानगरपालिकामा ८ सय ७५, खजुरामा १ सय, राप्तीसोनारी ५७, बैजनाथमा २९ र नरैनापुरमा १९ जनाले सुरक्षित गर्भपतनको सेवा लिएका छन् । जानकी र डुडुवागाँउपालिकामा भने सुरक्षित गर्भपतनको सेवा लिनेको संख्या शून्य देखिएको छ ।

नेपाल सरकारले सुरक्षित गर्भपतनलाई कानूनी मान्यता प्रदान गरेकोछ । पछिल्लो समय नेपाल सरकारले सुरक्षित गर्भपतन सेवाका बारेमा जनचेतना फैलाएपछि सेवा लिनेको संख्या बढ्दै गएको हो ।

सरकारले २०६० सालदेखी देशका विभिन्न स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा सञ्चालन गरिरहेको छ । कानूनमा १२ हप्ता सम्मको गर्भलाई गर्भपतन गराउन पाउने व्यवस्था छ । अशक्त महिला तथा विभिन्न कारणले गर्दा गर्भपतन गराउनुपर्ने भएमा सम्बन्धित निकायको सिफारिसमा गर्भपतन गराउन पाउने व्यवस्था छ ।