मध्य नेपालमा तीव्र बढ्दै कुपोषण

एक वर्षमा २ सय बालबालिका कुपोषित


मध्य नेपालमा तीव्र बढ्दै कुपोषण

नेपालगन्ज ९ भदौः नेपालगन्जमा उपचारमा आउनेमध्य हरेक वर्ष २ सय बालबालिकामा कुपोषणको समस्या देखिने गरेको पाइएको छ । भेरी अस्पताल परीसरमा रहेको पोषण पुनस्र्थापना गृहमा बसेर सेवा लिने सेवाग्राहीको संख्या वार्षिक करीब २ सय रहेको तत्थ्यांक छ ।

कार्यालयका अनुसार २०६० सालदेखी गैरसरकारी संस्थाले सञ्चालन गरेको यो गृहलाई २०६६ देखी नेपाल सरकारले सञ्चालन गरिरहेको छ। आर्थिक वर्ष २०६६/०६७ देखी ०७७/०७८ सम्म गृहमा भर्ना भएर १६ सय ५५ जनाले सेवा लिएकाछन् । हरेक वर्ष एक सय ५० देखि करीब २ सयको संख्यामा कुपोषण भएका बालबालिकाले गृहमा भर्ना भएर सेवा लिएको तत्थ्यांक छ ।

यो त गृहमा भर्ना भएर सेवा लिएकाहरुको तत्थ्यांक मात्र हो । हरेक वर्ष कति बालबालिकामा कुपोषण देखिने गरेकोछ भन्ने बारे यकिन तत्थ्यांक छैन । सरकारी तथ्यांक अनुसार, देशभर ६ महिनादेखि पाँच वर्षसम्मका २७ लाख बालबालिका छन् । जसमध्ये दुई लाख ७० हजार कुपोषित छन् । सरकारले बाल मृत्युदर घटाउने मुख्य कडीका रूपमा पोषण पुनस्र्थापना केन्द्रलाई लिएको छ । यसअघि प्रत्येक गृहमा ३० लाखका दरले बजेट दिँदै आएको सरकारले गत वर्षदेखि ५० लाख बजेट पु¥याएको छ । तर, कुपोषित बालबालिका लागि पोषण गृहले निःशुल्क रुपमा सेवा दिने गरेको अधिकांशलाई जानकारी नै नहुँदा सेवा प्रभावकारी हुन सकेको छैन ।

Kids Festival 2022
kanti aarogya hospital
add

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१२ बेलासपुरकी अस्मिता थारु चिडिमारले वडामा रहेको स्वास्थ्य चौकीमा बच्चाको तौल चेकजाँच गराउन जाँदा मात्र यो सेवाबारे जानकारी पाएको बताईन् । उनकी १६ महिनाकी छोरीको उमेर अनुसार तौल नपुगेपछि स्वास्थ्यचौकीले उनलाई भेरी अस्पतालमा रहेको पोषण गृहमा पठाएको हो ।

बाँके पुरैनीकी मिरा बर्माका ३ सन्तानमध्ये २१ महिनाको कान्छो छोरामा शरीर सुक्ने समस्या देखियो । यसका साथै बच्चाले आँखा नै नदेख्न थालेपछि उनलाई पनि स्वास्थ्यकर्मीको सहयोगमा यहाँ ल्याइएको हो ।

गृहमा राखेको २४ दिनको अवधिमा बच्चाको तौल डेढ किलो बढेको छ । बच्चामा देखिएको कुपोषणको समस्या ७० प्रतिशत सुधार भएको उपचारमा संलग्न नर्स सरस्वती आचार्य बताउँछिन् । उनका अनुसार, २१ महिनाको उक्त बच्चाको ५ किलो एक सय ग्राम तौल रहेकोमा बढेर हाल ६ किलो ३ सय ग्राम पुगेकोछ ।

यहाँ हरेक दिन ३/३ घण्टामा बालबालिकालाई दुध, अण्डा, दालभात, तरकारी लगायतका पोषणयुक्त खाना नियमित खुवाउने गरिएको उनले बताइन् । २०६१ सालदेखी यहाँ काम गरिरहेकी आचार्य अभिभावकमा अशिक्षाको कमीले यस्तो समस्या देखिरहेको बताउँछिन् । जन्मिन बित्तिकै दुध नखुवाउने, समयमा खाना नखुवाउने, जङ्कफुड खुवाउने लगायतका कारणले बच्चामा कुपोषणको समस्या देखिएको उनको भनाई छ ।

ग्रामीण क्षेत्रका विशेषगरि मधेशी समुदायका बालाबालिकामा कुपोषणको समस्या बढी देखिएको छ । नेपाल सरकारद्वारा सञ्चालित पोषण पुनस्र्थापना गृहले निःशुल्क रुपमा सेवा दिने गरेको हो । यहाँ बच्चाहरुको पोषण सुधारसागै आमाहरुलाई बच्चालाई खाना खुवाउने तरिका पनि सिकाउने गरिएको कार्यालयका व्यवस्थापक दामोदर खनालले बताए ।

उनका अनुसार, बच्चालाई डिस्चार्ज गर्दा आमाहरुलाई समेत खाना खुवाउने तरिकाबारे जानकारी दिएर पठाउने गरिएको छ । यसले कार्यक्रम प्रभावकारी बन्न मद्तपुग्ने उनको भनाई छ ।

बच्चाको अवस्था हेरेर २ हप्तादेखी डेढ महिनासम्म बालबालिकाले यहाँ बसेर सेवालिने गरेका छन् । बाँके, बर्दिया, दाङ्ग, सुर्खेत र जाजरकोट लगायत जिल्लाका सेवाग्राहीले पनि यहाँबाट सेवा लिइरहेका छन् ।

तर, गत २ वर्षमा कोरोनाका कारण सेवा थप प्रभावित भएको छ । करिब २ सयले वार्षिक रुपमा सेवा लिदैँ आएकोमा आर्थिक वर्ष २०७७/०७८ मा ८० जनाले मात्र सेवा लिएका छन् । भने आर्थिक वर्ष २०७५/०७६ मा १ सय ७८ जनाले सेवा लिएकोमा आर्थिक वर्ष २०७६/०७७ मा यो संख्या घटेर एक सय १० जनाले सेवा लिएको तथ्यांक छ ।

कोरोनाकालमा यातायात नचलेका कारण सेवा प्रभावित भएको कार्यालयका व्यवस्थापक खनालले बताए । अहिले कोरोनाको संक्रमणदर कायमै रहेकाले लक्ष्य अनुसारको सेवा प्रदान गर्न नसकिएको उनको भनाई छ । हाल गृहमा १७ जनालाई सेवादिन सकिने भएपनि ८ जनाले मात्रै सेवा लिइरहेको अवस्था छ ।

सरकारले प्रदेश ५ को बुटवलस्थित लुम्बिनी अस्पताल, नेपालगन्जस्थित भेरी अस्पताल र दाङ्गको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तथा कर्णाली प्रदेशको सुर्खेत र दैलेखमा एवम सुदूरपश्चिमको धनगढी, डडेल्धुरा र कञ्चनपुरमा पोषण पुनस्र्थापना गृह सञ्चालन गरिरहेकोछ ।

१२ वर्षको अवधिमा भर्ना भएका कुपोषित बालबालिकाहरुको संख्या

हेर्नुस् भिडियो