बाँकेमा रगत दिने भन्दा लिने धेरै


बाँकेमा रगत दिने भन्दा लिने धेरै

File Photo

नेपालगन्ज १८ भदौ : बाँकेमा रगत दिने भन्दा लिनेको संख्या धेरै रहेको पाइएको छ । नेपाल रेडक्रस सोसाइटी प्रादेशीक रक्तसञ्चार केन्द्रले गत वर्ष १६ हजार पिन्ट रगत खपत हुने अनुमान गरेको थियो । तर, कोरोनाका कारण लक्ष्य प्रभावित भएको केन्द्रका प्राविधिक अधिकृत उपेन्द्र रेग्मीले जानकारी दिए ।

रेग्मीका अनुसार, १० हजार ८ सय १६ पिन्ट रगत संकलन भएकोमा १३ हजार ८३ पिन्ट रगत सप्लाई भएको छ । यहि तथ्यांकले पनि रगत दिने भन्दा लिने धेरै भएको पुष्टि गर्छ । यसले गर्दा रगत आपूर्तीमा समस्या भइरहेको उनले बताए ।

‘अस्पतालमा बिरामी भर्ना भएको छ, रगत दिनुस् भनेर आउनुहुन्छ । हामीकहाँ ब्लड छ कि छैन भनेर पनि बुझ्नुहुन्न ।’ लिने तर दिने प्रवृती नभएको बताउँदै उनले भने ‘ब्लड लिइसकेपछि दिनुपर्छ भन्ने सोँचको विकास भएको भए ब्लडको अभाव हुने थिएन ।’

स्टकमा राखिएको रगत दिएर अभावलाई पूर्ती गर्ने कोशिस गरेको भएपनि कतिपय रगत समूह निश्चित समयसम्म मात्र स्टक राख्न मिल्ने भएकाले थप समस्या छ । अर्कोतिर नेगेटिभ रगतको माग धेरै हुने भएकाले बर्दिया, दाङ्ग, सुर्खेत र जुम्ला लगायतका जिल्लाहरुमा समेत रगत जाने गरेको छ ।

Kids Festival 2022
kanti aarogya hospital

केन्द्रले संकलन गरेको रगत पनि विभिन्न ग्रुपका बिरामीलाई दिनुपर्ने बाध्यता छ । सेता रक्तकोष, राता रक्तकोष छुट्याएर दिनुपर्छ । अर्कोतर्फ कोरोना संक्रमित भइसकेपछि प्रतिरक्षा प्रणाली बलियो बनाउन मद्दत गर्ने प्लाज्मा समेत संकलन गर्नुपर्ने बाध्यता भएकाले रगतको थप अभाव छ ।

व्यक्तिगत र विभिन्न संघसंस्थाहरुले जन्मदिन, वार्षिकोत्सव लगायतका विभिन्न अवसरमा रक्तदान गर्ने गरेको भएपनि सोचेअनुसारको उत्साह बढ्दो देखिदैन ।

मंगलबार नेपालगन्जका ११ वटा संघसंस्थाले बृहत रक्तदानको आयोजना गरे पनि ६० जनाले मात्रै रक्तदान गरे । यसले पनि रक्तदान गर्नेहरुको खासै उत्साह देखिएको पाइएन ।

यसो हुनुमा कोरोना पनि एक कारण रहेको रेग्मी बताउँछन् । कोरोनाको खोप लगाएको १४ दिन ननाघेसम्म रक्तदान गर्न नपाइने भएकाले पनि रक्तदाताहरु कम भएको हुन सक्ने उनको अनुमान छ ।
यहाँ नियमित रक्तदान गर्नेहरुको संख्या वार्षिक ३ हजार ५ सय देखी ४ हजारको संख्यामा रहेको उनले बताए ।

‘विश्व स्वास्थ्य संगठनका अनुसार २ प्रतिशतले रक्तदान गर्नैपर्छ । तर हामीकहाँ ०.५ प्रतिशत मात्र रक्तदान भइरहेको छ ।’ उनले भने ।

रक्तदानमा सहयोगी बन्दै सामाजिक सञ्जाल

पछिल्लो समय रगत दिने र लिनेका लागि सामाजिक सञ्जाल पनि छिटो छरितो माध्यम हुन थालेको छ । विभिन्न सामाजिक सञ्जाल र त्यसमा खोलिएका ग्रुपहरुले तत्काल सूचना प्रवाह गर्ने हुदाँ रगत प्रदान गराउन सहयोगी भूमिका खेलिरहेकोछ ।

अकस्मात रगत आवश्यक परेको खण्डमा कुन समुहको रगत चाहिएको हो भन्ने खुलाएर सामाजिक सञ्जाल फेसबुक, ट्विटरका विभिन्न पेजमा राख्ने गरिएको सूचनाले रगत जुटाउन सहयोगी भूमिका खेलीरहेको सामाजिक सञ्जाल फेसबुमा लामो समयदेखि ‘नेपालगन्ज ग्यालरी फेसबुक ग्रुप’ सञ्चालन गर्दै आएका यसका एडमीन समीरमान श्रेष्ठ बताउँछन् । उनका अनुसार सामाजिक सञ्जाल फेसबुकमा खोलिएको यो पेजमा एक लाख ३१ हजार बढि सदस्य छन् । त्यसले गर्दा सूचना फैलाउनका लागि समय धेरै लाग्दैन ।

‘हप्तामा ३/४ वटा रगत चाहियो भन्ने खालका पोष्टहरु आइरहेको हुन्छ । यसरी हेर्दा कम्तीमा पनि महिनामा १२ वटा पोष्ट भइराखेको हुन्छ । सबैले रक्तदाताहरु पनि भेटाउने गरेका छन् ।’ श्रेष्ठले अगाडी थपे ‘ती मध्य बाँके र बर्दियाका विरामीहरु धेरै छन् ।’

बाँकेमा सामाजिक सञ्जालमा नेपालगन्ज ग्यालरी, नेपालगन्ज ब्लड डोनेसन ग्रुप, ब्लड डोनर ग्रुप लगायतका पेज र गु्रपले रक्तदानका कार्यमा सहजिकरण गर्दै आएका छन् ।