जसले एक दिनमा दुई लाख रुपैयाँ रक्सीमा सके


जसले एक दिनमा दुई लाख रुपैयाँ रक्सीमा सके

नेपालगन्ज २७ भदौ : तपाईलाई विश्वास नलाग्ला । दुव्र्यशन यस्तो लत हो, जसले नातागोता, आफ्नो पराई केहि भन्दैन । जीवन पुरै डुबिसक्दा पनि होस् आउँदैन । जब होस् आउँछ, तब जीवन सकिसकेको हुन्छ । यस्तै नेपालगन्जको एउटा घटना छ ।

नेपालगन्ज उपमहानगरपालिकाका ४० वर्षिय एक पुरुषले एकैदिन दुई लाख रुपैँया रक्सिमा खर्चिएको बताएका छन् । किसान परीवारमा जन्मिएका उनी सानै उमेरदेखी रक्सि पिउन थाले । नजिकमा थारु समुदायको बस्ती थियो । थारु समुदायका हरेक चाडमा अलिअलि रक्सी पिउनुलाई सामान्य रुपमा लिइन्छ । अलिअलि त्यसको प्रभाव । यसका साथै साथी, संगत उस्तै ।

त्यसपछि बिस्तारै रक्सिमा उनको लत बस्यो । उनी विस्तारै विस्तारै अलिअलि गर्दागर्दै उनको जीवनको उर्जावान समयको २० वर्ष रक्सीको लतमा डुब्यो । यो अवधीमा उनले आफ्ना, पराई, नातागोता कसैको वास्ता गर्ने फूर्सद पाएनन् । न त जिम्मेवार अभिभावक बन्ने सके । एकातिर जीवनको उर्जावान समयको नास भयो । त्यसमाथि यसमा कति रकम सकियो भन्ने लेखाजोखा नै छैन ।

उनी रोजगारीको शिलशिलामा विदेश पनि गए । कमाई राम्रै भएकाले पैशाको अभाव थिएन । कोरोनाले लकडाउन भएपछि उनी नेपाल फर्किए । उनी ९ वर्ष विदेशमा बसेर फर्किएका थिए । यसक्रममा उनले एकैदिनमा २ लाख रुपैँयासम्म रक्सिमा खर्चिएको बताए । ‘नशाले कसरी डुबाउछ भन्ने पत्तै भएन । साथीहरुसंग बसेर खाँदाखादैँ २ लाख रुपैँयासम्म खर्च भएछ’ उनले भने ।

Kids Festival 2022
kanti aarogya hospital
add

लकडाउनको फुर्सदमा नेपाल फर्किएका उनी झनझन रक्सिको लतमा डुबे । कहिले विदेशी त कहिले लोकल ठर्रा । ‘विदेशमा काम पनि गरीन्थ्यो, अलिअलि खाइन्थ्यो । नेपाल आएपछि लकडाउनमा केहि काम थिएन । खाने बस्ने मात्रै भएपछि झन लतमा फसे ।’ उनले भने ।

उनी नेपाल प्रहरी र नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमा गणेशमान चोकमा सञ्चालित लागुऔषध विरुद्ध निःशुल्क परामर्श केन्द्रमा आइपुगे । यहाँ आइपुग्नु नै उनका लागि होस् आउनु साबित भयो । केन्द्रको निरन्तरको परामर्श र उपचारपछि यो लतबाट मुक्त भएको उनी बताउँछन् ।

केन्द्रमा आएको करीब एक महिनामै आफुमा आएको परीवर्तनबारे बताउँदै उनले भने –‘अहिले शरीर फूर्तिलो महसुस भएको छ । विहान ५ बजे उठ्छु । घरको काममा सघाउँछु ।’ उनको किराना पसल पनि छ । फूर्सदको समयमा पसल हेर्ने गरेको उनले बताए ।

‘पहिला त खायो, झुम्म भयो । दिनभरी सुत्यो । शरीर भारी हुन्थ्यो । छिमेकिले जति राम्रो गरेपनि नराम्रै सोच्थे । कतैबाट आएको देख्नेवित्तिकै दरुवा आयो भन्थे । दुःख लाग्थ्यो ।’ आफूले २० वर्षदेखीको लत छोड्नुको कारणबारे उनले अगाडि थपे– ‘अब ४० वर्ष लागियो । छोराछोरी ठूलठूला भए । घरमूली मान्छे नै यसरी हिडेपछि घरपरीवारको भविष्य के होला भन्ने पनि मनमा लाग्यो ।’

केन्द्रमा उपचारका लागि आउँदा उनी परीवार र छोराछोरीको साथमा आएका थिए । ७० हजार तिरेर पुर्नस्थापना केन्द्रमा बसेर पनि लत छुटाउन नसकेका उनी यस परामर्श केन्द्रको उपचार पद्धतीका कारण बदलिएको बताउँछन् । ‘सुधार केन्द्रमा जेलमा बसेजस्तो लाग्थ्यो । यहाँ दिनभरी उपचार हुन्छ, रातमा घर जान पाइन्छ । उपचार र स्वतन्त्रता दुबै भएर लत छोड्न सकेकि जस्तो लाग्छ’ उनले भने ।

उनले अहिले २ वटा रिक्सा किनेर भाडामा दिइसकेको समेत बताए । अब हुने आम्दानी बचत गर्ने र छोराछोरीको भविष्यका लागि लगानी गर्ने उनको सोँच छ ।

उनीजस्तै, कोहलपुरका २१ वर्षिय युवक आमासंग औषधि लिनका लागि रुपैडिया जान्थे । उनी पायल्स रोगबाट पीडित थिए । सधै आमाछोरा औषधि लिन जाने गरेकोमा एकदिन आमा कामको व्यस्तताका कारण जान पाइनन् । उनले छोरालाई एक्लै पठाउनुपर्ने भयो ।

‘छोरा गइसकेपछि कतै दुर्घटनामा पर्ला की केहि होला की भन्ने मनमा डर लागेको थियो । तर, लागुऔषध लिएर आउँदै गरेको अवस्थामा तपाईको छोरा प्रक्राउ प¥यो भनेर सुन्दा जमिनै भासिए जस्तो लाग्यो’ ती यूवककी आमाले भनिन् ।

छोराछोरीलाई ध्यान दिँदादिदै पनि यस्तो दुव्र्यसनमा फसेको उनी बताउँछिन् । ती यूवक पनि हाल उक्त केन्द्रमा उपचारमा छन् । प्रहरीले पहिलो पटक लागुपदार्थ सेवन गरेकोले सुध्रिनका लागि चेतावनी दिएको छ ।

प्रहरीको चेतावनीपछि उनी सजक भएका छन् । ‘साथीहरुको संगतमा चुरोट खाइयो । गाँजा खाइयो । बुवाआमालाई रुवाउने काम भयो । यहाँ आएपछि अरुको कुरा सुने, बुझेँ । यो बाटो गलत हो भन्ने महसुस भएपछि लागुऔषधको लत छोड्न सकेँ ।’

उनले लागुऔषधमा हात नलगाएको करीब एक हप्ता भइसकेको छ । करीब २ वर्ष अघिदेखी उनले लागुऔषध प्रयोग गरीरहेकोमा हाल केन्द्रको उपचारपछि सुधार भएको बताएका छन् । हाल उनी फूर्सदको समयमा आफ्ना भोगाइहरु लेख्छन् र काम पनि गर्दै आएका छन् । उपचारपछि शरीर फुर्तिलो भएको आफूमा परीवर्तन आएको बताउँदै उनले परिवारलाई पनि काममा सघाइरहेको बताए ।

उनीजस्तै, ७८ जनाले डेढ वर्षको अवधिमा केन्द्रबाट सेवा लिएका छन् । जसमध्य ७४ जना पुरुष रहेका छन्, भने ४ जना महिला छन् । केन्द्रका प्रमुख परामर्शदाता दीपेन्द्र प्रसाद जोशीले लागुऔषधमा १२ वर्षदेखी २५ वर्षसम्मका युवाहरु बढी फसेको बताए । तर, केन्द्रले निःशुल्क रुपमा दिइरहेको भएपनि सेवा लिन आउनेहरुको संख्या न्यून भएको बताएका छन् ।

‘केन्द्रमा उपचार लिन आउँदा लागुऔषध सेवनकर्तासंगै अभिभावक पनि आउनुपर्छ । अभिभावकसंगै राखेर आवश्यक्ता अनुसारको नियमित उपचार दिने गरेका छौँ’ उनले भने । यसका लागि केन्द्रमा ६ वटा डाक्टरहरुले निःशुल्क रुपमा सेवा दिइरहेका छन् । मनोपरार्शका साथै स्वास्थ्यमा देखिएका समस्या समाधान गर्न छुट्टाछुट्टै डक्टरको व्यवस्था गरिएको हो ।

केन्द्रमा भेरी अस्पतालमा कार्यरत डाक्टर सुमन अर्याल, नेपालगन्ज मेडिकल कलेजमा कार्यरत डाक्टर रोमन किदवाई, डाक्टर तनविर अहमद खाँ र हरीओम क्लिनिक नेपालगन्जमा कार्यरत डा. गौरव श्रेष्ठले निःशुल्क उपचार सेवा दिइरहेका छन् । त्यस्तै प्रहरी अस्पतालका २ जना डक्टरले समेत सेवा दिइरहेको अवस्था छ ।

यस्तो अवस्थामा पनि सामाजीक प्रतिष्ठाको कारण देखाउँदै उपचारमा आउन नचाहने धेरै देखिएको जोशीले बताए । उपचार र परामर्श दिदै सेवनबाट मुक्त गराउने उद्देश्य बोकेको केन्द्रले सञ्चालन भएदेखी हालसम्म १७ जना सुधार भएर गएको जनाएको छ । सेवाका लागि ९८५८०७०१९९ मा कल गरेर पनि जानकारी लिन सकिने उनको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय बाँके अपराधिक क्रियाकलापमा झण्डै ८० प्रतिशत मानिसहरु लागुऔषध प्रयोगकर्ता रहेको बताउँदै आएको छ । गतवर्ष १ सय २६ जना बिरुद्ध मुद्दा नै चलाएको तथ्यांक छ ।

पहिलो चरणमा भेटिएका लागुऔषध सेवनकर्तालाई सम्झाई बुझाई गरी निःशुल्क परामर्श तथा उपचार केन्द्रमा पठाउने गरिएको हो । निःशुल्क उपचार सेवा सञ्चालन हुँदा पनि उपचारमा ल्याउनका लागि अभिभावकहरुले नै चासो नदिएको पाइएको छ ।