बाँकेका प्रौढ महिलामा मेटिएन ‘पढ्ने तिर्खा’


बाँकेका प्रौढ महिलामा मेटिएन ‘पढ्ने तिर्खा’

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१८, भुजइ गाँउकी अतिकूल नाउ । तस्विर : निशु जोशि /सेतोखरी

नेपालगन्ज २७ भदौः बाँकेका प्रौढ महिलामा पढ्ने तिर्खा अझैँ नमेटिएको पाइएकोछ । नेपाल सरकारले साक्षर नेपाल घोषणा गर्नका लागि भन्दै ३/३ महिने प्रौढ कक्षा, निरन्तर शिक्षा सञ्चालन गरेको थियो । यो कक्षाले पनि पढ्ने भोक नमेटिएको प्रौढ महिलाहरुले बताएका छन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१८, भुजइ गाँउकी अतिकूल नाउ एउटा कार्यक्रममा सहभागी थिइन् । उनले एउटा स्मार्ट फोन बोकेकी थिइन् । फोनमा घण्टि बज्यो । घण्टी बज्नासाथ उनले हरीयो संकेत थिचिन् । यत्तिकैमा भिडियो देखियो । जहाँ उनका छोरा देखिए । उनले छोरासँग घरायसी कुरा गर्न थालिन् ।

करीब ४० वर्षकी नाउले फोन बोक्न लागेको धेरै समय भएको छैन । केही समयअघिसम्म उनका छोराछोरीले मात्र मोबाइल बोक्थे । प्रविधिसँग भिज्न उनलाई पनि रहर थियो । प्रौढ कक्षा, साक्षरता कक्षामा सहभागी बनेपछि उनी आफै मोबाइल फोन चलाउन सक्ने भएकी हुन् । उनले सामान्य लेखपढ गर्न जानेकी छन् । कखरा र एक सय सम्मका गन्ती उनलाई आउँछ ।

नाउका ३ छोरा र २ छोरी गरेर ५ वटा छोराछोरी छन् । यो उमेरमा धेरै महिलाहरु पढ्न र सिक्नका लागि झन्झट मान्छन् । तर, उनी अझैँ पढेर कटाईसिलाई गर्न चाहन्छिन् । किनकी कटाईसिलाईको हिसाब बुझे्न पनि पढाइ नै चाहिन्छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

उनी जस्तै, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१८ कारकाँदोकी ४० वर्षिय रामावती बर्माको पनि पढ्ने तिर्खा मेटिएको छैन । बर्मा १ छोरा र २ छोरीका आमा हुन् भने एक नातीकी हुजुरआमा । प्रौढ शिक्षा, साक्षरता कक्षामा सहभागी भएकी उनमा अझै पनि पढ्ने ईच्छा तीब्र छ ।

बाल्यकालमा उनले छोरीलाई स्कुल पढाइन् । आजभोली छोरीले उनलाई घरमै पढाइरहेकीछन् । कहिलेकाँही फुर्सदमा बुहारीले पनि उनलाई लेखपढ गर्न सघाउँछिन् ।

अधिकांशले यो उमेरमा पढेर के गर्ने भन्छन् ? तर, बर्माको रहर छ, पढेर बैंक वा कुनै नयाँ ठाँउमा जाँदा बोर्डमा लेखिएका अक्षरहरु सजिलै पढ्न सकुँ । गाँउमा कुनै संघसंस्थाका ब्यक्ति आउँदा उनीहरुसँग निर्धक्क कुराकानी गर्न सकूँ । पढाई नभएकै कारण कुनै ठाँउमा पनि अपहेलित हुनु नपरोस् ।

यो उमेरमा पुग्दा बाल्यकालमा पढ्न नपाएहरु अधिकांशले पछुतो गरिरहेका देखिन्छन् । त्यो समय नै उस्तै । त्यसमाथि छोरीलाई पढाउनु भन्दा घरको काम सिकाउनु पर्ने अभिभावको बाध्यता ।
१२/१५ वर्षको उमेरमा घरगरी खान सकोस्, भन्ने चाहानाले अभिभावकले नेपालगन्जकी गीतादेवि शर्मालाई पनि घरको काम नै सिकाए । ३ वटा छोराछोरी हुर्किसकेपछि उनी पनि आजभोली अक्षर चिन्न, लेख्न र पढ्न सिक्दैछिन् । उनको पनि पढ्ने तिर्खा अझैं मेटिएको छैन ।

साक्षरता कक्षा जस्तै अन्य कक्षा सञ्चालन भएमा पढ्ने ईच्छा रहेको उनी बताउँछिन् ।

नेपाल सरकारबाट साक्षर नेपाल घोषणा कार्यक्रम अन्र्तगत बाँकेका सबै पालिकामा साक्षरता कक्षा सञ्चालन भएका थिए । नेपालगन्ज उपमहानगररपालिका वडा नम्बर–१८ मा ५ वटा कक्षा सञ्चालनमा थिए । गत बैशाखमा सम्पन्न उक्त कक्षामा एउटा समुहमा २५ जना सहभागी गराइएको थियो । जसमा १८ देखी ६० वर्षका महिला सहभागी रहेको सामुदायीक सिकाई केन्द्र नेपालगन्जका सचिव सुनिता विष्टले जानकारी दिइन् ।

बर्मा, शर्मा र नाउ पठन तथा लेखन कलामा उत्कृष्ठ देखिएको विष्टले बताइन् ।

उनका अनुसार, प्रौढ कक्षा ३ महिना, निरन्तर शिक्षा ३ महिना सञ्चालन भइसकेको अवस्थामा छुटेकाहरुका लागि र थप शिक्षाका लागि साक्षरता कक्षा भनेर गत माघमा २ महिना कक्षा सञ्चालन भएको थियो । लकडाउनका कारण गत बैशाखमा उक्त कक्षा सम्पन्न भएका छन् । उनीहरु पनि ती कक्षामा सहभागी थिए ।

दैनिक २ घण्टा सिकाइने उक्त कक्षामा कखरा, गन्ति र सामान्य व्यवहारिक कुरा जस्तै, बील, भरपाई, मूल्य सूची, घडी हेर्न सिकाउने, महिना, बारहरु बारे जानकारी गराइएको थियो ।

विस २०६८ को जनगणना अनुसार बाँकेमा ६३ प्रतिशत साक्षर छन् । साक्षर जिल्ला घोषणा गर्न १५ देखि ६० वर्ष उमेरका ९० प्रतिशत मानिस साक्षर हनुपर्छ । पूर्ण साक्षर जिल्ला घोषणा गर्न ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर हुनुपर्ने प्रावधान छ ।

बाँकेको कोहलपुर नगरपालिका, खजुरा, जानकी र राप्तिसोनारी गाउँपालिका भने साक्षर घोषणा भइसकेका छन् । नेपालगन्जसँगै बाँकेका डुडुवा, नरैनापुर र बैजनाथ गाउँपालिकाले साक्षर पालिका घोषणा गर्न सकेका छैनन् ।

साक्षर घोषणा गर्न सञ्चालन भएका कतिपय कक्षाहरु प्रभावकारी हुन नसकेको स्थानीयहरुको भनाई छ । लुम्बिनी प्रदेशमा बाँके र कपिलबस्तु जिल्ला अझैँ साक्षर घोषणा हुन सकेका छैनन् ।
कतिपय कक्षामा महिलाहरु नै सहभागी हुन नचाहाने देखिएको छ भने कतै महिलाहरुमा भने अझै पढ्ने चाहाना देखिएको छ ।