नेपालगन्जका विद्यालय खुलेपनि पठनपाठन अगाडी बढाउन अझै अन्यौलता


नेपालगन्जका विद्यालय खुलेपनि पठनपाठन अगाडी बढाउन अझै अन्यौलता

कोरोना कहरकैबीच नेपालगन्जमा सञ्चालनमा आएका विद्यालयमा अध्ययनरत विद्यार्थी । तस्विर : निशु जोशी /सेतोखरी

नेपालगन्ज ३१ भदौः नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१२ मा रहेको श्री नेपाल आधारभूत विद्यालय बेलासपुरले विद्यालयमा पठनपाठन सुरु गरिसकेको छ । कोभिड संक्रमणको जोखिम कायमै रहेको अवस्थामा सुरक्षाका मापदण्ड पालना गर्दै २ सिफ्टमा कक्षा सञ्चालन गरिरहेको विद्यालयका प्रधानाध्यापक सरीता श्रेष्ठले बताइन् ।

लामो समयसम्म विद्यालय बन्द हुदाँ अस्तव्यस्त बनेको विद्यालयका संरचनाव्यवस्थापनगर्दै पठनपाठन सुरु गरीएको उनको भनाई छ । केहिदिन अघि मात्रै खुलेकाले विद्यालय आउने बालबालिकाको संख्या कम छ ।

तर यसवर्ष कोभिडले सबै क्षेत्र बन्द भएपछि आर्थिक अवस्था कमजोर भएका अभिभावकले निजी विद्यालयमा शुल्क तिर्न नसकेर बालबालिकालाई सरकारी स्कुलमा भर्ना गरेका छन् । यसकारण यस बर्ष विद्यालयमा विद्यार्थीको संख्या बढेको उनले बताइन् ।

‘कोरोनाको जोखीम कायमै छ । बालबालिकालाई आज मास्क दिन्छौँ घर पुग्न वित्तिकै फालिदिन्छन् । अभिभावकले पनि खासै चासो दिएको पाइदैन’ उनले भनीन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

सरकारले विद्यालय सञ्चालन गर्न अनुमति दिएको भएपनि कोरोना संक्रमणका कारण पठनपाठन कसरी अगाडि बढाउने भन्नेमा अझै अन्यौलता देखिएको उनको भनाई छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२ घरबारीटोलमा रहेको श्री नेपाल आधारभूत विद्यालय पनि सञ्चालनमा आइसकेको छ । कोरोनापछि विद्यालय बन्द भएको समयलाई मध्यनजर गर्दै सरकारले तय गरेको नयाँ वार्षिक योजना अनुसार यस बर्षको पठनपाठन भइरहेको शिक्षिका तारा न्यौपाने बताउँछिन् ।

‘कोरोनापछि हामीले बालबालिकालाई प्रत्येक महिना गृहकार्य दिने गरेका थियौं । नजानेका कुरा फोनबाट पनि जानकारी दियौँ । अभिभावकलाई नै बोलाएर बालबालिकालाई गृहकार्य दिने गरेका थियौँ ।’ उनले अगाडि थपिन् ‘अब विद्यालय खुलिसकेकाले पढेका पाठहरु दोहोराएर पनि पढाउने तयारी छ ।’

बालबालिकाहरु पनि विद्यालयमा आएर खुशी भएका छन् । लकडाउनको समयमा घरमै बसेर सिलाई बुनाई, इन्टरनेट र प्रविधिको प्रयोग गर्न सिकेको उनीहरुले बताए । कक्षा ७ मा अध्ययनरत रबिना नेपालीले घरमा खेलौनाका लागि लत्ता कपडा बनाएको बताइन् । उनले भनीन् ‘दुलहीका लागि बनाउने घुम्टो बनाउन सिकेँ । विचमा लकडाउनमा के गर्ने भन्ने भइरहेको थियो । शिक्षकहरुले फोन गरेर नै गृहकार्य दिएपछि पढाईलाई निरन्तरता दिन सहजभ यो ।’

विद्यालयले पनि पढ्न र सिक्नका लागि लकडाउनको समयमा कसरत गरेका थिए । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१८ कारकाँदोकी अभिभावक सृजना डांगीले घरमा बालबालिकालाई पढाउनका लागि मेहनत गरेको बताइन् । तर, विद्यालयमा भएको जस्तो घरमा बालबालिकाले नपढिदिँदा समस्या भएको उनको भनाई छ ।

कोभिडको त्रासले पठनपाठनमा अन्यौलता रहेपनि नेपालगन्जभित्र सबै विद्यालय खुलीसकेको नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख गोरखबहादुर थापाले बताए । विद्यालय खुले लगत्तै मापदण्ड पालना गरे नगरेको अनुगमन भइरहेको उनको भनाई छ । ‘अनुगमनका क्रममा कम विद्यार्थी भएका विद्यालयले एकै समयमा, धेरै बालबालिका भएका विद्यालयले विहान र दिँउसो गरी २ सिफ्टमा पढाईरहेको पाइयो’ उनले भने ।

उपमहानगरपालिका भित्र ४३ वटा सामुदायीक, ३८ वटा धार्मिक र ७८ वटा संस्थागत विद्यालय सञ्चालनमा रहेका छन् ।