दशैँ ‘कोशेलीमा मुस्ताङको स्याउ : प्रतिकिलो रु २०० देखि रु २५० सम्ममा बिक्री


दशैँ ‘कोशेलीमा मुस्ताङको स्याउ : प्रतिकिलो रु २०० देखि रु २५० सम्ममा बिक्री

बलेवा (बागलुङ) १७ असोजः चाडपर्वका बेला बागलुङ, पर्वत, म्याग्दीलगायतका जिल्लामा एउटा चलन छ, ‘कोशेलीमा मुस्ताङको स्याउ’ । दशैँको बेला त मुस्ताङको स्याउको कोशेली झनै चल्छ ।

दशैँको छेको पारेर मुस्ताङको स्याउ बजारमा आएको छ । उक्त स्याउ असोज १ गतेदेखि बिक्रीका लागि बजारमा देखिन थालेको हो । रातो र सेतो रङको स्याउको बागलुङ, कुश्मा, बेनीलगायतका बजारमा बिक्री अत्यधिक बढेको छ । धादिङका चन्द्र लामालाई यतिबेला बजारमा स्याउ पु¥याउन भ्याइनभ्याई छ । हरेक वर्ष मुस्ताङको टुकुचेमा बगान ठेक्कामा लिएर उनले स्याउ बजारमा पु¥याए । लामाले यसवर्ष पनि बगान ठेक्कामा लिएका छन् ।

‘रु ५० लाखमा खरिद गरेको बगानका स्याउ दसैँअघि नै बजारमा पु¥याउने लक्ष्य छ’, उनले भने । उनले टुकुचेमा स्थानीयवासीको बगान ठेक्कामा लिएका हुन् । ‘दशैँपछि बजारमा माग घट्छ, कोशेलीकै कारण दसैँका बेला बजारमा स्याउ राम्रोसँग बिक्री हुन्छ,’ लामाले भने, ‘दिनमा दुई ट्रकसम्म स्याउ बजार पु¥याउने गरेको छु ।’

बजारमा मुस्ताङको स्याउको माग अत्यधिक छ । लामाजस्तै अन्य व्यवसायीलाई अहिले मुस्ताङको स्याउ काठमाडौँ, पोखरा, बागलुङलगायतका सहरमा पठाउन भ्याइनभ्याई छ । बगैंचामा सङ्कलन गरेर बजारमा पठाउँदा मुस्ताङमै मूल्य प्रतिकिलो रु ८० देखि रु १२५ सम्म पर्छ । दशैँ तिहारको समयमा स्याउ पाक्ने भएकाले यसको खपत बढी हुन्छ । ‘यहाँ मुस्ताङको स्याउ पाइन्छ’ अधिकांश फलफुलका पसलमा यही लेखेर टाँस्ने गरेको स्याउ व्यवसायी पल डिसीले बताए । व्यापारीले मुस्ताङको स्याउ प्रतिकिलो रु २०० देखि रु २५० सम्ममा बिक्री गर्छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

विसं २०२२ मा कृषि मन्त्रालय अन्तर्गतको फल उद्यान विभागले भारतीय राजदूतावासको सहयोगमा भारतको कश्मीरबाट स्याउका बिरुवा ल्याएर वितरण गरेको तथ्याङ्क छ । सरकारले सुरुआतमा किसानलाई स्याउका बेर्ना बाँडेको थियो । वर्षभरि खान चाना बनाएर सुकाउने चलन छ ।

मुस्ताङमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘एप्पल जोन’ कार्यक्रम सञ्चालनमा छ । ‘एप्पल जोन’ कार्यक्रमका प्रमुख सुधीरा थापाका अनुसार मुस्ताङमा एक हजार ४०० हेक्टर जमिनमा स्याउ लगाइएको छ । पाँच सय हेक्टर जमिनमा मात्र अहिले उत्पादन दिने बिरुवा तयार छन् ।–रासस