बाँकेपछि दाङको रिहार–अमिलिया सडकमा चितुवा र बाघको समूह फेला पर्यो

सतर्क हुन डिभिजन वनको आग्रह


बाँकेपछि दाङको रिहार–अमिलिया सडकमा चितुवा र बाघको समूह फेला पर्यो

नेपालगन्ज १८ असोज : बाँकेको पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्र्तगत गाभर नजिक पाटेबाघ आक्रमणको घटना सेलाउन नपाउँदै दाङको अमिलिया नजिक चितुवा र बाघको समुह देखा परेकोछ ।

आईतबार बेलुकी लमही नगरपालिका वडा नम्बर ९ रिहारदेखि करिब ७/८ किलोमिटर अमिलियातर्फ पूर्वपश्चिम महेन्द्र राजमार्गमा चितुवा र बाघको समूह देखा परेको हो ।

स्थानीयले उक्त क्षेत्रमा वन्यजन्तु देखेपछि डिभिजन वन कार्यालय लमहीलाई खबर गरेका थिए । रातको समयमा बाँके निकुञ्ज र दाङको सीमाक्षेत्रका आसपासमा चितुवा र बाघको समूह राजमार्गमा देखिएकाले डिभिजन वन कार्यालय दाङ(देउखुरी)ले सतर्कता अपनाउन आग्रह गरेको छ ।

वन कार्यालयले उक्त क्षेत्रमा मोटरसाइकल, पैदलमार्ग र खुला सवारीसाधनबाट आवतजावत गर्दा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ । सकेसम्म रातको समयमा एक्लै उक्त क्षेत्र भएर हिडँडुल तथा आवतजावत नगर्न वन कार्यालय लमहीले आग्रह समेत गरेको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

बाँकेपछि दाङको रिहारदेखि अमिलियातर्फको क्षेत्रमा चितुवा र बाघको समूह देखिएपछि यतिबेला बाँके र दाङ वन्यजन्तु सुरक्षाको दृष्टिले जोखिमपूर्ण रहेको पाइएकोछ । दाङको रिहारदेखि अमिलियातर्फको मुख्य राजमार्गमै चितुवा र बाघको समुह फेला परेपछि सो क्षेत्र भएर यात्रा गर्नेहरु उच्च जोखिममा रहेकाछन् ।

यता बाँकेको गाभर नजिकै गत भदौ २७ गते आईतबार बेलुका सडकबाट तानेर एक ४५ वर्षिय भारतीय पुरुषलाई २ वटा पाटेबाघले खाएपछि यतिबेला सो क्षेत्रमा प्रायजसो धेरै संख्यामा बाघ देखा पर्न थालेका छन् ।

यही शनिबारमात्रै भैंसी र बाख्रा लिएर चराउन गएका बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर– १ गाभर निवासी अन्दाजी ५६ वर्षका सेतु ओली, २५ बर्षिया हीरा खड्का र २४ बर्षिया कालिका खड्कालाई पाटेबाघले घेरा हालेको थियो ।

पूर्व पश्चिम राजमार्गदेखी करिब एक किलोमिटर दक्षिण खर्चेताल नजिक तीनवटा पाटेबाघले भैंसी र बाख्रा चराउन गएका उनीहरुलाई घेरेपछि आफ्नो ज्यान जोगाउन उनीहरु रुखमा चढेका थिए । डेढ घण्टापछि दुई वटा हात्ति प्रयोग गरि निकुञ्जको टिमले उनीहरुको सकुसल उद्धार गर्न सफल बनेको थियो ।

बाँकेमा बाघले मान्छे खाएको ३ हप्ता पुग्दा समेत बाघ नसमातिएपछि बाँकेको गाभर, कुसुम, सौंरीगाउँका बासिन्दा बाघ आएर झम्टिने हो की भनेर त्रसित बनेकाछन् । अझ बाँकेसंगै दाङको रिहारदेखि अमिलियातर्फको क्षेत्रमा चितुवा र बाघको समूहनै फेला परेपछि डिभिजन वन कार्यालय दाङले चितुवा र बाघबाट बच्न सतर्क हुन आग्रह गरेको छ ।

यता बाँकेमा मान्छे खाएको घटना र ती दुई पाटेबाघ पूर्वपश्चिम महेन्द्र राजमार्गमै पटक–पटक देखिएकाले जिल्ला प्रशासन कार्यालय बाँकेले गत भदौ २८ गते सोमबार एक सूचना जारी गरि सो सडकमा रात्रिकालिन आवागमनमा रोक लगाएकोछ ।

विशेषगरि रात्रिकालिन समयमा हलुका र खुला गाडी टेम्पो, मोटरसाईकल, साईकल, पैदलयात्रीलाई हिँडडुलमा रोक लगाएकोछ । भने दिनमा यी सवारीसाधन समुहमा पठाउन मात्र अनुमति दिएकोछ ।