नेपालमा बालिकामाथि हुने बलात्कारको संख्या डरलाग्दो, १० वर्षमुनीका बालबालिका पनि बलात्कारको सिकार


नेपालमा बालिकामाथि हुने बलात्कारको संख्या डरलाग्दो, १० वर्षमुनीका बालबालिका पनि बलात्कारको सिकार

नेपालगन्ज ११ कार्तिक : प्रहरी प्रधान कार्यालयको एक तथ्यांकले नेपालमा १८ वर्षभन्दा मुनिका बालबालिकामाथि हुने बलात्कारको डरलाग्दो स्थिती बाहिर ल्याएकोछ । प्रहरीको उक्त तथ्यांकले नेपालमा १८ वर्षभन्दा कम उमेरका बालिकामाथि हुने बलात्कारका घट्नामा कमी आउन नसकेको पुष्टि गर्छ ।

वर्षेनी बालबालिकामाथि हुने बलात्कार, यौनजन्य हिंसाका घटनाले नेपालमा बालबालिकाको अवस्था झन् भयाबह बन्दै गएको पुष्टि गरेकोछ । पछिल्लो तीन वर्षमा (चालु आर्थिक वर्षबाहेक) मात्र ८ सय ७६ जना बलात्कारका पीडितको उमेर १० वर्षभन्दा कम छ । आर्थिक वर्ष २०७५/०७६ मा २ सय ९८, २०७६/०७७ मा २ सय ७३ र २०७७/०७८ मा १ बालकसहित ३ सय ६ जना बलात्कारका पीडितको उमेर १० वर्षभन्दा कम रहेको थियो ।

प्रहरी तथ्यांक अनुसार पछिल्ला तीन वर्षमा (चालु आर्थिक वर्षबाहेक) बलात्कारका आरोपीमध्ये १० वर्षभन्दा कम उमेरकाको संख्या १७ रहेको छ ।

यसैगरि ११ देखि १६ वर्ष उमेरका आरोपी ५ सय २१ जना रहेका छन् । यसैगरी १७ देखि १८ वर्ष उमेरका आरोपीको संख्या ४ सय ४६ रहेको छ । आर्थिक वर्ष २०७५/०७६ मा ३ सय २८ बालक, २ जना महिला र २ हजार २ सय २७ पुरुषमाथि बलात्कारको आरोप लागेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

२०७६/२०७७ मा ३ सय ५ बालक, ३ महिला र २ हजार एक सय ३४ पुरुषमाथि बलात्कारको आरोप लागेको थियो । २०७७/०७८ मा बलात्कारको आरोप लागेका बालक ३ सय ४७, बालिका ४, महिला ६ र पुरुष २ हजार ४ सय ५७ जना रहेका थिए ।

कानूनअनुसार दश वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपाङ्गता भएका वा सत्तरी वर्षभन्दा बढी उमेरका महिलालाई बलात्कार गरेमा जन्मकैद हुने व्यवस्था छ ।

दश वर्ष वा दश वर्षभन्दा बढी चौध वर्षभन्दा कम उमेरकी बालिकालाई बलात्कार गरे अठार वर्षदखि बीस वर्षसम्म कैद, चौध वर्ष वा चौध वर्षभन्दा बढी सोह्र वर्षभन्दा कम उमेरकी बालिकालाई बलात्कार गरे बाह्र वर्षदेखि चौध वर्षसम्म कैद तथा सोह्र वर्ष वा सोह्र वर्षभन्दा बढी अठार वर्षभन्दा कम उमेरकी महिलालाई बलात्कार गरे दश वर्षदेखि बाह्र वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

यसैगरी अठार वर्ष वा अठार वर्षभन्दा बढी उमेरकी महिलालाई बलात्कार गरे सात वर्षदेखि दश वर्षसम्म कैद हुने व्यवस्था मुलुकी अपराध (संहिता) ऐन २०७४ मा छ ।

नेपालको मुलुकी अपराध (संहिता) ऐन(२०७४ ले महिलाको मञ्जुरी बेगर हुने शारिरिक सम्बन्ध बलात्कार हुने ब्याख्या गरेको छ । त्यसैगरी १८ वर्षभन्दा कम उमेरका बालक वा बालिकासँग सहमतिमै यौन सम्बन्ध भएपनि त्यो बलात्कार हुने व्यवस्था ऐनमा छ ।