डा. मिनेन्द्र रिजाल अस्ट्रेलिया भ्रमणमा
अस्ट्रेलिया: नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले काँग्रेसमा आस्था राख्ने सवै प्रवासी नेपालीलाई एकताबद्ध भई नेपालको विकासमा योगदान पु¥याउन आग्रह गरेका छन् । सबै एउटै मालामा गाँसिए काँग्रेस अगाडी बढ्ने पनि नेता रिजालले बताए ।
अस्ट्रेलियामा रहेका नेपाली काँग्रेससम्बद्ध विभिन्न संघ-संगठनका प्रतिनिधिहरुसँग समेत भेटघाटका क्रममा डा. रिजालले उक्त कुरा बताएका हुन् । नेपाली काँग्रेसको पश्चिम अस्ट्रेलिया जनसम्पर्क समितिको निमन्त्रणामा अस्ट्रेलिया भ्रमणमा रहेका डा. रिजाल प्रवासी नेपालीहरुसँग छलफल र अन्तरक्रियामा व्यस्त रहेका छन् ।

पश्चिम अस्ट्रेलियाको पर्थमा काँग्रेससम्बद्ध संघ-संगठनका प्रतिनिधिहरुसँग भएको अन्तरक्रियामा डा. रिजालले आगामी एनआरएनए (नन रेसिडेन्टल नेपाली अस्ट्रेलिया) निर्वाचनबारे चासो समेत व्यक्त गरे । भेटघाटका क्रममा उनले निर्वाचनमा सबैलाई समेटेर सहमतिमा अघि बढ्न सुझाव दिएको पर्थमा रहँदै आएका नेपाली काँग्रेसका नेता राजीव नरसिंह केसीले जानकारी दिए ।
पश्चिम अस्ट्रेलिया जनसम्पर्क समितिका अध्यक्ष निल थपलियाले डा. रिजालको अस्ट्रेलिया भ्रमण एनआरएनएको आगामी चुनावका सन्दर्भमा काँग्रेसमा आस्था राख्नेहरुका लागि ठूलो अवसर रहेको बताए । डा. रिजालसँगको अन्तरक्रियाले काँग्रेसमा आस्था राख्ने प्रवासी नेपालीहरुमा उर्जा प्राप्त भएको प्रवाह भएको अध्यक्ष थपलियाले बताए ।

डा. रिजालले भिक्टोरियाको मेलवर्नमा प्रवासी नेपाली काँग्रेसजनहरुसँग पनि अन्तरक्रिया गरेका छन् । अन्तरक्रियाले अस्ट्रेलिया जनसम्पर्क समितिमा रहेको विवाद साम्य पार्न महत्वपूर्ण भूमिका खेलेको काँग्रेस नेता केसीले जानकारी दिए । महाधिवेशन प्रतिनीधि नेत्र पौडेलले नेपालबाट काँग्रेसका केन्द्रिय नेताहरु यसरी बेला बेलामा आएर भेटघाट र सल्लाह सुझाव दिइराखेमा संगठन सुदृढ हुँदै जाने बताए ।

अस्ट्रेलिया जनसम्पर्क समितिका अध्यक्षद्वय सन्तोष सिटौला र कृष्ण गिरि दुवैको उपस्थितिमा भएको अन्तरक्रियाका सहभागिहरुलाई एक ढिक्का भएर अघि बढ्न डा. रिजालले सुझाव दिएका थिए । आफूलाई आधिकारिक अध्यक्ष दाबी गर्दै आएका सिटौला र गिरि दुवैले चाँडै नै आपसमा सहमति कायम गरी जनसम्पर्क समितिलाई एकताबद्ध बनाउने प्रतिबद्धता जनाएको जीपी फाउण्डेसन मेलवर्नका अध्यक्ष रमेश छतकुलीले बताए ।