बाँकेको नरैनापुरमा बाघले मान्छे खायो, स्थानीय त्रसित


बाँकेको नरैनापुरमा बाघले मान्छे खायो, स्थानीय त्रसित

बाघले आधा खाएको अवस्थामा भेटिएको गडरियाको शव । तस्विर : सेतोखरी

नेपालगन्ज २८ कार्तिक : बाँकेको पूर्वी क्षेत्र नरैनापुरमा बाघले मान्छे र गाई खाएकोछ । गाई चराउन जङ्गल गएका नरैनापुर गाउँपालिका वडा नम्बर ४ पण्डितपुरुवाका लखन गडरिया र उनको एउटा गाईलाई बाघले खाएको हो ।

ईलाका प्रहरी कार्यालय भोजभगवानपुरका ईन्चार्ज प्रहरी निरीक्षक वसन्त गौतमका नरैनापुरको पर्यटकस्थल गोर्बद्धन धामदेखि ५ किलोमिटर पूर्वपट्टी जंगलमा गडरियाको शव फेला परेको हो । उनको शव नजिकै बाघले आधा खाएको अवस्थामा गाई भेटिएको उनले बताए ।

सेतोखरीसंग कुरा गर्दै भोजभगवानपुरका ईन्चार्ज प्रहरी निरीक्षक वसन्तले भने–‘गडरिया यही कार्तिक २५ गते गाई चराउन जङ्गल गएका थिए । त्यो दिन उनी घर फर्किएनन् । भोलीपल्ट घर नफर्किको घरपरिवार र स्थानीयले थाहा पाए । उनीहरुले सम्भावित सबै ठाउँ खोजे तर भेटाएनन् ।’

‘जङ्गल गाइ चराउन गएका गडरिया गाईसहित हराएपछि हिजो २७ गते ईलाकामा निवेदन आएपछि स्थानीय र प्रहरीसहित गडरियाको खोजतलासका लागि जङ्गल लाग्यौं ।’ घटना विवरण सुनाउदै प्रहरी निरीक्षक गौतमले भने –‘हिजो राती (२७ गते) राष्ट्रिय जङ्गलमा गडरिया र एउटा गाई मृत अवस्थामा भेटियो । स्थानीयले घटना स्थल वरपर बाघ कराएको सुनेको र केहीले बाघ समेत देखेको बताएकाछन् ।’

Kids Festival 2022
kanti aarogya hospital

प्रहरी निरीक्षक गौतमका अनुसार बाघले गडरियाको पिठ्युँको भाग खाएको छ । घाँटी र शरीरका अन्यभाग नंग्राले कोतरेको छ । नजिकै बाघले एउटा गाई समेत मारेकोछ । यो गाई गडरियाकै हुनसक्छ ।

प्रहरीले गडरियाको शवलाई पोष्टमार्टमका लागि नेपालगन्ज पठाएको बताए । राष्ट्रिय जङ्गलमा समेत बाघ देखिएपछि स्थानीय त्रसित भएका छन् । बाँकेको पूर्वी गाभरमा केही महिना अघि २ वटा बाघले एकजना भारतीय नागरिकलाई खाएको थियो । उक्त घटनापछि सो क्षेत्रमा पटक–पटक बाघ देखिएपछि बाँके राष्ट्रिय निकुञ्जले मान्छे खाने बाघ नियन्त्रण गर्न दुई वटा घरपालुवा हात्तिसहितको टोली परिचालन गरेकोछ ।

नरैनापुर क्षेत्रमा बाघ आक्रमणबाट मान्छे मृत्यु भएको यो सम्भवत पहिलो घटना हो । नरैनापुरमा बाघले मान्छे खाएको क्षेत्र आसपास पर्यटकस्थल गोर्बद्धन धाम, बरफानी बाबा समेत रहकोछ ।