काँग्रेस निर्वाच : बाँकेका ८ वटै पालिकामा एकैपटक निर्वाचन हुने


काँग्रेस निर्वाच : बाँकेका ८ वटै पालिकामा एकैपटक निर्वाचन हुने

नेपालगन्ज ३० कार्तिक : नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेका ८ वटा स्थानीय तह (गाउँपालिका र नगरपालिका) मा बुधबार(भोली)बाट निर्वाचन कार्यक्रम सुरु गरिदैछ । बुधबार बिहान १० बजेबाट ८ वटै पालिकामा एकसाथ निर्वाचन कार्यक्रम सुरु गरिने जिल्ला निर्वाचन अधिकृत एवम् वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराईले जानकारी दिए ।

उनका अनुसार बिहान १० बजे सम्बन्धित गाउँपालिका र नगरपालिकामा प्रथम मतदाता नामावली प्रकाशन गरिनेछ । यस्तै बुधबार नै अन्तिम मतदाता नामावली प्रकाशन, उम्मेदवारी मनोनयन, उम्मेदवारको नामावली प्रकाशन, उम्मेदवारीमाथी विरोध संशोधन, उम्मेदवारको दावी विरोधपछिको संशोधित नामावली प्रकाशन, उम्मेदवारी फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

निर्वाचन कार्यक्रम अन्तर्गत मंसिर २ गते (बिहीबार)बिहान ९ बजेदेखी दिउँसो ४ बजेसम्म मतदान र मतदान पश्चात गणना तथा मत परिणाम घोषणा गरिने निर्वाचन अधिकृत भट्टराईले जानकारी दिए ।

जिल्ला सहायक निर्वाचन अधिकृत एवम् अधिवक्ता चित्रबहादुर शाहीका अनुसार नेपालगन्ज उपमहानगरपालिकामा प्राध्यापक सुवास गौतम, कोहलपुर नगरपालिकामा अधिवक्ता प्रभाकर भट्टराई, राप्तीसोनारीमा अधिवक्ता प्रेमप्रसाद शर्मा, खजुरा गाउँपालिकामा शिक्षक महारुप जैशी, बैजनाथ गाउँपालिकामा अधिवक्ता गणेशप्रसाद थारु, डुडुवामा अधिवक्ता हरिप्रसाद सुवेदी, नरैनापुर गाउँपालिकामा अधिवक्ता गोपाल गिरी र जानकी गाउँपालिकामा अधिवक्ता पवन गुप्तालाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

मतदान अधिकृतसहित डिएलए, नेपाल शिक्षक संघ, नेपाल प्रेस युनियन र प्रजातान्त्रिक प्राध्यापक संघका सदस्यलाई खटाइएको निर्वाचन परिचालन समितिका सदस्य एवम् नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष बीरेन्द्र यादवले बताए । गाउँपालिका र नगरपालिकाको निर्वाचनमा खटिने मतदान अधिकृतलाई मंगलबार(आज)नै अभिमुखिकरण गरिएको उनले जानकारी दिए ।

निर्वाचन कार्यक्रम अन्तर्गत नेपालगन्ज उपमहानगरपालिकाको नेपाली काँग्रेस पार्टी कार्यालयमा मनोनयन र जिल्ला समन्वय समितिको हलमा मतदान, कोहलपुर नगरपालिकाको भेरी सित भण्डार, राप्ती सोनारीको सेल्टर भवन(साईपुर), बैजनाथ गाउँपालिकाको सम्झना चोक सामुदायिक भवन, खजुरा गाउँपालिकाको कपास विकास समितिको हल, डुडुवा गाउँपालिकाको बेतहनीस्थित सिधुराभारी सामुदायिक बहुउद्देश्यीय हल, जानकी गाउँपालिकाको मानपुरस्थित सभाहल र नरैनापुरको कालाफाँटास्थित सामुदायिक भवनमा हुने निर्वाचन परिचालन समितिका सदस्य(प्रवक्ता) एवम् नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले जानकारी दिए ।