इजलासमा फर्किएर मुद्दा हेर्न थाले सर्वोच्चका सबै न्यायाधीश


इजलासमा फर्किएर मुद्दा हेर्न थाले सर्वोच्चका सबै न्यायाधीश

नेपालगन्ज ३ मंसिर : प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत सर्वोच्च अदालतका सबै न्यायाधीश इजलासमा फर्किएका छन् ।

प्रधानन्यायाधीशविरुद्ध आन्दोलन थालेर कार्तिक ८ गतेदेखि इजलास बहिष्कार गरेका सबै न्यायाधीशले शुक्रबारदेखि मुद्दा हेर्न थालेका हुन् । यसअघि कार्तिक ३० मा ५ जना न्यायाधीश इजलास फर्किएर मुद्दा हेर्न थालेका थिए ।

बिहीबार बसेको १८ न्यायाधीशको फुलकोर्ट बैठकले यसअघि न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको प्रतिवेदन अनुसार गोलाप्रथा प्रणालीलाई लागु गराउने निर्णय लिएको थियो ।

यससँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अधिकार कटौतीमा पर्नेछन् । शुक्रबारदेखि इजलास फर्किएका सबै न्यायाधीशले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा पनि हेर्न थालेका छन् । तर, गोलाप्रथा प्रणालीद्वारा पेशी तोक्नुअघि उनीहरुले दुई पक्षीय बहसका मुद्दामा सुनुवाइ गर्ने छैनन् ।

Kanti Aarogya Hospital Nepalgunj

न्यायाधीशहरुको माग अनुसार शुक्रबारका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले निवेदन, तामेली र बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्रै पेसीमा राखेपछि न्यायाधीशहरु इजलासमा बस्न राजी भएका हुन् । शुक्रबारका लागि प्रधानन्यायाधीश जबराले २२२ वटा रिट निवेदन पेसीमा राखेका छन् ।

जसका लागि ९ वटा संयुक्त इजलास र एउटा एकल इजलासमा पेसी तोकिएको छ । शुक्रबारका लागि न्यायाधीशद्वय दीपककुमार कार्की र प्रकाश मान सिंह राउत, मीरा खड्क र सुष्मालता माथेमा, हरिकृष्ण कार्की र हरिप्रसाद फुयाल, विश्वम्भरप्रसाद श्रेष्ठ र टंकबहादुर मोक्तान, आनन्दमोहन भट्टराई र कुमार रेग्मी, अनिलकुमार सिन्हा र सपना प्रधान मल्ल तथा तेज बहादुर केसी र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलास गठन गरिएको छ ।

न्यायाधीश नहकुल सुवेदीका लागि भने एकल इजलास तोकिएको छ । यी सबै पेसीमा तामेलीका लागि दिइएको निवेदन, बन्दी प्रत्यक्षीकरण वा थुनुवासम्बन्धी मुद्दा रहेका छन् । शुक्रबार प्रधानन्यायाधीश जबराले आफूलाई भने इजलासमा राखेका छैनन् ।

सर्वोच्चका न्यायाधीशहरु आन्दोलन छाडेर काम फर्किए पनि नेपाल बार एसोसिएसनले भने जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने बताएको छ ।