आज काँग्रेस उपसभातिको मतगणना हुने


आज काँग्रेस उपसभातिको मतगणना हुने

नेपालगन्ज २९ मंसिर : नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत सोमबार भएको मतदानको मतगणना आज (बुधबार) साँझदेखि शुरु गर्ने तयारी गरिएको छ । सभापतिततर्फको मतगणनाको नतिजा आएसँगै पदाधिकारीतर्फको मतगणना सुरु गर्न लागिएको हो ।

राजधानीको प्रदर्शनीमार्गमा सोमबार भएको मतदानको मतपेटिका पार्टी कार्यालय सानेपामा लगेर राखिएको छ, भने सो मतपेटिका आज बेलुकादेखि खोलेर गणना गर्न सुरु गरिने काँग्रेस निर्वाचन समितिका सदस्य एगराज पोखरेलले जानकारी दिए ।

उनका अनुसार मतगणनाका लागि आज पार्टी कार्यालयमा बैठक बसेको र सबै प्रक्रिया शुरु गरेर साँझदेखि पदाधिकारीतर्फको गणना शुरु गरिनेछ । आज उपसभापतिको मात्र मतगणना शुरु गर्छौँ । त्यसपछि महामन्त्री र सहमहामन्त्रीको मतगणना हुनेछ ।

‘बैठक बसेर साँझदेखि पदाधिकारीको मतगणना गर्ने निर्णय गरेका छौँ’, उनले भने, ‘मतगणना दिउँसोदेखि नै गर्न सकिने अवस्था भएपनि गणकहरु धेरै दिनको अनिदो रहेकाले आरामरत हुनुहुन्छ । उहाँहरुलाई सम्पर्क गरेका छौँ, साँझ पार्टी कार्यालयमा आएर गणना शुरु गर्नुहुन्छ ।’

Kanti Aarogya Hospital Nepalgunj

सोमबार भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो । सो मत भृकुटीमण्डपबाट पार्टी कार्यालयमा लगेर राखिएको थियो । यसैबीच नेपाली काँग्रेसको सभापतिमा शेर बहादुर देउवा पुनः निर्वाचित भएकाछन् । उनले निकटतम प्रतिद्वन्द्वी शेखर कोइरालालाई हराएका हुन् ।

दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेको थियो र सभापतिमा निर्वाचित हुन बहुमत अर्थात २३११ मत चाहिन्थ्यो । देउवाले २७३३ मत पाए भने निकटतम प्रतिद्वन्द्वी कोइरालाले १८५५ मत पाएका छन् । ३५ मत भने बदर भएको छ ।

यसअघि सोमबार भएको पहिलो चरणको मतदानमा सभापतिका पाँच उम्मेदवारमध्ये सबभन्दा धेरै मत देउवाले ल्याएका थिए । तर, बहुमत पुगेन । कुल ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये ४ हजार ६७९ जनाले पहिलो चरणमा मतदान गरेका थिए । सभापतिमा चुनिन २३४० मत चाहिन्थ्यो ।

देउवाले २२५८ पाएका थिए भने शेखरले १७०२ । प्रकाशमान सिंहले ३७१ मत पाउँदा विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत पाए । कुनै पनि उम्मेदवारले बहुमत नपाएपछि विधान अनुसार धेरै मत ल्याउने दुई जनाबीच दोस्रो चरणमा प्रतिस्पर्धा भयो । अन्तमा नेता सिंह र निधीले देउवालाई सघाएका थिए ।