काँग्रेस सहमहामन्त्रीमा देउवा पक्षका ६ जना विजयी


काँग्रेस सहमहामन्त्रीमा देउवा पक्षका ६ जना विजयी

नेपालगन्ज २ पुष : नेपाली काँग्रेसका ८ जना सहमहामन्त्री मध्ये ६ जना सभापति शेरबहादुर देउवा पक्षबाट विजयी भएका छन् ।

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गत सोमबार सम्पन्न निर्वाचनको मतगणना अनुसार सहमहामन्त्रीमा सभापति देउवापक्षको पल्ला भारी भएको हो । दुई जना सहमहामन्त्री भने सभापतिमा पराजित शेखर कोइराला पक्षकाले जितेका छन् ।

८ मध्ये महिला, आदिबासी, खसआर्य, मुस्लिम, मधेसी र थारु गरि ६ समूहमा देउवा पक्षले जित हात पार्दा पिछडिएको र दलित समूहमा शेखर प्यानलबाट सहमहामन्त्री विजयी भएका छन् ।

महिला र आदिवासी जनजाति समूहमा देउवा पक्षका महालक्ष्मी उपाध्याय (डिना) र भीष्मराज आङ्देम्बे विजयी भएका छन् । त्यस्तै खसआर्यमा किशोर सिंह राठौर विजयी भएका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

शुक्रबार सम्पन्न मतगणनामा राठौरले कोइराला प्यानलका देवराज चालिसेलाई पराजित गरेका हुन् । मुस्लिम तर्फबाट देउवापक्षका फरमुल्लाह मन्सुर विजयी भएका छन् । उनले कोइराला प्यानलका शेख वकीललाई पराजित गरेका थिए ।

त्यस्तै मधेसी समूहमा देउवा प्यानलका महेन्द्र यादव र थारु समूहमा उमाकान्त चौधरी विजयी भएका छन् । पिछडिएको समूहबाट बद्री पाण्डे र दलित समूहबाट जीवन परियार विजयी भएका छन् । उनीहरु शेखर कोइराला प्यानलका हुन् ।